बागलुङ : पछिल्लो समयमा केही युवाहरुमा आफ्नो जन्मदिन मनाउने शैलि परिवर्तन भएको छ । जन्मदिनको नाममा विभिन्न होटल तथा रेष्टुरेण्टमा गएर खर्च गर्ने रकम सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका छन । जिल्लामा मानव सेवा आश्रम होस वा विद्यालय र स्वास्थ्य क्षेत्र हरेक क्षेत्रमा यस्ता अवसरहरुमा विभिन्न व्यक्तिहरुबाट सहयोग हुँदै आएको छ ।
यसै क्रममा जिल्लाको जैमिनी नगरपालिका–७ जैदिका निलकण्ठ शर्माले आफ्नो जन्मदिनको अवसरमा स्थानिय जैदी स्वास्थ्य चौकीमा स्वास्थ्य सामाग्री वितरण गर्नुका साथै महिला स्वास्थ्य स्वयं सेविकालाई १/१ थान झोला प्रदान गरेका छन । मानव अधिकार तथा शान्ति समाज बागलुङका सचिव र नेपाल रेडक्रस सोसाईटी बेलबगर
उपशाखाका सह–कोषाध्यक्ष समेत रहेका शर्माले आफ्नै गाउँमा रहेको स्वास्थ्य चौकीमा एक कार्यक्रमका बिच आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन । शर्माले १ हजार थान मास्क, २ थान पिपिई, २ थान नेबुलाईजर मेसिन र १६ जना महिला स्वास्थ्य स्वयं सेविकालाई झोला र आवश्यक स्यानिटाईजर वितरण गरेका हुन ।

‘हाम्रो समाजमा अझै पनि जन्मदिन बैबाहिक बर्षगाँठ जस्ता उत्सवहरु धेरै खर्च गरेर रङ्ग रमाईलो गरेर मनाउने परम्परा छ । यो परम्परालाई तोड्नका निम्ती म आफ्नो जन्मदिनमा सानो सहयोग गरेको हुँ, शर्माले भने, सानो सहयोग समाजमा ठुलो राहत पुग्न सक्छ ।’
पछिल्लो समयमा कोभिड संक्रमणको दर पुन बढ्दो रहेको र स्वास्थ्य संस्थाबाट सेवा प्रवाहमा केही सहज होस भन्ने उद्देश्यले स्वास्थ्य सामाग्री सहयोग गरेको शर्माले बताए । उनले अनावश्यक रुपमा खर्च गर्न भन्दा सामाजिक कार्यमा खर्च गरेर जन्मदिन मनाएको बताए ।

कार्यक्रममा बोल्दै जैमिनी नगरपालिकाका नगरप्रमुख ईन्द्रराज पौडेलले युवाहरु सकरात्मक सोचका साथ समाजमा केही गरौं भन्ने उद्देश्यले समाजिक क्षेत्रमा सहयोग गर्नु समाजका लागि ठुलो अवसर भएको बताए । उनले जन्मदिनको अवसरमा प्रदान गरेको सानो सहयोगले स्वास्थ्य क्षेत्रमा ठुलो टेवा पुगेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेस बागलुङका सह–सचिव सिताराम रसाईली काँग्रेसका महाधिवेशन प्रतिनिधि एवं नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रिय सह–महामन्त्री हरिहर शर्मा, नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष उमाकान्त पौडेल, मानवअधिकार तथा शान्ति समाज बागलुङका निर्वतमान सभापति लक्ष्मीकान्त पौडेल ‘राजेन्द्र’
लगायतले बोलेका थिए । कार्यक्रम निलकण्ठ शर्माको अध्यक्षता स्वास्थ्य चौकीका प्रमुख झलकराज आचार्यको स्वागत र धौलागिरी बहुमुखी क्याम्पसका स्ववियु सचिव विष्णुराज पौडेलको संचालनमा सम्पन्न भएको थियो ।