अन्तर संवाद

नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवस : अग्रजसँग संवाद शृङ्खला ‘उबेलाको पत्रकारिता’

नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवस : अग्रजसँग संवाद शृङ्खला ‘उबेलाको पत्रकारिता’

  • जेठ १७, २०८२ शुक्रवार
  • १९:२४:०० बजे
  • 2.0K
    SHARES
  • नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवस : अग्रजसँग संवाद शृङ्खला ‘उबेलाको पत्रकारिता’

    बागलुङ : बागलुङका अग्रज पत्रकारले सत्यतथ्यमा आधारित रहेर निर्भिक पत्रकारिता गर्न नयाँ पुस्तालाई आग्रह गरेका छन् । नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको सन्दर्भ पारेर नेपाल प्रेस युनियन बागलुङले शुक्रबार बिहान बागलुङमा आयोजना गरेको अग्रजसंग संवाद शृङ्खला ‘उबेलाको पत्रकारिता’ विषयक कार्यक्रममा बोल्ने अग्रज पत्रकारहरुले समाजलाई सही मार्गमा हिँडाउनका लागि पत्रकारको मुख्य भूमिका हुने भएकाले तथ्यमा रहेर खोज अनुसन्धानमूलक पत्रकारिता गर्नुपर्नेमा जोड दिए ।

    उनीहरुले बागलुङमा पत्रकारिताको सुरुवात भएदेखिको अवस्था र आफुहरुको समयका पत्रकारिताका अनुभव सुनाएका थिए । अग्रज पत्रकार विश्वनाथ रेग्मीले विद्यामन्दिर माविका तत्कालिन प्रधानाध्यापक देवीलाल श्रेष्ठले आफुहरु विद्यामन्दिरमा माविमा ७ कक्षामा पढ्दा रेडियो बजाएर समाचार सुन्न लगाएको स्मरण गरे ।

    May be an image of 15 people and text

    ‘त्यो बेला मैले विद्यामन्दिरमा ७ कक्षामा पढ्दा देवीलाल श्रेष्ठ भन्ने हेडमास्टर हुनुहुन्थ्यो, सायद उहाँ गंगालालकै भाई हुनुहुन्छ जस्तो मलाई लाग्छ । त्यतिबेला उहाँले विद्यार्थीले समाचार सुन्नुपर्छ बुझ्नुपर्छ भनेर दिउँसो दुई बजे रेडियोमा समाचार लगाएर सुनाउनुहुन्थ्यो । हामीले त्यो बेलामा रेडियो नेपाल र गोरखापत्रको समाचारमा निर्भर हुन्थ्यौं । विमर्श लगायतका केही दैनिक पत्रिकाहरु आउँथे ।’

     २०४० सालमा राष्ट्रिय समाचार समितिमा बागलुङबाट समाचारदातामा नियुक्ती लिएपछि आफ्नो पत्रकारिता सुरु भएको उहाँ भनाई थियो । ‘त्यतिबेला हुन त म सरकारी जागिरे पनि थिएँ,’रेग्मीले भने,‘त्यतिबेला तीन प्रकारको समाचारको रुपमा वर्गीकरण थियो । क वर्गको समाचारको १५ रुपैयाँ, ख बर्गको १० र ग वर्गको समाचारको ५ रुपैयाँ पारिश्रमिक पाउँथ्यौं ।’

    May be an image of 2 people, dais and text

    त्यो बेलामा आफुलाई वर्ष दुई वर्षमा पारिश्रमिक बुझ्न काठमाडौं जाने गरेको उनले सुनाए । ‘पहिलो तलब कति बुझे भन्ने ठ्याक्कै याद छैन,’उनी भन्छन्,‘एक दुई वर्षमा तलब बुझेर आउँदा त्यसले एक दुई तोला सुन आउँथ्यो ।’

    त्यतिबेलाको समयमा गाउँ गाउँमा जाँदा हुलाक मार्फत समाचार पठाउने गरेको उनले स्मरण गरे । ‘गाउँतिर काम परेर जाँदा त्यहाँको समाचार लेखेर चिठी रजिष्टर गरेर हुलाकबाट समाचार लेखेर पठाउँथे,’उनले भने,‘अहिले जस्तो बार दिन उल्लेख गरेर समाचार लेख्ने चलन थिएन । त्यो बेलामा हालै भनेर लेखिन्थ्यो ।

    किनकी समाचार पुग्नकै लागि हप्ता दश दिन लाग्थ्यो । छापिएर आउँदा उत्तिकै समय लाग्थ्यो । हालै भनेपछि ताजा समाचार हुन्थ्यो ।’ रेग्मीले मुस्ताङ घुम्न आएको जापानी प्रोफेसरले जापान सरकारलाई अनुरोध गरेपछि यस क्षेत्रमा टेलिफोनको सञ्चालनमा आएको सुनाए । ‘त्यो बेलामा मुस्ताङ घुम्न आएको पर्यटकलाई लेक लागेर विसन्चो भएपछि उद्धारका लागि जापानी राजदुतावासलाई खबर गर्नुपर्ने जोमसोम पुग्न माथि टाढा भएछ, तल गलेश्वरमा प्रहरीको सञ्चार सेटबाट जापान एमबीसीलाई खबर गरेपछि पर्यटकको उद्धार भयो । त्यो बेला त्यहाँ आएका जापानी प्रोफेसरलाई यहाँ टेलिफोन चाहिन्छ भन्ने लागेपछि उनले जापान एमबीसी र त्यहाँका सरकारसंग कुरा गरेपछि पहिलो पटक जापानको सहयोगमा यस क्षेत्रमा टेलिफोन आएको थियो ।’ आफुले पत्रकारिता गर्दासम्म टेलिप्रिन्टर र टेलिफोनसम्म आएको उनले सुनाए ।
     
    ‘अहिले यो कार्यक्रम भैरहँदा यहीबाट समाचार दिन सकिने भएको छ, मैले काम गर्दासम्म टेलिफोन र टेलिप्रिन्टर आएको थियो । मैले रेडियो नेपालमा पनि टेलिफोनबाट समाचार पठाउँथे,’रेग्मीले भने ।

    कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय परामर्श समिति सदस्य एवं बागलुङका पूर्व अध्यक्ष जगन्नाथ आचार्यले २०५५/५६ सालमा आफुहरुले गलेश्वर मन्दिरमा भएको हिनामिनाको समाचार लेख्दा सत्ता र शक्तिको आडमा आठ महिनासम्म तारिक बोकेर दुई रुपैयाँ जरिवाना तिरेको अनुभव सुनाए । ‘गलेश्वर मन्दिरका अध्यक्ष त्यो बेलाका मन्त्रीको आडमा रजगज गरेर बसेका मान्छे थिएँ, हामीले म्याग्दीमा पत्रिकाको ग्राहक बनाउन जाँदा कुरा सुनेपछि खोज्दा गडबडी भएको भेट्यौं समाचार लेख्यौं । त्यस बापत हामीले तारिक थाम्ने र जरिवाना तिर्ने पनि गर्नुप¥यो,’ उनले भने । पत्रकारिता पेशा आफैमा कठिन र संघर्षपूर्ण रहेको उनले सुनाए ।

    May be an image of 1 person, dais and text

    ‘अहिले कता कता व्यवस्था विरोधी गतिविधिहरु पनि भैरहेका छन्, यो परिवर्तनका लागि धेरैले बलिदान गरेका छन्, पञ्चायतको पालामा हामीले पञ्चायती व्यवस्था अमर रहोस् भनेर नारा नलेखेको भरमा जेल जानुपर्ने अवस्थासम्म आउँथे,’उनी भन्छन्,‘प्रेस स्वतन्त्रता नागरिक अधिकारका लागि अहिलेका व्यवस्था आएको हो । अहिले लेख्न बोल्न स्वतन्त्रता छ । त्यो बेला थिएन ।’

     उनले प्रजातान्त्रिक आन्दोलन अगाडि बढेसंगै बागलुङमा पत्रकारिताको विकास भएको स्मरण गरे । ‘२००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि सही बाटो भन्ने धौलागिरिकै पहिलो पत्रिका निस्कीयो, २०४६ सालमा प्रजातन्त्रको पुनस्थापनापछि पत्रिकाहरु खुल्ने चलन बढे । त्यो बेलामा राजनीतिक आस्था र विचारका आधारमा पनि पत्रिकाहरु खुल्थे,’उनले भने,‘त्यो बेला पोखरामा पत्रिकाता छपाउनुपथ्र्यो । कुनै शब्द गलती भयो भने रातभरी बसेर कलमले सच्याएर बजार पठाउँथ्यौं ।’ प्रज्ञा प्रतिष्ठान नेपालका पूर्व प्राज्ञ सदस्य प्रेम छोटाले आफुले बागलुङमा पत्रकारिता नगरे पनि इतिहास आफुले संकलन गरेर राखेको बताए ।

     ‘म साहित्यको विद्यार्थी हुँ, अध्ययन अनुसन्धान मेरो रुचीको विषय भएकाले गर्दा पनि म आफु पत्रकार नभए पनि मैले यहाँका पत्रकारिताको इतिहास अभिलेख गरेको छु,’उनले भने,‘२००८ साल असोज १५ गते बागलुङमा धौलागिरिकै पहिलो हस्तलिखित पत्रिका सहीबाटो प्रकासित भएका थियो । त्यसपछि प्रकाशित भएका अन्य पत्रिकाहरु सबैको पहिलो अंकलाई जस्ताको त्यस्तै अभिलेख गरेको छु ।’ छोटाले संकलन गरेको धौलागिरिको ६ दशकीय पत्रकारिता विषयक संकलनका किताब प्रकाशित भएको छ । उनले पत्रकारिताले लुकेका र लुकाईएको कुराहरु उजागर गर्नुपर्नेमा जोड दिए ।

     ‘जहाँ गलत हुन्छ त्यहाँ पत्रकारिताले प्रहार गर्नुपर्छ,’उनले भने,‘यहाँहरुले पनि त्यसलाई ध्यान दिनुहोला । पत्रकारिताको विषयमा म भन्दा यहाँहरु नै जानकार हुनुहुन्छ ।’ नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्तीमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष सुवास आचार्य र सञ्चालन सचिव डम्मर बुढामगरले गरेका थिए । अग्रजसंगको संवाद शृङ्खलालाई निरन्तरता दिने अध्यक्ष मगरले बताए । 

    ‘हामीले यो सुरुवात गरेका छौं, कम्तीमा ६० को दशक अगाडि बागलुङमा पत्रकारिता गरेको सबैसंग हामीले यो कार्यक्रम गर्ने योजना बनाएका छौं । आगामी दिनमा पनि यसलाई निरन्तरता दिन्छौं,’उनले भने । अग्रजको अनुभवले पत्रकारितामा अगाडि बढ्नका लागि थप प्रेरणा मिल्ने विश्वासका साथ कार्यक्रमको आयोजना गरिएको उनले बताए । 

    सम्बन्धित समाचार