राजनीति

सङ्क्रामक रोग नियन्त्रण गर्न पाँच करोडको कोष स्थापना

सङ्क्रामक रोग नियन्त्रण गर्न पाँच करोडको कोष स्थापना

  • बैशाख १०, २०८३ बिहिवार
  • १९:०४:०४ बजे
  • 1.5K
    SHARES
  • सङ्क्रामक रोग नियन्त्रण गर्न पाँच करोडको कोष स्थापना

    बागलुङ : बेलाबेलामा देखा पर्ने सङ्क्रामक रोगहरूको उपचार र नियन्त्रणलाई प्रभावकारी बनाउन गण्डकी प्रदेश सरकारले विशेष कोष स्थापना गरेको छ । गत महिना बागलुङमा फैलिएको दादुराले महामारीको रूप लिँदा उपचार र नियन्त्रणका लागि स्रोत अभाव भएपछि सरकारले छुट्टै कोष बनाउने निर्णय लिएको हो ।

    बुधबार बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री जितप्रसाद शेरचनले अब सङ्क्रामक रोगहरू फैलिएमा कार्यसम्पादन सहज हुने विश्वास व्यक्त गरे । कोष सञ्चालनका लागि ‘आपत्कालीन स्वास्थ्य तथा सङ्क्रामक रोग व्यवस्थापन कार्यविधि’ समेत स्वीकृत भएको छ ।

    अहिलेलाई पाँच करोड रुपियाँको कोष बनाइएको प्रवक्ता शेरचनले जानकारी दिनुभयो । “बागलुङमा दादुरा महामारीका बेला उपचार गर्न स्रोतको अभाव भयो, त्यसबाट पाठ सिकेर अहिले कोष बनाइएको हो,” उनले भने ।

    मन्त्रिपरिषद् बैठकले क्यान्सरसहित गम्भीर प्रकृतिका १९७ जना बिरामीलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । जसमध्ये १६८ जना क्यान्सर रोगी र बाँकी अन्य गम्भीर प्रकृतिका बिरामी रहेका छन् । उनीहरूका लागि कुल एक करोड ७५ लाख रुपियाँ सहायता दिने निर्णय भएको हो ।

    गण्डकी सरकारले प्रदेश निजामती सेवा र स्थानीय सेवाका कर्मचारीका लागि योगदानमा आधारित निवृत्तिभरणसम्बन्धी व्यवस्था गर्न विधेयकको अवधारणासमेत स्वीकृत गरेको छ । मन्त्री शेरचनले भने, “कर्मचारीको अवकाशपछिको जीवनलाई व्यवस्थित बनाउन यो विधेयक निर्माणको कार्य अब तदारुकताका साथ अघि बढ्छ ।”

    नेपाली कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य शेरचन यही वैशाख ३ गते आर्थिक मामिला मन्त्री नियुक्त भएका थिए । उनलाई बुधबारकै मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्ताको जिम्मेवारीसमेत तोकेको हो । यस्तै, सरकारले गण्डकी प्रदेशसभा सचिवालयका लागि चारवटा गाडी खरिद गर्न स्वीकृति दिएको छ । केही समयअघिको आन्दोलनका क्रममा संसद् सचिवालयका प्रायः सबै सवारीसाधन जलेका थिए ।

    अघिल्लो सरकारका प्रवक्ता एवं तत्कालीन आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ आफ्नो कार्यकालमा एक पटक पनि पत्रकार सम्मेलन नगरी बिदा भएका थिए । वर्तमान मन्त्री शेरचनले गण्डकी सरकारको राजस्व वृद्धि गर्न आफूले योजनाबद्ध प्रयास गर्ने प्रतिबद्धतासमेत जनाए ।

    नेपाली कांग्रेस र नेकपा (एमाले) को सत्ता गठबन्धन रहेको गण्डकीको मन्त्रिपरिषद् हाल नौ सदस्यीय छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको मन्त्रिपरिषदमा कांग्रेस र एमालेका तर्फबाट चार–चार जना मन्त्री सहभागी छन् ।

  • सम्बन्धित विषय:

  • # जितप्रसाद शेरचन

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार