बागलुङ : गण्डकी प्रदेश सरकारका मुख्यमनत्री पृथ्वी सुब्बा गुरुङले प्रचड माधव नेपाललाई राष्टघातीको संज्ञा दिएका छन् ।
शुक्रबार बागलुङ नेकपा ओली पक्षले गरेको कार्यक्रममा बोल्दै नेकपा स्थायीय समिति सदस्य समेत रहेका मुख्यमन्त्री गुरुङले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई विदेशी दलालको रुपमा चित्रण गरेका हुन् ।
विदेशीको ईशारामा लागेर आफ्नै पार्टीका सरकारलाई अप्ठ्यारोमा पार्दा अहिलेको परिणाम निस्कीएको उनको भनाई छ ।
‘प्रचण्ड माधव नेपालहरु विदेशीको पछिपछि लागेर राष्ट्रघात गर्नुभयो,’ उनले भने,‘राष्ट्रियताको सवालमा दह्रोगरी सरकारले खुट्टा टेकेका बेला आफ्नै पार्टीको सरकारलाई असफल बनाउन लाग्नुपर्ने अरु कुनै कारण थिएन ।’
प्रधानमन्त्रीको अगुवाईमा भारतले मिचेको भूमि फर्काउने अभियान स्वरु नक्सा छापिएपछि सरकार गिराउने खेल सुरु भएको उनले बताए ।

‘नेपालको भूमि अतिक्रमण विरुद्ध सरकारले राष्ट्रियताको झण्डा उठायो, स्वाधिनताको पक्षमा कुनै विदेशीसंग सम्झौता गरेन,’ मुख्यमन्त्री गुरुङले भने,‘यही बेलामा अविश्वासको प्रस्ताव आउनुले प्रचण्ड माधव नेपालहरु विदेशी भारतीय दलाल हुने भन्ने सावित गर्छ । राष्ट्रियताको सवालमा चट्टानी अडान राख्ने केपी ओलीलाई अहिले राष्ट्रघाती करार गर्ने काम भैरहेको छ ।
’ उनले मुलुक र राष्ट्रियता बचाउनका लागि ओली पक्षमा लाग्न र अबको निर्वाचनमा दुई तिहाई बहुमत आउनेगरी लाग्न कार्यकर्तालाई आग्रह समेत गरे ।
‘राष्ट्रघातीको पछि जनता लागे भने मुलुक डुब्छ, कार्यकर्ताले सही नेतृत्वमा पक्षमा लागेर जनतालाई सहि मार्गदर्शन गर्नुपर्छ,’ उनले भने,‘यही बेला हो राष्ट्रघाती र राष्ट्रप्रेमी छुट्याउने समय ।’ गुरुङले आफुलाई मुख्यमन्त्रीबाट कसैले हटाउन नसक्ने समेत बताए ।

‘केन्द्रमा संसद विघटन भएपछि अहिले प्रदेश सरकारहरु पनि हट्छ्न भन्ने भ्रम सिर्जना गरिएको छ,’ गुरुङ भन्छन्,‘हामीसंग स्पष्ट बहुमत छ, कसैले हटाउन सक्ने अवस्था छैन । नेपाल काँग्रेसले पनि विदेशी दलाहरुलाई साथ दिन्न भन्ने लाग्छ, प्रदेश ३ र प्रदेश १ मा पनि काँग्रेसको समर्थनमा अहिलेकै मुख्यमन्त्रीले सरकार चलाउनुहुन्छ ।’
संसद विघटन प्रधानमन्त्रीका बाध्यात्मक कदम भन्दै गुरुङले बचाउ समेत गरे । ‘बहुमत प्राप्त सरकारले काम गर्नै नदिएपछि ताजा जनादेशमा जानु भनेका अग्रागामी कदम हो,’ उनी भन्छन्,‘प्रतिगमनतिर लाग्ने काम त अर्को पक्षका साथीहरुले गर्नुभएको छ ।’
वैशाखमा निर्वाच हुने र त्यसमा बहुमत ल्याउनेगरी लाग्न समेत उनले कार्यकर्तालाई निर्देशन दिए ।