बागलुङ : नेपाल विद्यार्थी संघ बागलुङ अध्यक्षमा सागर घर्ती मगर नियुक्त भएका छन् । नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले बुधबार घर्ती मगरलाई नियुक्त गरेका हुन् ।
नेपाल विद्यार्थी संघ बागलुङको अध्यक्ष पद रिक्त भएकोले र ३२ वर्ष उमेर हद पनि आकर्षित भएकालेसंघको विधान २०२७ को सातौं संशोधन २०७५ बमोजिम तीन महिना भित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरि घर्ती मगरलाई जिम्मा दिइएको हो । घर्ती यसभन्दा अगाडि विशेष पराजुली अध्यक्षमा मनोनित हुँदा उपाध्यक्ष भएका थिए ।

स्वतन्त्र विद्यार्थी युनियन धवलागिरी बहुमुखी क्याम्पसको निर्वाचनमा नेवि संघका उम्मेद्वार पराजित भएपछि जिल्ला अध्यक्ष पराजुलीले राजीनामा दिएका थिए । पराजुलीको राजीनामापछि जिल्ला अध्यक्ष पद रिक्त थियो ।
साउन २ गते बागलुङ नेवि संघका केही नेताहरुले जिल्ला भेला भनेर दिपक सुवेदीलाई अध्यक्ष बनाएका थिए । सुवेदी नेवि संघ धवलागिरी बहुमुखी क्याम्पसका निवर्तमान इकाई सभापति हुन् । सुवेदीको नेतृत्वलाई केन्द्रीय समितिले एक विज्ञपति जारी गरि आधिकारीक नभएको धारणा राखेको थियो ।
साउन ३ गते विज्ञप्ती जारी गर्दै केन्द्रीय समितिले जिल्ला अध्यक्ष श्री विशेष पराजुलीले २०८१ चैत ०७ गते पेश गरिएको राजीनामा संघको विधान, २०२७ (सातौँ संशोधन, २०७५) को धारा ४० को उपधारा ३ बमोजिम मिति २०८२ जेठ २ गते स्वीकृत भएको र त्यसपछि कुनै जिल्ला कार्यसमिति नगरहेको जानकारी गराएको थियो ।
विज्ञाप्तीमा भनिएको थियो – ‘जिल्ला अध्यक्ष श्री विशेष पराजुलीको राजीनामापछिहाल बागलुङ जिल्लामा नेपाल विद्यार्थी संघको कुनै वैधानिक जिल्ला कार्यसमिति क्रियाशील नरहेको कुरा स्पष्ट पार्न चाहन्छौँ, तर पछिल्लो समय केही व्यक्तिहरूले संघको आचारसंहिता, २०८० विपरीत तथा वैधानिक संरचनाविपरीत अवैधानिक रूपमा समिति गठन गरेको भन्ने जानकारी प्राप्त भएको हुँदा यस प्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ, बागलुङ जिल्लाको नयाँ नेतृत्व चयन सम्बन्धी निर्णय संघको १२ औं महाधिवेशन निर्देशन समिति तथा नेपाली काँग्रेस बागलुङ जिल्ला कार्यसमितिसँग आवश्यक समन्वय र सहकार्यमा यथाशीघ्र गरिने जानकारी गराउँदछौं ।’

नेपाल विद्यार्थी संघ हाल महाधिवेशन केन्द्रित भइसकेको भन्दै संघको वैधानिक निर्णय तथा संरचना विपरीत स्वघोषित रूपमा नेपाल विद्यार्थी संघको नाममा गठित कुनै पनि समूह वा व्यक्तिहरूद्वारा गरिने निर्णय, कार्य वा गतिविधिप्रति केन्द्रीय समिति जवाफदेही नहुने विज्ञप्तीमा उल्लेख छ ।