बागलुङ : सामुदायिक विद्यालयको शैक्षिक विकासका निम्ती काम गर्ने संस्था विद्यालय व्यवस्थापन समिति महासंघ बागलुङको अध्यक्षमा भवानी प्रसाद रिजाल चयन भएका छन् ।
महासंघको बिहिबार बागलुङमा आयोजित भेलाले रिजालको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति चयन गरेको छ । बागलुङ नगरपालिका–१३ का वडा सदस्य समेत रहेका रिजाल स्थानीय जनमत माध्यामिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष हुन ।
रिजाललाई महासंघले गण्डकी प्रदेश समितिको सदस्य र बागलुङको संयोजकको समेत जिम्मेवारी दिएको थियो । समितिको उपाध्यक्षमा निसीखोलाका ईश्वरी प्रसाद कंडेल, सचिवमा लेखानीका रनबहादुर थापा, र कोषाध्यक्षमा जैमिनीका उषा पौडेल रहेका छन् ।
समितिको सदस्यहरुमा जगत बहादुर जिसी, कमला कार्की, गणेश बहादुर भण्डारी बिदुर नरेन्द्र कंडेल, भिबिन्द्र आचार्य, जमुना पन्त, द्रोण छन्त्याल रहेका छन । बाँकी चार सदस्य महासंघको बैठकबाट पुन मनोनित गरिने छ ।
भेलालाई सम्बोधन गर्दै बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले सामुदायिक विद्यालयको संस्थागत विकासका निम्ती महासंघले महत्वपुर्ण भुमिका खेल्ने बताए । उनले जिल्लाका सबै सामुदायिक विद्यालयका समस्यालाई संस्थागत रुपमा समाधान गर्न महासंघ सहयात्री बन्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई बागलुङका प्रमुख कुश्मराज उपाध्याय, दुर्गा भवानी प्रावि पैयुँपाटाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्र केसी लगायतले सामुदायिक विद्यालयको विकासको लागि महासंघले थप जोड दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा महासंघका गण्डकी प्रदेश उपाध्यक्ष टिकाराम थापा महेन्द्रले महासंघको काम र कर्तव्यको बारेमा जानकारी गराएका थिए । कार्यक्रम महासंघ गण्डकी प्रदेश संयोजक भवानी प्रसाद रिजालको अध्यक्षता महासंघका जिल्ला सदस्य नारायण श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।
महासंघले जिल्ला भरीका सामुदायिक विद्यालय यव्इवस्थापम समितिको अनुगमन तथा परिचालन गर्ने छ । साथै स्थानिय तहमा पनि संगठन विस्तार गरी हरेक सामुदायिक विद्यालयको संस्थागत विकासका निम्ती सहयोगी भुमिका निर्वाह गर्नेछ ।