बागलुङ : सर्वोच्च अदालतले ढोरपाटन नगरपालिका—४ का वडाध्यक्ष तिलक पुनलाई तत्काल पदमुक्त नगर्न आदेश जारी गरेको छ ।
सर्वोच्चका न्यायाधिस प्रकाशमान सिंह राउतको एकल ईजलालसले निर्वाचन आयोगसंग लिखित जवाफ माग गर्दै पुनलाई पदमुक्त गर्ने निर्णय तत्कालन कार्यान्वयन नगर्न भनेको हो ।
राष्ट्रिय जनमोर्चाबाट स्थानीय तह निर्वाचनमा निर्वाचित भएका वडाध्यक्ष पुनलाई जनमोर्चा परित्याग गरेको भन्दै
पार्टीले नै पदमुक्त गर्न निर्वाचन आयोगलाई जानकारी गराएपछि निर्वाचन आयोगले उनलाई पदमुक्त गर्ने निर्णय गरेको सूचना प्रकाशित गरेको थियो ।
उक्त निर्णय विरुद्ध सर्वोच्चमा परेका मुद्दामा शुक्रबार आदेश भएको हो । अन्तरिम आदेशमा निवेदककमो माग बमोजिम अन्तरिम आदेश जारी हुनु किन नपर्ने भन्ने विषयमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न निर्वाचन आयोगलाई भनिएको छ ।
अदालतले निर्वाचन आयोग र वडाअध्यक्ष पुनबीच छलफलका लागि माघ १९ गतेको पेशी तोकेको छ । अदालतमा छलफल भएर अन्तिम निर्णय नहुन्जेलसम्मका लागि निर्वाचन अयोगले पुस ७ गते पुनलाई पदमुक्त गर्ने भनि गरेको निर्णय कार्यान्वयन नगर्न भनिएको हो ।
अधिवक्ता सुवास आचार्यले पुनको तर्फबाट सर्वोच्चमा दायर गरेको निवेदनको आधारमा अदालतले निर्णय तत्कालन कार्यान्वयनमा रोक लगाएको हो ।
निर्वाचन आयोगले वडाध्यक्ष पुनसंगै वडा सदस्य तिलबहादुर फगामीलाई पनि निर्वाचन आयोगले पदमुक्त गर्ने निर्णय गरेको थियो ।
