उत्तरदायी जनप्रतिनिधि

सम्पर्कविहीन नागरिक खोज्न तमानखाेलाका जनप्रतिनिधि भोटेकोशीमा

सम्पर्कविहीन नागरिक खोज्न तमानखाेलाका जनप्रतिनिधि भोटेकोशीमा

  • भाद्र १६, २०८३ मंगलवार
  • १०:०३:१० बजे
  • 836
    SHARES
  • सम्पर्कविहीन नागरिक खोज्न तमानखाेलाका जनप्रतिनिधि भोटेकोशीमा

    बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाले भोटेकोशीमा सम्पर्कविहीन भएका नागरिकका परिवारलाई प्रतिपरिवार ३० हजार रुपियाँका दरले राहत उपलब्ध गराउने भएको छ ।

    गाउँपालिकाभित्रका नौ जना नागरिक सम्पर्कविहीन भएको जनाउँदै गाउँपालिकाले उनीहरूका परिवारलाई प्रतिपरिवार ३० हजार रुपियाँका दरले दुई लाख ७० हजार रुपियाँ तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो । साथै, सम्पर्कविहीन नागरिकको खोजी गर्न जनप्रतिनिधिको टोली भोटेकोशीतर्फ प्रस्थान गरेको छ ।

    रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी सम्पर्कविहीन भएका तमानखोला गाउँपालिकाका नौ जना नागरिकका परिवारलाई गाउँपालिकाले प्रकोप व्यवस्थापन कोषबाट तत्काल राहत उपलब्ध गराउने भएको हो ।

    आकस्मिक रूपमा बसेको गाउँ विपद् व्यवस्थापन समितिको बैठकले प्रकोप व्यवस्थापन कोषबाट नगद राहत उपलब्ध गराउने र सम्पर्कविहीन नागरिकको खोजीका लागि गाउँपालिका अध्यक्ष जोकलाल बुढाको नेतृत्वमा टोली भोटेकोशीतर्फ पठाउने निर्णय गरेको हो ।

    सम्पर्कविहीन नागरिकको खोज तथा उद्धारका लागि सम्बन्धित निकायसँग विशेष पहल गर्ने र पीडित परिवारसँग निरन्तर सम्पर्कमा रहने गाउँपालिका अध्यक्ष जोकलाल बुढाले जानकारी दिए ।

    खोज तथा उद्धार कार्यको स्थलगत अनुगमन र समन्वयका लागि अध्यक्ष बुढाको नेतृत्वमा चार सदस्यीय टोली शनिबार नै घटनास्थल भोटेकोशीतर्फ प्रस्थान गरेको छ । टोलीमा वडा नं. २ का अध्यक्ष नारायण सुनार, वडा नं. ३ का अध्यक्ष झकबहादुर बुढा र कार्यपालिका सदस्य हिक्मत जक्तपुरी छन् ।

    विपद् व्यवस्थापनमा थप सहयोग पुर्‍याउन जनप्रतिनिधिले भदौ महिनाको मासिक सेवा–सुविधाको २५ प्रतिशत तथा कर्मचारीले तहअनुसार एकदेखि तीन दिन बराबरको तलब विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

    गाउँपालिकाबाट विभिन्न जलविद्युत् आयोजनामा काम गर्न गएका नौ जना नागरिक बाढीपछि सम्पर्कविहीन भएका छन् । तमानखोला गाउँपालिका–१, बोङ्गादोभानका ३७ वर्षीय पदमबहादुर घर्तीमगर, सोही ठाउँका ३२ वर्षीय इन्द्रकुमार विक, रिक्लाङ्कका २२ वर्षीय विष्णु घर्तीमगर, वडा नं. २, बोंगाखानीका ३७ वर्षीय भीमबहादुर छन्त्याल र ५२ वर्षीय खड्ग छन्त्याल, वडा नं. ३, तमानका २२ वर्षीय सञ्जय शिर्पाली र ५० वर्षीय दलप्रसाद बुढा तथा वडा नं. ४, लाम्मेलाका ५८ वर्षीय लाता कामी र ४७ वर्षीय भीमबहादुर विक रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # भोटेकोशी बाढी

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार