बागलुङ : बजारका औषधी पसलहरुमा छ्याप्छ्प्ती गर्भपतन गराउने औषधीहरु पाइन्छन् । सरकारले सुचीकृत गरेका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीले मात्रै यो औषधी बेच्न पाउँछन् । तर धेरै निजी अस्पतालहरुले जथाभावी रुपमा यस्ता औषधीहरु बेच्ने गरेको पाइन्छ । पछिल्लो समय असुरक्षित यौन सम्बन्ध र अनिच्छित गर्भको कारण गर्भपतन गराउने क्रम बढ्दो छ । अहिले अवैध सम्बन्ध र अनिच्छा गर्भ रहँदा धेरैले गर्भपतन गराउन आउने गरेका छन् ।
बागलुङमा सुचीकृत स्वास्थ्य संस्थामा कानुनी रुपमा गर्भपतन गर्नेको संख्या ठूलो छ । धेरैले लाज र डरका करण सामान्य क्लिनिकबाट पनि औषधि निकेर खाई गर्भपतन गराउने गरेका छन् । त्यसबाहेक असुरक्षित रुपमा पनि महिलाले गर्भपति गराउने गरेको पाइन्छ । कानुनत २० वर्ष अगाडि विवाह गर्न पाइँदैन । तर गर्भपतन गराउनेमा किशोरी र सम्बन्ध बिच्छेद गरेका महिलाहरु समेत रहेका छन् ।
बागलुङका १० स्थानीय तहका २६ वटा स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन गराउने सुविधा छ । बागलुङ नगरपालिकामा ३ वटा, गलकोट नगरपालिकामा चार वटा, जैमिनी नगरपालिकामादुई वटा, ढोरपाटन नगरपालिकामा तीन वटा, काठेखोला गाउँपालिकामा ७ वटा, निसीखोला गाउँपालिकामा दुई वटा, तमानखोला गाउँपालिकामा एक वटा, ताराखोला गाउँपालिकामा दुई वटा, बडिगाडा गाउँपालिकामा एक वटा र बरेङ गाउँपालिकामा एउटा स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतनको सुविधा छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षमा मात्रै एक हजार ६४ जना महिलाले गर्भपतन गराएका छन् । जसमा २७ जना २० वर्ष मुनिका छन् । कानुनले २० वर्ष मुनी विवाह गर्न वर्जित गरेको छ । यस तथ्याङ्ले अविवाहित किशोरीले पनि गर्भपतन गराएको देखाउँछ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी देवप्रकाश घिमिरेले चालु आर्थिक वर्षको तीन महिनामा १७२ जनाले गर्भपतन गराएको जानकारी दिए । जसमा २० वर्ष मुनीका छ जनाले गर्भपतन गराएको उनको भनाइ छ ।
घिमिरेका अनुसार २०८०/०८१ मा एक हजार १५२ जनाले गर्भपतन गराएका थिए । यो स्वास्थ्य संस्थामा आएर निकानुनी रुपमा गरेको गर्भपतन भएको भन्दै अवैधानिक रुपमा गर्नेहरु पनि धेरै रहेको उहाँको भनाइ छ । कतिपयले स्वास्थ्यनै जोखिममा पर्ने गरि गर्भपतन गराउने गरेको घिमिरे बताए ।
सरकारी स्वास्थ्य संस्था नआई स्वास्थ्यलाई जोखिममा राखेर महिलाहरु अनुमति प्राप्त नगरेर क्लिनिकहरुमा गर्भपतन गराउने गरेको पाइएको छ । बुर्तिबाङ अस्पतालकी नर्सिङ अधिकृत निरीक्षक पार्वती अर्यालले गर्भपतन गराउन दोहोरिएर आउनेको संख्या बढी रहेको बताइन् ।
महिला पुरुष दुवैले यौन सम्पर्कका बेला स्थायी तथा अस्थायी साधानहरु प्रयोग नगर्दा पछिल्लो समय गर्भपतन गराउने महिलाहरु बढेको उनको भनाइ छ । अस्पतालमा सम्बन्ध बिग्रेर बसेका, श्रीमान विदेश भएका महिला र अविवाहित किशोरी पनि गर्भपतनका लागि अस्पतालमा आउने गरेको अर्यालले बताइन्।
“उमेर पुगेका महिलादेखि अविवाहित किशोरी र श्रीमान विदेशमा रहेका महिला पनि गर्भपतन गराउन आउनुहुन्छ, अशिक्षा र यौन सम्पर्कका बेला सवधानी नअपनाउँदा गर्भपतन गराउनु पर्ने बाध्यतामा महिलाहरु हुन्छन्” उनले भनिन् – “सुरक्षित रुपमा गर्भपतन गराउनेको संख्यामा अहिले केही कमी आएको छ, तर बाहिर असुरक्षित रुपमा गर्भपतन गराउनेहरु पनि हुन्छन्, लाज र डरले गर्दा उनीहरु अस्पताल आउँदैनन्, औषधी खाएर गर्भ फाल्छन् ।”
पछिल्लो समय परपुरुषसँग अवैध सम्बन्ध राखेर गर्भपतन गराउने महिलाको संख्या पनि उत्तिकै बढी रहेको स्वास्थ्यकर्मी बताउँछन् । अविवाहित तथा परपुरुषसँग सम्बन्ध राखेका महिलाहरु निजी क्लिनिकहरुमा जाने गरेको पाइन्छ ।
पटक पटक गर्भपतन गर्दा यस्ता समस्या आउन सक्छन्
बजारमा केही स्वास्थ्य संस्थाहरुले अनुमति नलिई असुरक्षित गर्भपत गराउने र औषधी प्रयोग गर्ने गरेको पाइन्छ । यसले महिलाको स्वास्थ्यमा ठूलो असर गर्ने धौलागिरी प्रादेशिक अस्पताल बागलुङका प्रमुख किरण तिवारीले बताए । कतिपय महिलाले पटक–पटक गर्भपतन गराउने भन्दै यसले स्वास्थ्यमा गम्भीर असर पु¥याउने उनको भनाइ छ ।
जथाभावी गर्भपतन गराउँदा आमालाई अधिक रक्क्तश्राव भएर ज्यानसमेत जान सक्ने डा.तिवारीले बताए । पटक पटक गर्भपतन हुँदा महिलाको शरीरमा रगतको कमी हुने र विभिन्न संक्रमण हुन सक्ने भन्दै पछि चाहँदा चाहँदै पनि गर्भ नरहे समस्या आउने उनी बताउँछन् । गर्भपतन गराउनुभन्दा यौन सम्पर्क गर्दा परिवार नियोजनका अस्थायी तथा स्थायी साधानको प्रयोग गर्नु उत्तम विकल्प रहेको तिवारीले बताए ।
“गर्भपतन महिलाको स्वास्थ्यसँग जोडिएको हुन्छ, यो आपतकालिन अवस्थामा मात्रै गर्नु पर्छ, गर्भपतन नर्गनका लागि शारीरिक सम्पर्कका बेला स्थायी तथा अस्थायी साधानहरु प्रयोग गर्नुनै राम्रो हुन्छ, यत्ति सजकता अपनाइयो भने समस्या हुँदैन” डा. तिवारीले भने – “धेरै पटक गर्भपतन गर्दा रगत बढी बगेर ज्यान जाने संभवना हुन्छ भने गर्भ पाठेघरभन्दा बाहिर बस्ने र ठूलै अप्रेशन गर्नु पर्ने अवस्था आउन सक्छ ।”
उहाँले पछिल्लो समय बजारमा जथाभावी रुपमा गर्भपतन गराउने विभिन्न औषधि पाइने र महिलाले मन लाग्दी किने खाने गरेको बताए । आफू खसी गर्भपतनको औषधि खान नहुने भन्दै गर्भपतन गराउनै परे स्वास्थ्यकर्मीको सुझाव लिएर मात्रै गर्नु पर्ने डा. तिवारी बताउँछन् ।