काठमाडाैँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड(नेपाल पक्षकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको बताएका छन्।
झाँक्रीलाई आज प्रहरीले पक्राउ गरेको थियो। उनलाई अपराध संहिताको राज्यविरूद्धको कसुरअन्तर्गत दफा ५८ अनुसार प्रहरीले पक्राउ पुर्जी दिएर पक्राउ गरेको हो। झाँक्रीलाई पक्राउ गर्नु संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि नाङ्गो हस्तक्षेप भएको पनि पौडेलको भनाइ छ।
‘सरकारले नेकपाकी नेता एंव निवर्तमान सांसद रामकुमारी झाँक्रीलाई पक्राउ गरेर आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको छ,’ बिहीबार ट्वीट गर्दै पौडेलले भने, ‘संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि नाङ्गो हस्तक्षेप गर्दै सरकारले झाँक्रीलाई पक्राउ गरेको छ। हामीले ल्याएको लोकतन्त्र बोल्नै नपाउने भन्ने होइन।’
उनले झाँक्रीलाई रिहा गर्न माग गरेका छन्। ‘झाँक्रीलाई पक्राउ गरिएको घटनाको म घोर भत्सर्ना गर्दछु। साथै उनलाई विनाशर्त रिहा गर्नसमेत माग गर्दछु,’ उनले भनेका छन्।