उच्च अदालत बिराटनगर इलाम इजलासको परिसर भित्र सोमबार बिहान मृत फेला परेकी महिलाको हत्यामा संलग्न भएको अभियोगमा नेपाल प्रहरीका असई पक्राउ परेका छन् । सोलुखुम्बुको सल्यान गाउँपालिका घर भई इलाम नगरपालिका वडा नम्बर ७ मा भाडामा बसोबास गरी सोही कार्यालयमा कार्यरत ४८ वर्षीया विमला देवी निरौला पराजुली
२८ गते सोमबार बिहान अन्दाजी ७ बजेको समयमा कार्यालय परिसरमा मृत फेला परेकी थिइन् । संघीय प्रहरी इकाई धरानबाट तालिम प्राप्त कुकुर सहितको विशेषज्ञ टोली झिकाई अनुसन्धान गर्ने क्रममा सोही कार्यालयमा सुरक्षा गार्डको रुपमा कार्यरत प्रहरीका असई ३५ वर्षीय युवराज बाँनियाको संलग्नता रहेको देखिएसंगै बाँनिया पक्राउ परेका हुन्।
घटना सार्वजनिक भए लगत्तै जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठ सहितको प्रहरी टोलीले घटनाको बारेमा अनुसन्धान शुरु गरेको थियो । धनकुटाको होलीखर्क–५, घर भएका असई बानियाको दरबन्दी माइजोगमाई गाउँपालिकास्थित नामसालिङ प्रहरी चौकीमा रहेको भएपनि दुई वर्ष यता उनी सो अदालतमा कार्यरत थिए ।
पक्राउ परेका बानियाले उक्त घटनामा आफ्नो संग्लग्नता रहेको स्वीकार गरेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।