लक्ष्मी मावि धम्जाद्वारा विभिन्न क्षेत्रमा ‘सफल’ पाँच पूर्व विद्यार्थी सम्मानित

लक्ष्मी मावि धम्जाद्वारा विभिन्न क्षेत्रमा ‘सफल’ पाँच पूर्व विद्यार्थी सम्मानित

  • माघ १०, २०८१ बिहिवार
  • १८:४१:०३ बजे
  • 3.3K
    SHARES
  • लक्ष्मी मावि धम्जाद्वारा विभिन्न क्षेत्रमा ‘सफल’ पाँच पूर्व विद्यार्थी सम्मानित

    बागलुङ : बागलुङको काठेखोला गाउँपालिका–३ धम्जास्थित लक्ष्मी माध्यमिक विद्यालयले विभिन्न क्षेत्रमा उदाहरणीय कार्य गरेका पूर्व विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालयको ४४ औं वार्षिकोत्सवको मूल समारोहका अवसरमा ५ पूर्व विद्यार्थीलाई सम्मान गरेको हो । गायन कलाकारिता क्षेत्रमा उदियमान विद्यालयका पूर्व विद्यार्थी प्रकाश सपुत, पत्रकारिता र साहित्य क्षेत्रबाट दिल शिरीष, निजामति कर्मचारी क्षेत्रबाट जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत खिमबहादुर विक, आध्यात्मिक क्षेत्रबाट प्रदीप भण्डारी (परमेश्वर अच्युतदास), बाद्यवादन सारंगी संसारका सञ्चालक कमलकुमार विकलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक गोविन्द भण्डारीले बताए । बिभिन्न विधामा सम्मानितपूर्व विद्यार्थीहरुलाई गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले सम्मानपत्र सहित दोसल्लाओढाएर सम्मान गरेका थिए । 

    कलाकार सपुत अहिलेका सर्वाधिक लोकप्रिय गायक त हुन् नै, यसका साथै चलचित्र क्षेत्रमापनि पछिल्लो समय अत्यधिक रुचाइएका छन् । ३ वर्ष यता काठमाडौंलाई कर्मथलो बनाएका शिरीष बागलुङमा स्वयंम्सेवी अभियानबाट १ करोड बढीको पत्रकार महासंघ भवन निर्माणका साथै साहित्य र पत्रकारितामा पृथक पहिचान बनाएका छन् । सुरुमा अहेबबाट राष्ट्रसेवा थालेका खिमबहादुर निजामति सेवामा अनुभवी र इमान्दार कर्मचारीको छवि बनाएका छन् । बागलुङ मार्फत देशव्यापी हरेकृष्ण अभियान चलाइरहेका अच्युतदास इस्कोन मार्फत युवा अवस्थामै आध्यात्मिक गुरुको रुपमा स्थापित भएका छन् भने सांरगी बजाउन मात्र होइन, बनाउन पनि उत्तिकै दखल राख्ने कमलकुमार डिजिटल दुनियाँमा सारंगी संसार मार्फत मौलिकलोक संगीतलाई फराकिलो दायरामा लैजान सफल छन् । 

    बिभिन्न कालखण्डमा विद्यालयमा अध्ययन गरेका विद्यार्थीले आ–आफ्नो क्षेत्रमा सफल र उदाहरणीय कार्य गरेर विद्यालय, गाउँ समाज र देशको इज्जत र गरिमा बढाएकाले सम्मान गरिएको प्रधानाध्यापक भण्डारीले बताए । ‘विद्यालयको लामो इतिहासमा सफल पूर्व विद्यार्थीहरुलाई सम्झेर थपप्रोत्साहित गर्ने प्रयास हो, अहिले केही बिधाबाट सुरुवात गरेका छौ,’ उनले भने, ‘यसलाई भोलिका दिनमा पनि निरन्तरता दिने सोच र योजना छ ।’

    सम्बन्धित समाचार