अवैध गर्भ बोकेर जन्माएको बच्चाको आमाले नै हत्या गरिन् 

अवैध गर्भ बोकेर जन्माएको बच्चाको आमाले नै हत्या गरिन् 

  • श्रावण १, २०७८ शुक्रवार
  • १४:५३:२७ बजे
  • 2.4K
    SHARES
  • अवैध गर्भ बोकेर जन्माएको बच्चाको आमाले नै हत्या गरिन् 

    काठमाडौं : मोरङको रंगेली नगरपालिमा एक परिवारका चार सदस्यलाई प्रहरीले पक्राउ ग¥यो । भर्खरै जन्मेको बच्चालाई मिलेमतोमा हत्या गरेको आरोप उनीहरूमाथि थियो ।


    हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ पर्नेमा बच्चाकी आमा रंगेली नगरपालिका–५ आँपगाछी टोल बस्ने २५ वर्षीया खुस्वु मण्डल, उनका बुबा ५० वर्षीय नागेश्वर मण्डल, उनकी आमा ४८ वर्षीय उर्मिला मण्डल र उनका श्रीमान् २८ वर्षीय अरुण मण्डल छन् । आइतबार राति खुस्वुले छोरी जन्माएपछि ब्ल्याङ्केटले घाँटी थिची हत्या गरेपछि उनकै आमाबुबाले सञ्चालन गर्दै आएको रंगेली नगरपालिका–५ चाँदनीचोकस्थित मदिरा पसलभित्र खाल्डो खनि गाडेको प्रहरीले जनाएको छ ।

    यसअघि अभियुक्तहरूले छोरी जन्मिएका कारण हत्या गरेको बयान दिएर प्रहरीलाई झुक्याएका थिए । तर, घटनाको वास्तविक कारण भने अर्कै रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार नवजात शिशुको हत्याको कारण खुस्वुको परपुरुषसँगको सम्बन्ध हो ।

    दुई वर्ष अगाडि खुम्वुका श्रीमान् अरुण काम गर्न भारत गएका थिए । गएदेखि घर आएका थिएनन् । गत चैतमा भारतमा कोरोना संक्रमण बढ्न थालेपछि अरुण घर आए । तर श्रीमान् घर आइपुग्दा खुस्वुको गर्भमा ५ महिनाको बच्चा थियो । श्रीमान्ले उक्त गर्भ आफ्नो भएको स्वीकार नगरेपछि उनीहरूबीच विवाद भएको थियो । अरुणले घटना बाहिर ल्याउनुभन्दा गर्भपतन गराउन चाहे ।

    नेपालमा लकडाउन भएपछि उनीहरूले गर्भपतन गराउन पाएनन् । माइतीमा बसिरहेकी खुस्वुले अरुण घर आएको ३ महिनापछि आइतबार साँझ छोरी जन्माइन् । श्रीमानले बच्चा नस्वीकारेपछि खुम्बुको माइतीको आमाबुबा र श्रीमानको मिलेमतोमा राति नै ब्ल्याङ्केटले घाँटी थिचेर हत्या गरी खुम्बुको बुबाको मदिरा पसलमा शव गाडेको जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपक श्रेष्ठले बताए ।

    उनले भने, ‘श्रीमान् विदेशमा थिए । चैतमा उनी परपुरुषसँगको सम्बन्धमा रहेर बच्चा बसेपछि परिवारै मिलेर हत्या गरेको देखिन्छ ।’

    रंगेली नगरपालिकाका–५ आँपगाछीका वडाध्यक्ष महानन्द मण्डलका अनुसार आइतबार राति शिशुको हत्या गरेको घटना लुकाए पनि बिहानै गाउँमा गाइँगुइँ चलेको थियो । शिशुको हत्या भएको हुनसक्ने आंशकामा स्थानीयले प्रहरी बोलाएका थिए । प्रहरीसामु खुस्वुको बुबाले हत्या गरेको स्वीकारे पनि शिशुको शव खोलामा बगाइदिएको भन्दै प्रहरीलाई झुक्याए ।

    प्रहरीको टोलीले खोला किनारमा झण्डै डेढ घण्टासम्म शव खोज्दा नभेटाएपछि दोस्रो चरणको अनुसन्धान गरेको थियो । खुस्वुकी आमा उर्मिला मण्डलले शिशुको शव आफैं मदिरा पसलमा खाल्डो खनेर पुरेको बताएपछि उक्त घटना थप खुल्दै गएको हो ।

    वडाध्यक्ष मण्डलले नेपाल प्रेससँग भने, ‘श्रीमान् विदेशमा कमाउन गएको बेला श्रीमतीको गाउँकै युवकसँग अवैध सम्बन्ध रहेछ । गत मंसिरमा गाउँमा बिहेमा जाँदा उनीहरूबीच शारीरिक सम्पर्क भएपछि बच्चा बसेको भनेर खुस्वु आफैंले भनेकी छन् ।’

    ती युवक र खुस्वुको पहिलेदेखि नै सम्बन्ध रहेको प्रहरीसमक्ष उनले बताएकी छन् । वडाध्यक्ष मण्डलले श्रीमान्लाई अवैध सम्बन्धबारे जानकारी भएपछि दिनहुँजसो झगडा हुने गरेको बताए । अरुलाई शंका नहोस् भनेर बच्चा जन्मनेवित्तिकै श्रीमान् र बुबाआमा मिलेर हत्या गरी शव गाडेको उनले बताए ।

    खुस्बुका २ छोरी छन् । उनीसँग सम्बन्धमा रहेका युवक पनि पक्राउ परिसकेका छन् ।

    जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले उनीहरूउपर कर्तव्य ज्यान कसुरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए । नेपाल प्रेस 

  • सम्बन्धित विषय:

  • # अवैध गर्भ
  • # बच्चा
  • # आमा
  • # हत्या

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार