बागलुङ : जिल्लाको काठेखोला गाउँपालिकाले स्थानीय रुपमा उत्पादन गरिने मदिरा (रक्सी)लाई ब्रान्डिङ र लेवलिङ गर्ने नीति लिएको छ । शुक्रबार गाउँपालिकाको १७ औं गाउँसभामा आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम सावंजनिक गर्दै गाउँपालिका अध्यक्ष राजु थापाले कोदोको अर्गानिक लोकल रक्सीलाई ब्रान्डिङ र लेवलिङ गरी विक्री वितरण गर्न प्रक्रिया अगाडी बढाउने नीति सार्वजनिक गरे ।
गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा तरकारी खेतीमा नागरिकलाई आकर्षण वृद्धि गर्न तरकारी मिनिकिट अनुदान कार्यक्रम, चिया, अलैची, ओखर, टिमुर, आलु र सुन्तला खेतीको पकेट स्थापना गरी ब्लकको रुपमा विकास गर्दै कृषि पकेट पूर्वाधार कार्यक्रम संचालन, कृषकको उत्पादानलाई संकलन र बजारीकरणको लागि काठेखोला कृषि उपज सङ्कलन केन्द्रको भवन निर्माण र सञ्चालन गर्ने जनाएको छ ।
गाउँपालिकाले बाँदर व्यवस्थापन कार्यक्रम संचालन गर्ने भएको छ । अध्यक्ष थापाले सामुदायिक वन उपभोक्ता समुहहरुसँग सहकार्य गरी बाँझो तथा सामुदायिक वन जंगलहरुमा फलफूल तथा गिठा, तरुल, भ्याकुर र कन्दमुल जस्ता फलफूल तथा अनिजजन्य खाद्यान्नहरु लगाएर बाँदर व्यवस्थापन गर्ने नीति सार्वजनिक गरेका छन् ।
गाउँपालिका भित्र उत्पादन हुने नाङ्लो, डाली, मकैको भुट्लाबाट निर्माण हुने फूलजन्य सामाग्रीहरुको बजारीकरणमा साथ दिन ‘काठेखोला कोसेली घर’ संकलन गरिने भएको छ । गाउँपालिका भित्र रहेका खानीहरु उत्खनन् तथा अनुसन्धान गर्न संघ तथा प्रदेश सरकारसँग समन्वय तथा पहल गर्ने र गाउँपालिकलो रैथाने बाँकोको सिन्की, सिस्नुको पाउडर, अल्लोको कपडा, लालीगुराँसको जुस, अदुवाको मिठाई (क्यान्डी), जुस, अचारलाई व्यवसायिक गर्दै स्थानीय उत्पादनको ब्रान्डिङ, प्याकेजिङ र लेवलिङ गरी बजार व्यवस्थापन गर्ने भएको छ ।
यस्तै गाउँपालिका भित्र रहेको पर्यटकीय क्षेत्र घुम्ने गरी पर्यापर्यटन रुपको विकास गरी पूर्वाधार निर्माण गरिने र नीजि क्षेत्रसँग समन्वय गरि जडिबुटि उत्पादन र प्रशोधन केन्द्र संचालन गरिने अध्यक्ष थापाले नीति ल्याएका छन् । यस्तै आम नागरिकहरुमा शैक्षिक जागरणका नविनतम कार्यक्रम संचालन गर्न सवैको लागि शिक्षा संचालनमा जोड दिने, गाउँपालिका भित्र बन्ने नयाँ संरचनाहरुमा बाल तथा अपाङ्गमैी भौतिक संरचना निर्माणमा जोड दिने र विद्यालयहरुको खाजामा जंकफुट रहित बनाउन सबै विद्यालयहरुमा पढ्दै कमाउँदै कार्यक्रम संचालन गरिने भएको छ । त्यस्तै उपाध्यक्षसँग सघन र नियमित अनुगमन कार्यक्रम समेत राखिएको हो ।
गाउँपालिकाका सवै नागरिकको मृगौला, मुटु, उच्च रक्तचाप, मधुमेह जस्ता रोगको निःशुल्क जाँच र उपचारको प्रबन्ध मिलाइने । स्वास्थ्य तर्फ १२० विपन्न घर परिवारहरुलाई निःशुल्क बीमा लगायतका कार्यक्रम जोडिएको हो । गाउँपालिकाले प्रतिभा पहिचान कार्यक्रम र सृजनशिल शुक्रवार पनि बिद्यालयमा संचालन हुने, लोप हुन लागेका गतिसंगीतको संरक्षण, प्रवद्र्धन र उजागरमा जोड दिने योजना छ । यस्तै लक्षित समुदायहरुको सीप क्षमता विकास का लागि विगतदेखि संचालनमा आएको अध्यक्षसँग सीप विकास कार्यक्रमलाई निरन्तरता दिने, दलित समुदायहरुको शसक्तिकरण र आर्थिक आयआर्जन वृद्धि गर्न दलित शसक्तिकरण अभियान संचालन गरिने भएको छ ।
पूर्वाधार तर्फ गाउँपालिकाले हरेक वर्ष गाउँपालिका भवनदेखि वडा कार्यालयसम्म जोड्ने सडकलाई गौरवको योजनामा समावेश गर्दै स्तोरन्नती गर्ने योजना यस वर्ष वडा नम्बर ३ धम्जा र वडा नं. ७ रेशेको वडा कार्यालयसम्म जोड्ने सडक स्तरोन्नति गरिने भएको छ । यस्तै गाउँपालिका र वडा कार्यालयसँगको साझेदारीतामा वडा कार्यालयले संकलन गरेको राजश्व रकम बराबरको साझेदारीतामा प्रत्येक वडाको सडक ढलान, ग्रावेलिङ, ग्याविन लगायतका काममा जोड दिइने र सडक निर्माण गर्दा पर्यावरणीय दृष्टिकोणलाई मध्यनजर गरि वातावरणमैत्री सडक संरचना निर्माण गर्न पहल गरिने र यस वर्ष ५० प्रतिशत पूर्वाधार संरचनाको निर्माण कार्य गर्ने नीति अवलम्वन गरिने नीति लिइएको अध्यक्ष थापाले जानकारी दिए ।