विनोद विश्वकर्मा, बुर्तिबाङ : ढोरपाटन नगरपालिका वडा नम्बर २ रिनाममा बिहिबार आधारभुत स्वास्थ्य सेवा केन्द्रको शिलान्यास गरिएको छ ।
नेपाल सरकारको एक वडा एक आधारभुत स्वास्थ्य सेवा केन्द्र निर्माण गर्ने अवधारणा अनुसार रिनाममा निर्माण गर्न थालिएको हो । दुई महिना भित्र निर्माण सक्ने गरी ढोरपाटन नगरपलिका वडा नम्बर २ का वडा अध्यक्ष युवराज महतले शिलान्यास गरेका हुन् ।
शिलान्यास पछि बोल्दै अध्यक्ष महतले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा विशेष जोड दिएर काम गरेको भन्दै समयमै काम सक्ने समेत बताउनुभयो ।
नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले विनियोजन गरेको ३८ लाख लागतमा सेवा केन्द्र निर्माण हुन लागेको अध्यक्ष महतले जानकारी दिए ।
स्वास्थ्य केन्द्र निर्माण सम्पन्न पश्चात रिनामका करिब ३ सय घरधुरी नागरीकले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने छन् ।
स्वास्थ्य केन्द्र निर्माणका निम्ति स्थानिय समाजसेवी चुडामणी शर्माले एक रोपनी जग्गा निशुल्क उपलब्ध गराएका थिए ।