किरियापुत्रीलाई सहज

चन्दा उठाएर किरियापुत्री भवन

चन्दा उठाएर किरियापुत्री भवन

  • बैशाख ८, २०८२ सोमवार
  • ०९:२७:४२ बजे
  • 2.1K
    SHARES
  • चन्दा उठाएर किरियापुत्री भवन

    बागलुङ:  बागलुङ बजारमा बसोबास गर्ने अधिकांसको आफ्नै घर छैन । भाडा तिरेर बस्छन् । आफ्नै घर भएकाहरुको पनि घर बाहेकको जमिन छैन । सुखद उत्सवहरु त होटल रेष्टुेन्ट पार्टी प्यालेस जता मनाए पनि हुन्छ । दुःखद क्षण र काजकिरिया गर्नुपर्ने भयो भने चाँही गाउँ नै फर्किनुपर्ने बाध्यता आईलाग्छ । यही बाध्यताको हल गर्न बागलुङ नगरपालका-४ उपल्लाचौरका स्थानीयले सामुदायिक काजकिरिया भवन बनाउने जुक्ती निकाले ।

    सामुदायिक भवनबाट काजकिरिया गर्दा सबैका लागि सहज हुने भएपछि चन्दा संकलन गरेरे भवन बनाएका भवन निर्माण समितिका अध्यक्ष हरिबहादुर जिसी ‘सन्तोष’ बताउँछन् । ‘सुखको काम त जता गरे पनि हुन्छ, दुःखको काम उम्काउन साह्रै अप्ठ्यारो प¥यो,’उनी भन्छन्,‘उपल्लाचौरमा शहरीकरण बढ्दै गएपछि त्यो समस्या पनि झन् बढेर गएपछि सामुदायिक काजकिरिया भवन निर्माण गर्ने निधो गरेर काम अगाडि बढायौं ।’ मृत्युपश्चात् गरिने काजकिरियामा सहयोग पु¥याउने उद्देश्यले किरियापुत्री बसेर आवश्यक कर्म गर्नका लागि भवन निर्माण गरिएको हो ।

    ‘उपल्लाचौरमा घर भएका, भाडामा बस्ने र विपन्न गरिब नागरिकलाई काजकिरिया कर्म गर्न सहज होस् भन्ने उद्देश्यले सुविधा सम्पन्न काजकिरिया भवन निर्माण गरिएको हो,’ समिति अध्यक्ष जिसीले भने । कुल २३ लाख रुपैयाँमा निर्माण गरिएको भवनमा बास बस्न तीन वटा कोठा, तीन वटा शौचालय र तीन ठाउँमा पुजा गर्न तथा पिण्ड चढाउनका मिल्ने सत्तल निर्माण गरिएको छ । यो भवन निर्माणका लागि नागरिकस्तरबाट स्वतःस्फुर्त रुपमा चन्दा उठाईएको छ ।

    बागलुङ नगरपालिका—४ नम्बर वडा कार्यालय एक लाख ३६ हजार ७ सय रुपैयाँ बजेट दिएको थियो । बाँकी सबै रकम स्थानीयबाट उठाएर भवन निर्माण पूरा गरिएको निर्माण समितिकी कोषाध्यक्ष गोमा केसीले बताईन् । भवन निर्माणका लागि २८७ जनाले पाँच हजारका दरले सहयोग गरेका छन् । एक हजार दुई हजार सहयोग गर्ने पनि छन् । ‘हामीले कसैलाई पनि तोकेर रकम मागेनौं, स्वेच्छिक रुपमा जति दिनुभयो लियौं, ३५० जना भन्दा बढिले यसका लागि सहयोग गर्नुभएको छ,’उनले भनिन् ।

    स्थानीय सामुदायिक वनको जग्गामा भवन निर्माण गरिएको छ । वि.सं. २०७७ सालमा निर्माण सुरु गरिएको भवन कोरोना भाइरस महामारीको कारण रोकिएर अहिले निर्माण सम्पन्न भएको यस किरियापुत्री भवनको शनिबार बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले उद्घाटन गरे । आर्थिक सामाजिक हिसाबले कमजोर भएकै कारण कसैले पनि काजकिरिया गर्नबाट बञ्चित हुन नपरोस् भनि भवनको निर्माण गरिएको समितिका सचिव रामकाजी भण्डारी बताउँछन् ।

    ‘कुनै पनि नागरिक काजकिरिया गर्नबाट बन्चित नहोस् भन्ने मुख्य उद्देश्य रहेको छ, यहाँबाट हिन्दु धार्मिक परम्परा अनुसार सबैले काजकिरिया गर्न सक्छन्,’उनले भने । उपल्लाचौरमा शहरीकरण बढ्दै गएपछि वडारचौरमा रहेका सत्तलमा काजकिरिया गर्न नदिएपछि सामुदायिक भवन निर्माण गर्नुपर्ने बाध्यता आईलागेको स्थानीय बताउँछन् । उपल्लाचौरमा ग्राणिम क्षेत्र धम्जा, भिमापोखरा लगायतका क्षेत्रबाट आएर बसोबास गर्नेको संख्या धेरै छ ।

    गाउँको जग्गा जमिन विक्री गरेर आएकाहरुको त गाउँ जाने ठाउँ पनि नभएपछि यो भवन गतिलो विकल्प बन्ने विश्वास गरिएको छ । ‘यो भवनमा बागलुङ नगरपालिका–४ उपल्लाचौरका स्थानीय मात्र होइन अन्य ठाउँका नागरिकले पनि प्रयोग गर्न सक्नुहुन्छ । भवनको प्रयोग गरेबापत कुनै शुल्क तिर्नुपर्दैन । तर कसैले व्यवस्थापनको लागि सहयोग गरेमा स्वीकार्ने छौं,’ भण्डारीले भने । भण्डारीले सामुदायिक काजकिरिया भवन सञ्चालनको लागि पाँच लाख रुपैयाँको संचालन कोष बनाउन अभियान सुरुवात गरिएको बताए ।

    उनले कोषको रकमबाट आउने व्याजले भवनमा प्रयोगको लागि भाँडा र लत्ता कपडा खरिद तथा विद्युत र पानीको शुल्क तिर्न प्रयोग गरिने बताए । ‘विपन्न र गरिब नागरिकले आर्थिक अभावकै कारण काजकिरिया गर्न नसक्ने अवस्था आउँदा हामीले नै आवश्यक सहयोग गरेर त्यस्तो कार्य पूरा गराउन सकियोस् भन्ने बारेमा सोचिरहेका छौं,’उनले भने । भवनमा एक साथ १०/१२ जना किरियापुत्री बस्न सक्ने गरी निर्माण गरिएको छ । भवन उद्घाटन नहुँदै ७ जनाले सुविधा लिईसकेका छन् । 


    संगम घर्तीमगर

    उहाँ बागलुङ पोस्ट डटकमका कार्यकारी सम्पादक हुनुहुन्छ ।

    सम्बन्धित समाचार