कर्णालीमा एमाले मिल्यो, माओवादी सरकार धरापमा

कर्णालीमा एमाले मिल्यो, माओवादी सरकार धरापमा

  • चैत्र २५, २०७७ बुधवार
  • ०७:५०:५१ बजे
  • 9.3K
    SHARES
  • कर्णालीमा एमाले मिल्यो, माओवादी सरकार धरापमा

    काठमाडाैँ : केन्द्रमा संस्थापन पक्ष र खनाल–नेपाल समूहबीच तीव्र विवाद भइ समानान्तर कमिटी गठन भइरहँदा कर्णाली प्रदेशमा भने एमाले एकढिक्का भएको छ । पार्टीको निर्णयअनुसार माओवादी केन्द्रको नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकारबाट एमालेका तीन मन्त्रीले राजीनामा दिएका छन् । 

    मंगलबार पत्रकार सम्मेलनमार्फत राजीनामा दिनेमा आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रहेका छन् ।  उनीहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा बुझाएका हुन् । कर्णालीमा एमालेले एकल सरकार बनाउने योजनासहित आफ्ना मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेको थियो ।

    सोमबार नै राजीनामा दिने भनिएपनि मन्त्रीहरुले  मंगलबार राजीनामा दिएका हुन् । आइतबार बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको थियो भने चैत ४ गते सो पार्टीले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

    शाही सरकार धरापमा 

    एमालेका तीन जना मन्त्रीहरुले राजीनामा दिएसँगै शाही नेतृत्वको कर्णाली प्रदेश सरकार पद धरापमा परेको छ । चैत ४ गते एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर,

    त्यतिबेला एमालेकै खनाल–नेपाल समूहका सांसदले समर्थन फिर्ता नलिने बताएको थियो । तर पछिल्लो समय एमाले एक ढिक्का भएपछि प्रदेश सरकार अल्पमतमा पर्ने र एमालेले समर्थन फिर्ता लिनासाथ सरकार ढल्ने पक्कापक्की देखिन्छ । 

    चैत ४ गतेको एमाले संसदीय दलको बैठकलाई नेपाल–खनाल समूहले ‘गुटको बैठक’ भन्दै मुख्यमन्त्रीलाई आफूहरुको समर्थन कायमै रहेको बताएको थियो । यतिबेला भने खनाल–नेपाल पक्षले पार्टीकै लाइनअनुसार समर्थन फिर्ता लिने मनस्थिति बनाएपछि सरकार ढल्ने अवस्थामा पुगेको हो ।

    अब कर्णाली प्रदेशसभाको ४० मध्ये २० सिट जितेको नेकपा एमाले एक ढिक्का भएसँगै नयाँ सरकार गठनका लागि दाबी गर्ने अवस्थामा पुगेको छ । कर्णाली प्रदेशसभा एमाले संसदीय दलका नेता यामलाल कँडेललाई मुख्यमन्त्री बनाउने गृहकार्य भइरहेको एमाले स्रोतले जनाएको छ ।

    नेपाल पक्षधर सांसद सुशील थापाले एमाले एक ठाउँमा उभिएर सरकारलाई दिएको समर्थन फिर्ता लिने कुराका कसैको आपत्ति नभएको बताए ।  ‘एक दुईजना साथीहरु ऊ बेला रुष्ट हुनु स्वाभाविक नै हो । वृहत छलफलपछि एकढिक्का भइसकेको अवस्था छ’, उनले भने । थापाले मुख्यमन्त्री शाहीलाई नैतिकताका आधारमा राजीनामा दिन पनि सुझाव दिए ।

    ओली पक्षधर मानिएका सांसद गुलाबजङ्ग शाहले कर्णालीमा एमालेको बाहेक अरुको सरकार बन्ने परिकल्पना पनि नगर्न आग्रह गरे । रातोपाटीसँग उनले भने, ‘तपाई आफै अनुमान गर्नुस् न १  ४० जना सांसदमध्ये  २० जना  एमालेका सांसद रहेको प्रदेशमा कसको सरकार बन्ने भन्ने कुरा पनि सोधिरहनु पर्ला र १ तपाई आफै अनुमान गर्नुस् न ।’ प्रदेशसभाको ४० मध्ये २० सांसद एमालेका छन् ।

    सभामुख राजबहादुर शाही बाहेक १९ जनामा ओली पक्षमा १० र नेपाल पक्षमा ९ जना बाँडिएका थिए । सभामुखले निर्णायक हुने अवस्थामा बाहेक मतदान गर्न नपाउने भएकाले संसदीय समीकरणमा एमालेका १९ जना सांसद छन् । प्रदेशसभामा माओवादी केन्द्रसँग १२ सिट छ । माओवादीले एमालेमा लागेका सांसद धर्मराज रेग्मीलाई कारबाही गरेपछि सांसद संख्या घटेको हो । 

  • सम्बन्धित विषय:

  • # एमाले
  • # माओवादी

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार