बागलुङ : निसीखोला गाउँपालिकाले बाढी पहिरो प्रभावित १२ घर परिवारलाई राहत सामग्री वितरण गरेको छ । निसीखोला गाउँपालिका-४ र ५ काे चिनारे र चेल्बाङ टोलका पहिरोबाट प्रभावित परिवारलाई त्रिपाल र खाद्यान्न वितरण गरिएको हो ।
उक्त टोलमा मोटरबाटो भासिएर पहिरो जाँदा र कालापहिराको ठाडो खोलाबाट आउने लेदोसहितको बाढीको बस्तीलाई अति जोखिममा पारेपछि स्थानीय अहिले उक्त स्थानबाट विस्थापित भई आफन्तजनको घरमा आश्रय लिएर बस्न बाध्य भएका छन् ।
निसीखोला गाउँपालिकाका अध्यक्ष सुर्य बहादुर घर्ती, उपाध्यक्ष प्रेम बहादुर घर्ती, वडा नम्बर ४ का वडा अध्यक्ष टिकानिधि पौडेल, वडा नम्बर ५ का वडा अध्यक्ष हर्कमान घर्ती लगायत जनप्रतिनिधि उपस्थित भई पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको छ । विपतको बेला थोरै भएपनि केही राहत मिलोस् भन्ने उद्देश्यले उक्त बाढीपहिरो प्रभावित घर परिवारलाई पालिकाले राहत सामग्री वितरण गरेको निसीखोला गाउँपालिकाको अध्यक्ष सूर्य बहादुर घर्तीले बताए ।
अविरल वर्षासंगै बाढी पहिरोका कारण आफ्नो घरबास जोखिममा परेपछि विस्थापित भई आफन्तको घरमा आश्रय लिन बाध्य भएको र पालिकाको सानो सहयोगले आफुहरुलाई राहत मिलेको पहिरो पीडित लाली कँडेलले बताइन् ।
।