बागलुङ : मुस्ताङका पत्रकार सुन्दर कुमार थकालीलाई सिर्जनशील पत्रकारिता पुरस्कार २०७७ बाट पुरस्कृत गरिएको छ ।
आदर्श सञ्चार सहकारी संस्था लि. बागलुङले बिहीबार बागलुङमा एक समारोह गरी थकालीलाई उक्त पुरस्कार समर्पण गरिएको हो । पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षेत्रीले आफुहरुको विवाहमा लाग्ने खर्च कटाएर स्थापना गरेको उक्त पुरस्कारबाट यस पटक मुस्ताङबाट पत्रकारितामा सक्रिय थकालीलाई पुरस्कृत गरिएको छ ।
परम्परागत शैलीबाट टाढा रहेर आफ्नो विवाह गर्दा लाग्ने रकमबाट धौलागिरि क्षेत्रमा क्रियाशील पत्रकारलाई पुरस्कृत गर्ने गरी पन्त र क्षेत्रीले २०७१ सालमा सिर्जनशील पत्रकारिता पुरस्कार कोषको स्थापना गरेका थिए ।
हरेक वर्ष आदर्श सञ्चार सहकारी संस्था लि. बागलुङको साधारणसभाको सन्दर्भमा उक्त पुरस्कार समर्पण गर्ने गरिए पनि यस पटक विविध कारणले हुन सकेको थिएन । साधारणसभाको समयमा प्रदान गर्ने भनेर अन्तिम समयमा रोकिएको पुरस्कार अहिले समर्पण गरिएको पुरस्कार कोषका संस्थापक सिर्जना पन्तले बताईन् ।
नगद ५ हजार र प्रशंसापत्र रहेको पुरस्कार राशी यस वर्षबाट बढाईएको छ । पुरस्कार कोष र पुरस्कार राशी वृद्धि गरिएको संस्थापक सन्तोष क्षेत्रीले बताए ।
‘यो पुरस्कार प्रदान गरेर पत्रकारलाई ठ्याक्कै केही हुने त होईन,’ क्षेत्रीले भने,‘हामी पनि यही पेशामा रहेकाले यस क्षेत्रको कथा व्यथा बुझ्छौं । पत्रकारिता कर्म गर्दै गर्दा अरु नभए पनि हौसला प्रदान गर्छ भनेर हामीले पुरस्कारको स्थापना गरेका थियौं । समयसंगै अब पुरस्कारको कोष र राशी पनि बढाएका छौं । कोषमा एक लाख पु-याएर अब पुरस्कार राशी यसैवर्षबाट नगद १० हजार पु-याएका छौं ।’
पत्रकार थकालीलाई निवर्तमान संघीय सांसद मनकुमारी जिसी, संस्थाका अध्यक्ष हुमाकुमारी जिसी अञ्जु, सम्पादक रामबहादुर जिसीले नगद सहित दोसल्ला र प्रशंसापत्रले सम्मान गरेका थिए ।
परस्कार ग्रहणपछि बोल्दै पत्रकार थकालीले आफ्नो कर्मको सम्मान भएकोमा खुशी व्यक्त गरे । ‘आज बागलुङमा आएर आफुले गरेको कामको सम्मान पाउँदा निकै खुसी लागेको छ,’ उनले भने,‘मै आफ्नै गृह जिल्लामा यस्तो सम्मान पाएको थिएन । यो सम्मानले मलाई पत्रकारितामा थप लगनशील भएर लाग्नका लागि प्रेरणा मिलेको छ ।’
पत्रकारिता पेशमा आफैमा चूनौतिपूर्ण रहेको र अझ मुस्ताङमा झन् चूनौति रहेको बताए । ‘पत्रकारिता आफैमा चूनौतिको पेशा हो,’ उनी भन्छन्,‘त्यसै माथि मुस्ताङ त अझै चूनौतिपूर्ण ठाउँ छ । त्यहाँ भूगोल, त्यहाँको समाजले पनि यो पेशालाई चूनौतिपूर्ण बनाएको छ । मैले पेशा गर्न थालेको एक दशकको अवधीमा जुन यो सम्मान पाएँ । यसले मलाई निकै हौसला मिलेको छ ।’
थकाली मुस्ताङमा रहेर अन्नपूर्ण पोष्ट, समाधान दैनिक लगायतका सञ्चार माध्यममा कार्यरत छन् । उनी नेपाल पत्रकार महासंघ मुस्ताङका अध्यक्ष समेत हुन् ।
धौलागिरिमा क्रियाशील पत्रकारलाई सम्मान गर्न स्थापना गरिएको उक्त पुरस्कारबाट यसअघि सन्तोष थापा (पर्वत), दिल शिरीष (बागलुङ), सन्तोष गौतम (म्याग्दी), संगम घर्तीमगर (बागलुङ) र राम थापा अविरल (बागलुङ) लाई प्रदान गरिएको थियो ।