बागलुङ। बागलुङ जिल्लाको प्रवेशद्वार मालढुङ्गामा प्रहरी चौकीको भवन निर्माण गरिने भएको छ । बागलुङ नगरपालिका र नेपाल अन्तराष्ट्रिय कृष्णाभावनामृत संघ (इस्कोन) बीच भएको सम्झौता बमोजिम इस्कोनको नाममा मालढुङ्गामा रहेको जग्गामा प्रहरी चौकीको भवन निर्माण गरिने भएको छ ।
भवन निर्माणको लागि इस्कोनको नाममा बागलुङ नगरपालिका–१ मालढुङ्गा खुदुर्केमा रहेको जग्गा २५ वर्षसम्मको लागि भाडामा लिने सम्झौता गरिएको छ । जग्गामा चौकी निर्माण गरे बापत नगरपालिकाले मासिक रुपमा १ हजार रुपैयाँ इस्कोनलाई भाडा बुझाउने छ ।
भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट एक करोड रुपैयाँ विनियोजन भएको बागलुङ नगरपालिका प्रमुख बसन्त कुमार श्रेष्ठले बताए ।
‘गण्डकी प्रदेश सरकारबाट एक करोड रुपैयाँ बिनियोजन भएको छ’ उनले भने, ‘यो नगरपालिकाले नै बनाउने हो, इस्कोनको भवन जस्तै आकर्षक बन्छ ।’
बुधबार बागलुङ आएका प्रहरी महानिरीक्षक महानिरीक्षक दान बहादुर कार्कीले भवनको शिलन्यास गर्ने भनिए पनि रसुवाको भोटेकोसीमा आएको बाढीका कारण उनी शिलन्यास नगरी फर्किएका थिए।
प्रहरी चौकी निर्माणका लागि जग्गा प्रयोग गर्ने सम्बन्धमा इस्कोनका तर्फबाट अध्यक्ष प्रदीप भण्डारी र नगरपालिकाको तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोख्रेलले हस्ताक्षर गरेका छन् ।
नगर प्रमुख बसन्त कुमार श्रेष्ठ, उपप्रमुख राजु खड्का, प्रहरी उपरीक्षक फणिन्द्र प्रसाई, मालपोत कार्यालय बागलुङका प्रमुख सुरेश ढकाल लगायतको रोहबरमा सम्झौता गरिएको छ ।
सम्झौता बमोजिम इस्कोनको स्वामित्वमा रहेको कि.न ८०६, ८०७, ८०८ जग्गा मध्य पहाडी लोकमार्ग र कालीगण्डकी पुल, मालढुङ्गाबाट १५ मिटर दायाँ, ६ मिटर सेटब्याक छाडी सोदेखि उत्तर तर्फको भागमा पश्चिम तर्फ ३० फिट मोहडा र पिछाडतर्फ कालीगण्डकी नदिको अधिकार क्षेत्र र सार्वजनिक शौचालयको पेटिबाट २२ फिट जग्गा छोडेर बाँकी रहन आउने चार किल्ला भित्रको जग्गामा प्रहरी चौकी भवन निर्माण गरिनेछ ।
चौकी निर्माणकोलागि संघीय सरकार, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रि परिषदको कार्यालय पोखरासँग बजेट माग गरि प्रस्ताव पेश गरिनेछ । सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै सुरक्षित र व्यवस्थित प्रहरी चौकी निर्माण गरिनेछ । मालढुङ्गामा प्रहरी चौकी नहुँदा कालीगण्डकी नदी किनारको जीर्ण र जोखिमपूर्ण सत्तलमा प्रहरी कर्मचारीले दयनीय र कष्टकर अवस्थामा रात बिताउन बाध्य छन् ।