गलकोटका शर्माको लोभलाग्दो किबीखेती   

गलकोटका शर्माको लोभलाग्दो किबीखेती   

  • कार्तिक २५, २०८१ आइतवार
  • ०९:१८:५० बजे
  • 1.2K
    SHARES
  • गलकोटका शर्माको लोभलाग्दो किबीखेती   
    फाइल तस्बिर

    बलेवा (बागलुङ) : कोरोना महामारीका कारण गाउँघरमा हिँडडुल, आउजाउ ठप्प थियो । विद्यालय बन्द थिए । घरछेउको पुख्र्यौली बारी बाँझो भएको धेरै वर्ष भइसकेको थियो । वनमारा र कुकाठले भरिएको बारीले ‘गोपाल सर’लाई पाखुरा बजार्न प्रेरित गरिरहन्थ्यो । यही मेसोमा एक दिन उनले किबीखेती गर्ने निर्णय गरे।    
        
    गाउँमा ‘गोपाल सर’ का रूपमा परिचित गोविन्दप्रसाद शर्माले बाँझो बारी र खरबारीको झाडी फाँडेर किबी रोप्न थाले । गलकोटको खरुवा माध्यमिक विद्यालयका शिक्षक उनी नमुना किसान भएका छन् । विद्यालयबाट बचेको समयको सदुपयोग गर्दै गरेको किबीखेतीले उनलाई आर्थिक रूपमा पनि सबल बनाएको छ । उनले किबी लगाएको तेस्रो वर्षमै राम्रो प्रतिफल दिन थालेको हो । सरल कृषि फार्ममार्फत उनका उत्पादन बजारमा पाइन्छन् ।    
        
    वि.सं २०७८ मा बरास्थान किबी उत्पादन समूहमार्फत उनले किबी खेती सुरु गरेका थिए । किबीखेतीका लागि गलकोट नगरपालिकाले बिरुवा उपलब्ध गराएको थियो । दश रोपनी जग्गामा एक सय ५० बोट किबीखेती गर्नुभएका उहाँले बिरुवा सारेको तीन वर्षमा नै लगानी उठाएको बताए ।   

    उनको बारीमा फलेका किबी स्थानीय बजारदेखि देशका ठूला सहरमा बिक्री भइरहेको छन् । प्रतिकिलो रु तीन सयदेखि चार सय ५० सम्ममा बिक्री हुने गरेको छ । किबीखेतीबाट उत्साहित गोपाल सरले २० रोपनी पाखोबारीमा ओखरखेती पनि प्रारम्भ गर्नुभएको छ । रासस

  • सम्बन्धित विषय:

  • # किबीखेती

  • राष्ट्रिय समाचार समिति (रासस)

    राष्ट्रिय समाचार समिति (रासस) नेपालको सरकारी समाचार संस्था हो ।

    सम्बन्धित समाचार