काठमाडाैँ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई संयुक्त आन्दोलनका लागि आह्वान गर्दै संविधान र गणतन्त्र सृदृढ गर्ने यो अवसर नगुमाउन आग्रह गरेका छन्।
उनले लोकतान्त्रिक दलको छवि बनाएको कांग्रेस र संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर पार्टीको छवि बनाएको जनता समाजवादी पार्टीलगायतका दलहरुलाई कुनै अन्यौल वा भ्रममा नपर्न आग्रह गरे।
प्रचण्डले तत्कालीन नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शान्ति प्रक्रिया र संविधान सभाबाट गणतन्त्रको घोषणा लगायतका कामको नेतृत्व गरेको स्मरण गर्दै सो दल अहिले लोकतान्त्रिक आन्दोलनमा पछि हट्न नहुने धारणा राखे।
उनले अहिलेको संविधान बनाउने बेला पनि नेपाली कांग्रेसकै सभापति सुशील कोइरालाले प्रधानमन्त्रीको रुपमा सो प्रक्रियाको नेतृत्व गरेको हुँदा उनलाई ‘संविधानकै पिता’ भन्ने गरेको समेत स्मरण पनि गरे।
‘त्यहि संविधानमाथि यस्तो घात हुँदा त्यो लोकतान्त्रिक पार्टीले अब संयुक्त आन्दोलन गर्ने र केपी ओलीको निरंकुशता सदाका लागि परास्त गरी यो देशमा लोकतन्त्र अब खतरामा छैन भन्ने सुनिश्चित गर्ने नेपाली कांग्रेसलाई अहिले अवसर हो, ।’
बुधबार पार्टीले आयोजना गरेको विरोध सभामा प्रचण्डले भने, ‘नेपाली कांग्रेसका नेता कार्यकर्ता साथीहरुलाई म अपिल गर्न चाहन्छु यो अवसर गुम्न नदिनुस् हामी तपाईंहरुसँग हातेमालो गर्न तयार छौं।’
सोहि कार्यक्रममा उनीअघि बोल्ने झलनाथ खनाल, माधवकुमार नेपाल लगायतका नेताहरुले पनि संयुक्त आन्दोलनका लागि कांग्रेस लगायतका दलहरुलाई आग्रह गरेका थिए।