बागलुङ : चारतारे युवा क्लब, सिवाईसी नेपालले आफ्नो ३४औं वार्षिक साधारण सभा तथा वार्षिकोत्सव सम्पन्न भएकाे छ ।आइतबार संस्था स्थापना स्थल बागलुङ नगरपालिका–९ अदुवावारी, तित्याङमा पहिलो चरणको कार्यक्रम भव्य रुपमा सम्पन्न भएकाे हाे । २०४९ साल असोज २६ गते स्थापना भएको संस्थाले विगतका उपलब्धी र आगामी योजनाको समीक्षा गर्दै साधारण सभा सम्पन्न गरेको हो ।
सल्लाहकार तथा जैमिनी नगरपालिकाका पूर्व नगरप्रमुख इन्द्रराज पौडेलले कार्यक्रम उद्घाटनमा बोल्दै तित्याङको सानो भूगोलबाट सुरु भएको सिवाईसी नेपालले ३४ वर्षको यात्रामा हाँसिल गरेका उपलब्धीहरू उल्लेखनीय र प्रेरणादायी रहेको बताए ।
उनले संस्थाले सामाजिक, आर्थिक र सामुदायिक विकासमा पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरे ।
साधारण सभा तथा वार्षिकोत्सव कार्यक्रममा संस्थाका सचिव विरबहादुर किसानले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
संस्थाका कोषाध्यक्ष विमला गुरुङले आर्थिक वर्ष २०८१/०८२ को आर्थिक प्रतिवेदन र आर्थिक वर्ष २०८२/०८३ को प्रस्तावित आय–व्यय विवरण प्रस्तुत गरेकी थिइन् । दुवै प्रतिवेदनमाथि सभामा विस्तृत छलफल भई सर्वसम्मतिले पारित गरिएको थियो ।
कार्यक्रमका अवसरमा संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सिवाईसी नेपालको स्थापनाकालीन इतिहास स्मरण गर्दै साविक तित्याङ गाविसबाट सुरु भएको संस्थाले आज देश–विदेशमा आफ्नो सशक्त पहिचान बनाउन सफल भएको बताउए । उनले संस्था यहाँसम्म आउनुमा संस्थापक सदस्यहरू, आजीवन सदस्य, विशिष्ट सदस्य, शुभेच्छुक र सहकर्मीको निरन्तर समर्पण र विश्वास मुख्य आधार भएको बताए ।
अध्यक्ष पौडेलले सिवाईसी नेपाल केवल एउटा संस्था मात्र नभई सामाजिक परिवर्तन र आत्मनिर्भरता अभियानको एउटा उदाहरण भएको बताउदै सिवाईसीको सञ्जालमा अहिले ७०० भन्दा बढी युवाहरुले रोजगारी प्राप्त गरेको र विविध सामाजिक सेवाका अनगिन्ती कार्यक्रमहरू अनवरत रूपमा सञ्चालन भइरहेको बताए ।
कार्यक्रममा सिवाईसी साकोसका सल्लाहाकार सीता शर्मा, संस्थापकहरुको तर्फबाट बद्रीप्रसाद पौडेल, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत डोलिन्द्रप्रसाद शर्मा, संस्थाका पूर्व सचिव कुमार प्रसाद उपाध्याय, सदस्यहरुको तर्फबाट चन्द्रबहादुर के.सी. लगायतले बाेलेका थिए।
साे अवसरमा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. ले संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तित्याङ स्वास्थ्य चौकीलाई रु. ५१ हजार र तित्याङ मा.वि.लाई रु. २१ हजार आर्थिक सहयोग उपलब्ध गराएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष पौडेलको अध्यक्षता, उपाध्यक्ष लक्ष्मण खड्काको स्वागत र सचिव विरवहादुर किसानको सञ्चालनमा सम्पन्न भएको थियो ।