काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलायर डोटीको थलीगाउँ पुगेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र उथलपुथल आएको छ ।
पूर्वमन्त्री बलायरको सक्रियतामा डोटी जिल्लाको केआईसिंह गाउँपालिका–७ थलीगाउँका ४० परिवार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा जिल्ला कमिटी सदस्य सगरे तिरुवाको नेतृत्वमा पूरै दलित बस्ती नै कांग्रेसमा प्रवेश गरेको छ ।
नेपाली कांग्रेसले संसद् विघटनको विरोधमा केआईसिंह गाउँपालिका–६ भूमिराजमाण्डौंमा आयोजना गरेको कार्यक्रममा दलित बस्तीका ४० परिवारसहित १५० बढी नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका जनाइएको छ ।
नवप्रवेशीहरूलाई पूर्व मन्त्री बलायरले स्वागत गरेका थिए । पूर्वमन्त्री बलायरलाई वडामा बाजागाजा झाँकीसहित स्वागत गरिएको थियो ।
सरकारविरुद्ध नाराबाजी गर्दै विरोध र्याली आमसभामा परिणत भएको जनाइएको छ । कार्यक्रमलाई भातृ संगठनका प्रमुख, जिल्ला तथा क्षेत्रका नेताहरूले सम्बोधन गरेका छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार बिहीबार डोटीका सबै वडाहरूमा विरोध कार्यक्रम आयोजना गरिएको छ ।