सुवास आचार्य, बागलुङ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई धारमा विभाजित भएपछी त्यसको असर स्थानीय सरकारमा समेत पर्न थालेको छ ।
बागलुङ नगरपालिकको आठौँ नगरसभामा सभासद र वडा अध्यक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको टिप्पणी गरेपछी नेकपाबाट निर्वाचित जनप्रतिनिधी दुई धारमा विभाजित भएका छन् ।
नगरसभा विशेषगरी बिकास निर्माण, स्थानीय कानून निर्माण लगायतको विषयमा मात्रै छलफलमा लाग्ने गरेकोमा पहिलो पटक वर्तमान राष्ट्रिय राजनीतिले बहसको रुपमा पनि प्रवेश भएको हो ।
यसरी राजनीतिले बहस पाएपछि वक्ताहरुले पक्ष र बिपक्षमा मत जाहेर गरेका छन् । अधिकांसले संसद बिघटन असंवैधानिक कदम भएको आरोप लगाए ।
गत पुस २९ गते औपचारिक रुपमा सुरु भएपनि नगरसभामा राजनीतिक एजेण्डाको रुपमा कुनै फाइल दर्ता भएको थिएन ।
तर शुक्रवार भएको समापन समारोहमा आधादर्जन वडा अध्यक्षले समय मागेर बोल्दै प्रधानमन्त्रीको कदम असंवैधानिक भएको आरोप लगाए । उनीहरुको भनाइमा सभासदले पनि ताली पिटेर समर्थन समेत गरेका छन् ।
नगरसभाका नियमित कार्यसूचि सकिएपछि पहिलो पटक समय मागेर वडा नं. ५ का अध्यक्ष शिवप्रसाद सापकोटाले मंचमा उक्लेर प्रधानमन्त्रीको असंवैधानिक कदमको खुलेर बिरोध गरे ।
उनले प्रस्तुत गरेको लिखित प्रतिवेदनमा प्रधानमन्त्रीको कदम असंवैधानिक भएको आरोप लगाए । देशलाई गम्भीर राजनीतिक संकटतर्फ उन्मुख गराउने कदमप्रति घोर आपत्ति प्रकट गर्न नेकपाबाट निर्वाचित aहुमत वडा अध्यक्ष तथा सदस्यहरुले हस्ताक्षर गरेको प्रस्ताव नगरसभामा पेश गरेका थिए ।
तर उक्त प्रस्तावले औपचारिकता भने पाएन । नगरसभा संचालन ऐनमा दुइदिन अघि दर्ता गरेको प्रस्ताव मात्र सभामा औपचारिक एजेण्डा हुनेमा ढीला आएकोले दर्ता नभएको जनाई्रको छ ।
नगरसभामा नेकपाबाट निर्वाचित जनप्रतिनिधीले प्रधामन्त्रीको गलत कदमले गर्दा देश शंकटमा परेको आरोप लगाएतका थिए । सापकोटाले प्रस्तुत गरेको प्रस्तावमा नेकपाका साथै नेपाली काग्रेस राष्ट्रिय जनमोर्चावात निर्वाचित जनप्रतिनिधीले समेत समर्थन गरेका थिए ।
सापकोटाले प्रस्तुत गरेको प्रस्तावमा बोल्दै वडा नं. १३ का अध्यक्ष नारायणप्रसाद पौडेलले समर्थन गरेका थिए । त्यसपछि बोल्ने वडा नं. ३ की अध्यक्ष लक्ष्मी बास्कोटाले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको बताइन् ।
कानूनी रुपमा एजेण्डाको रुपमा स्वरुप नबनेकोले हस्ताक्षर भने नगरेको भन्दै बास्कोटाले पनि आन्दोलन मार्फत प्रतिनिधिसभा पुनस्थापनाको माग गरिन् ।
कार्यक्रममा वडा नं. ८ का अध्यक्ष जीतबहादुर क्षेत्री (राजन)ले भने उक्त प्रस्तावको बिरुद्धमा बहस गरे । उनले एजेण्डा बन्न नसक्ने बिषयमा भन्दा नगरपालिकाको काम र बिकास निर्माणमा ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा वडा सदस्य सुरज बोसेलले नगरसभा सम्मानित हुन नसकेको बताए । उनले नगरप्रमुखले सम्मानित ढंगले सभा बसाल्न सक्नुपर्ने बताए ।
अर्का सदस्य लोकनाथ सापकोटालेपनि प्रधानमन्त्रीको कदम असंवैधानिक भएको आरोप लगाए । नगरपालिकको आठौ सभा आइपुग्दासम्म पक्ष बिपक्ष भएर भाषण गर्ने क्रम नचलेकोमा यो पटक राजनीतिक घटनाक्रमले राजनीतिक दलझै सभासद र वडा अध्यक्षहरुलाई बिभक्त गरेको वडा नं. ११ का अध्यक्ष ज्ञानेन्द्र गौतमले बताए ।
केन्द्रीय तहबाट आएका ठूला नेताहरुको स्वागत र सम्मानमा नगरपालिकाको साधन श्रोत दुरुपयोग भएको समेत वक्ताहरुले आरोप लगाएका थिए ।
गौतमले भने संघ र प्रदेशका योजनामा अनुगमन गर्ने अधिकार वडा र नगरमा नभएको की नगरिएको भन्ने प्रश्न राखे । उनले प्रभावकारी अनुगमन अभावले करोडौं रकम दुरुपयोग भैरहेको समेत टिप्पणी गरेका थिए ।
सहभागिले नगरपालिकाले कसका लागि किन करोडौं खर्चेको छ ? घरभाडा किन तिर्छ भन्ने जस्ता बिषय पनि उठाएका थिए । उनीहरुले नगरपालिकालाई ऋणको भारी बोकाउने काम नगर्न पनि सुझाव दिएका थिए ।
नगर प्रमुख जनकराज पौडेलले लोकतन्त्रमा राष्ट्रिय र स्थानीय राजनीतिक बहस र छलफल गर्नपाउने भन्दै बोल्ने स्वतन्त्रता भएको बताए । उने आफुहरु संसदीय अभ्यास पनि गरिरहेको भन्दै बोल्न पाउने अधिकारको सुरक्षा गरेको बताए ।
नगरप्रमुख पौडेलले औपचारिक प्रस्ताव दर्ता नभएकोले निणयार्थ प्रस्तुत गर्नु नपरेको बताए । नगरसभाले पुरक प्रस्तावको रुपमा केही करका दर संशोधन गर्ने, बिपत व्यवस्थापन कोषमा ५० लाख रुपैया“ बिनियोजन गर्ने प्रस्ताव पास गरेको छ ।
नगरसभामा वडा सदस्य अर्जुन घिमिरेले बागलुङ नगरपालिकाले अवैधानिक रुपमा फोहोर संकलन कर उठाएको भन्दै आपत्ती जनाए ।
‘बागलुङ नगरपालिकाले अहिले फोहोर संकलनको कसर जसरी उठाएको छ, त्यो अवैधानिक छ,’ उनले भने,‘नगरसभाबाट पास गरेर कर संकलन गर्नुपर्ने हो, त्यसो नगरेर दुई चार जनाको मनोमानीमा कर उठाईएको छ । यो आपत्ती जनक विषय हो ।’
घिमिरेले केवलकार यान्त्रिक पुललाई समेत शाहसिक खेलमा राखेर अतिरिक्त कर लिने सूचीमा राखिएकोमा पनि आपत्ती जनाए । प्रमुख प्रशासकिय अधिकृत शिव रिजालले बञ्जी र यान्त्रिक पुललाई शाहसिक खेलको सूचीबाट हटाउने र त्रुटी सच्याउने बताए ।
फोहोर संकलनको विषयमा बागलुङ नगरप्रमुखले छलफलबाट नगरसभामा प्रस्तुत गरेर नै फोहोरमैलाको कर निर्धारण गर्ने बताए ।
बन्जीजम्म लगायतका साहसिक खेलमा टिकटको कमाइबाट १ प्रतिशत शुक्ल लगाउने एजेण्डा पास गरेको छ ।
त्यस्तै गत पुस २९ गतेको सभामा पेश भएको प्रकृतिक श्रोत साधनको उपयोग सम्बन्धी ऐन पास गरेको छ ।
सभामा नाफामुखी सहकारीले उठाएको फोहोर मैलाको शुल्क नगरको जिम्मामा आएपछि नघटाएको, कोरोनाबाट प्रभावित भएको व्यवसाय करमा २५ प्रतिशत कर छुट दिने जस्ता बिषय नगरपालिकाले नल्याएको भन्दै सहभागिले बिरोध गरेका थिए ।
लेखा समितिका संयोजक कमल खड्काले फोहोरको व्यवस्थापन गर्दा उपभोक्ताले आन्दोलन गर्न पाउने नैसर्गिक अधिकार सुरक्षित राख्न माग गरे ।