युरोकप क्वाटरफाईनल : बेल्जियम र इटली तथा स्पेन र स्विट्जरल्याण्ड भिड्दै 

युरोकप क्वाटरफाईनल : बेल्जियम र इटली तथा स्पेन र स्विट्जरल्याण्ड भिड्दै 

  • आषाढ १८, २०७८ शुक्रवार
  • १५:३६:४९ बजे
  • 3.0K
    SHARES
  • युरोकप क्वाटरफाईनल : बेल्जियम र इटली तथा स्पेन र स्विट्जरल्याण्ड भिड्दै 

    एजेन्सी – तीन पटकको युरो च्याम्पियन स्पेनले युरोपेली २०२० को पहिलो क्वाटरफाइनलमा स्विट्जरल्यान्डको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ९ः४५ बजे सुरु हुनेछ ।

    राउन्ड अफ १६ मा फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै अघि बढेको स्विट्जरल्यान्ड १९३८ पछि कुनैपनि ठूलो प्रतियोगिताको नकआउट चरणमा जित हासिल गर्न सफल भएक थियो । स्विस फुटबल इतिहासकै सर्वोत्कृष्ट नतिजापछि टोली अब नयाँ इतिहास कोर्न आतुर छ । पहिलो खेलमा इटालीसँग ३–० ले हारेयता टोलीले सुधारिएको प्रदर्शन गरेको छ ।

    यता स्पेन क्रोएसियालाई अतिरिक्त समयमा पराजित गर्दै राउन्ड अफ १६ पार गर्न सफल भएको थियो । एक समय ३–१ को अग्रता लिएर पनि अतिरिक्त समयमा खेल धकेल्दा भने स्पेनको डिफेन्समा कमजोरी देखिएको थियो । सुरुवाती दुई खेलमा बराबरी खेलेको स्पेनले पछिल्लो दुई खेलमा ५–५ गोल गरेको छ । युरोमा लगातार २ खेलमा ५ गोल गर्ने टोलीको कीर्तिमान बनाएको स्पेन सोहि लयलाई कायम राख्न चाहन्छ ।

    स्पेन र स्विट्जरल्यान्ड युरोमा पहिलो पटक आमने सामने हुन लागेका हुन् । यसअघि विश्वकपमा भने यी दुई टोलीले तीन पटक खेल्दै स्पेनले दुई तथा स्विट्जरल्यान्डले एक जित हासिल गरेको थियो । सन् २०१० को विश्वकपमा स्विट्जरल्यान्डले समूह चरणमा स्पेनलाई हराएपनि टोली उपाधि जित्न सफल रहेको थियो । समग्रमा स्पेनले २२ खेलमा स्विट्जरल्यान्डसँग बेहोरेको त्यहि एक हार हो । बाँकी १६ खेलमा जित र ५ खेल बराबरीमा सकिएको छ ।

    स्विट्जरल्यान्डले पछिल्लो दुवै खेलमा ३–३ गोल गरेको छ । फरवार्ड हरिस सेफेरोभिचले २ खेलमा ३ गोल गर्दै प्रभाव जमाएका छन् । यता स्पेनले लगातार दुई खेलमा ५–५ गोल गरेको छ । त्यसअघि ४२ खेलमा स्पनेले ४ गोल भन्दा बढी गर्न सकेको थिएन ।

    यसैबीच युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत दोस्रो क्वाटरफाइनल खेलमा इटाली र बेल्जियम भिड्दैछन् । खेल नेपाली समयअनुसार मध्यरातको १२ः४५ बजे सुरु हुनेछ ।


    बेल्जियम साविक विजेता पोर्चुगललाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । तर उक्त खेलमा टोलीका दुई मुख्य खेलाडीले चोट बोक्न पुगे । लगातार तीन जितको नतिजा निकालेको बेल्जियमसँग बेन्चमा स्तरीय खेलाडीको कमी छैन । प्रतियोगिताको सुरुवातमा यी दुवै उपलब्ध नहुँदा पनि बेल्जियम सहज जित दर्ता गर्न सफल रहेको थियो ।

    इटाली पनि उच्च लयमा रहेको छ । पछिल्लो ३१ खेलमा अपाजित रहेको इटालीले अष्ट्रियालाई पराजित गर्न भने अतिरिक्त समयमा संघर्ष गर्नुपरेको थियो । रोबर्टो मान्सिनीको टोलीमा सबै पक्षको सन्तुलन मिलेको देखिन्छ । पहिलो रोजाइमा पर्न निकै प्रतिस्पर्धा रहेकाले भने उनलाई केहि टाउको दुखाइ पक्कै छ ।


    बेल्जियमका लागि पहिलो खेलमा चोट बोकेका डिफेन्डर टिमोथी कास्टग्ने टोलीमा फर्किएका छन् । थोमस मुनिएरले उच्च प्रदर्शन गरिरहेका कारण उनी खेल्ने कम सम्भावना छ । पोर्चुगलविरुद्ध खेलमा चोट बोकेका मिडफिल्डर केभिन डे ब्रुएन र कप्तान इडेन हाजार्ड खेल्नेमा शंका छ । हाजार्डले प्रतियोगिता नै गुमाउने डर छ भने डे ब्रुएनको अवस्था खेलअघि अध्ययन गरिनेछ ।

    इटालीका लागि कप्तान जिओर्जियो किएलिनी दुई खेल गुमाएपछि छनोटका लागि उपलब्ध छन् । समूह चरणको दोस्रो खेलमा मांशपेसीमा समस्या देखिएपछि उनी विश्राममा रहेका थिए । डिफेन्डर एलेसान्द्रो फ्लोरेन्जी पनि चोटका कारण विश्राममा रहेपछि टोलीमा फर्केका छन् ।


    इटाली र बेल्जियमले यसअघि ठूलो प्रतियोगितामा चार पटक खेलेका छन् । जसमा इटालीले तीन खेल जित्दा अर्को खेल बराबरीमा सकिएको छ । इटालीले युरो २०१६ को समूह चरणमा २–० को जित हासिल गरेको थियो ।

    युरो २०१६ मा बेल्जियम वेल्ससँग ३–१ ले पराजित हुँदै क्वाटरफाइनलबाट बाहिरिएको थियो । पछिल्लो १३ खेलमा बेल्जियमले ११ जित र दुई बराबरीको नतिजा निकालेको छ । यसक्रममा टोलीले ३२ गोल गर्दै ८ गोल खाएको छ । पछिल्लो २७ खेलमा बेल्जियमले जम्मा १ खेलमा हार बेहोरेको छ ।

    इटालीले लगातार चौथो पटक युरोको क्वाटरफाइनलमा स्थान बनाएको हो । पछिल्लो तीन संस्करणमा इटालीको क्वाटरफाइनल खेल टाइब्रेकरमा पुगेको छ । सन् २००८ मा स्पेनसँग पराजित इटालीले सन् २०१२ मा इंग्ल्यान्डलाई हराएको थियो । सन् २०१६ मा भने जर्मनीले इटालीलाई पराजित गरेको थियो ।

    इटाली पछिल्लो ३१ खेलमा अपराजित छ । यसक्रममा पछिल्लो १२ खेलमा जित हासिल गरेको इटालीले ३४ गोल गर्दै जम्मा १ गोल खाएको छ ।

    सम्बन्धित समाचार