बागलुङ : कालीगण्डकी नदी दोहन रोक्न सरोकारवाला निकायहरुले अनुगमन गरेका छन् । बागलुङ नगरपालिका–१३ को कालाखोला आसापास र मालढुङ्गा क्षेत्रमा भएको दोहनको सरोकारवालाले संयुक्त अनुगमन गरेका हुन् ।
अनुगमनको क्रममा कालाखोला क्षेत्रमा सबैभन्दा बढी नदी दोहन भएको भेटिएको जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले बताए । कालाखोला क्षेत्रमा झण्डै तीन सय मिटर लामो, एक सय मिटर चौडा र सात मिटरसम्मको गहिराइमा एस्काभेटर लगाएर नदी दोहन गरिएको उनको भनाइ छ ।
‘‘बालुवा झिक्ने नाममा ढुङ्गा समेत निकालिएको पाइयो’’ थापाले भने । कालाखोला क्षेत्रको वातावरणमा समेत नकारात्मक असर पर्ने गरी जथाभावी दोहन गरिएको थापाको भनाइ छ ।
वातावरणीय प्रभाव मूल्याङ्कन (आइइइ) प्रतिवेदनमा बढीमा १.२० मिटर मात्र बालुवा उत्खनन् गर्न पाउने प्रावधान छ । तर जथाभावी उत्खनन् मात्र नभइ पानीको बहाव नै हटाएर बालुवा र ढुङ्गा निकाल्ने, नदीलाई कुरुप बनाउने काम समेत भएको हो । नदी दोहन गरेपछि पानी लगाएर खाल्डा पुरेझै गरिएको थापाले बताए ।
आइतबार जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाको नेतृत्वमा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, प्रहरी, सशष्त्र, प्राविधिकसहित विभिन्न निकायले संयुक्त रुपमा अनुगमन गरेका थिए ।
अनुगमनलाई प्राविधिक रुपमा अध्ययन गरेर विस्तृत विवरण बाहिर ल्याउने र दोहन गर्नेलाई कारवाही गर्ने, जथाभावी निकालिएको सामग्री घातगादी गरेर नगरपालिकाको आम्दानी बाँध्ने काम गरिने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार, प्राविधिकको यथार्थ प्रतिवेदन तयार गरिने, आइइई प्रतिवेदनभन्दा बढी के कति दोहन भएको हो पत्ता लगाउने काम समेत गरिने छ । कालाखोला क्षेत्रमा प्रतिक निर्माण सेवा र मालढुङ्गा क्षेत्रमा विधि निर्माण सेवाले नदी दोहन गरिरहेको भेटिएको हो ।