बागलुङमा उत्पादन भएकाे छुर्पी अमेरिका निर्यात

बागलुङमा उत्पादन भएकाे छुर्पी अमेरिका निर्यात

सहकारीले गत आवमा रु सात करोड ८३ लाखको दूध, एक करोडको दही, २० लाखको घ्यू, ३२ लाखको पनिर र ८० हजारको खुवा बिक्री गरेको जनाएको छ ।
  • कार्तिक ५, २०८१ सोमवार
  • ०७:५३:०९ बजे
  • 1.7K
    SHARES
  • बागलुङमा उत्पादन भएकाे छुर्पी अमेरिका निर्यात

    गलकोट (बागलुङ) : बागलुङ । पछिल्लो समय बागलुङमा उत्पादित छुर्पीले राम्रो बजार पाएको छ । सहकारीमार्फत संकलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ । यहाँ उत्पादित छुर्पी काठमाडौं हुँदै अमेरिका निर्यात हुने गरेको छ । बागलुङ दुग्ध उत्पादक सहकारी संघमार्फत दूध संकलन, प्रशोधन र बजारीकरण हुने गरेको छ ।

    वार्षिक रु आठ करोडको दूध तथा दुग्धजन्य पदार्थको कारोबार गर्ने सहकारी संघले आर्थिक वर्ष २०८०/८१ मा मात्रै रु. ३८ लाख ५४ हजार चार सय १० को छुर्पी अमेरिका निर्यात गरेको हो । दुग्ध सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमकाअनुसार सहकारीबाट उत्पादित दूध, दही, घ्यू, पनिर मध्ये छुर्पीको माग अन्तर्राष्ट्रिय बजारमा उच्च छ ।  

    ‘दूध, तथा अन्य उत्पादनहरु बागलुङमै खपत भइरहेको हुन्छ, तर छुर्पीको बजार अन्तर्राष्ट्रियस्तरमा छ’, गौतमले भने । दुग्ध उत्पादक सहकारी संघमा एक हजार पाँच सय किसान आबद्ध छन् । संघले किसानबाट संकलित दूधसहित अन्य सात प्रकारका दुग्धजन्य परिकार उत्पादन गरी बिक्री तथा वितरण गर्दै आएको छ । संघले बागलुङ जिल्ला दूधमा आत्मनिर्भर बनाएको छ ।

    सहकारीले गत आवमा रु सात करोड ८३ लाखको दूध, एक करोडको दही, २० लाखको घ्यू, ३२ लाखको पनिर र ८० हजारको खुवा बिक्री गरेको जनाएको छ । हाल सहकारी संघले छुर्पी प्रतिकिलो रु एक हजार दुई सयमा बिक्री गर्दै आएको छ ।

    सहकारीमा आबद्ध किसानले सहकारीमा आवद्ध भएपछि दूधको मूल्यमा समानता र बजारको सुनिश्चिता भएकाले हौसला मिलेको बताएका छन् । सहकारी संघमा १६ कर्मचारीले संकलित दूध बागलुङ बजारका घरघरमै लगेर बिक्री गर्ने गरेको सहकारीका लेखापाल गणेश खड्काले बताए।

    कृषकले उत्पादन गर्ने, सहकारीले संकलन गर्ने र सहकारी संघले दूध प्रशोधन गरी दुग्धजन्य पदार्थ बिक्री गरेर सहकारीको असल अभ्यास गरेको राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा सहकारी अभियन्ता रामबहादुर जिसीको भनाइ छ ।

    दैनिक यहाँका काठेखोला गाउँपालिका र बागलुङ नगरपालिका किसानले उत्पादन गरेको दूध खरिद गरी १४ वटा सहकारीमार्फत संघले बजारीकरण गर्दै आएको छ ।रासस

  • सम्बन्धित विषय:

  • # छुर्पी अमेरिका निर्यात

  • राष्ट्रिय समाचार समिति (रासस)

    राष्ट्रिय समाचार समिति (रासस) नेपालको सरकारी समाचार संस्था हो ।

    सम्बन्धित समाचार