बागलुङ : नेपाली काँग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको ३९ औं स्मृति दिवस बुधवार बागलुङमा पनि विशेष कार्यक्रम गरि मनाइएको छ ।
दिवसको अवसरमा बागलुङ नगरपालिका–१ रामरेखामा रहेको निर्माणाधिन विपि स्मृति पार्कमा सरसफाई तथा गोडमेल गरिएको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य रत्ना शेरचनले विपि कोइराला नेपाली राजनितिको एक युग पुरुष रहेको बताईन । उनले काँग्रेसले विपिका सिद्धान्तलाई आत्मसाथ गर्न नसकेकोमा चिन्ता व्यक्त गरिन ।
शेरचनले नेपाली काँग्रेस आफ्नो चाहना भन्दा पनि जनताको चाहना अनुसार सरकारमा गएको र जनताकै पक्षमा महत्वपुर्ण काम गर्ने बताईन ।
कार्यक्रममा नेपाली काँग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य किरणराज पौडेलले काँग्रेस अहिले विपिको बाटोमा हिड्न नसकेकोमा चिन्ता व्यक्त गरेका थिए । उनले यदी बलियो काँग्रेस बनाउनका निम्ती पार्टी भित्र सुदृढिकरण हुन जरुर रहेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति दिपेन्द्रबहादुर थापा, पुर्व सभापति एवं संविधान सभा सदस्य प्रकाश शर्मा पौडेल, नेपाल महिला संघका केन्द्रिय सदस्य पार्वती आचार्य लगायतले काँग्रेसले विपिको सिद्धान्तलाई आत्मसाथ गर्न नसकेकोमा चिन्ता व्यक्त गरेका थिए ।
कार्यक्रम नेपाली काँग्रेस बागलुङ नगरपालिका–१ का सभापति तेजेन्द्र आचार्यको अध्यक्षता नगर सभापति महेन्द्र आचार्यको स्वागत र शम्भु आचार्यको संचालनमा सम्पन्न भएको थियो ।
७० लाख लागतमा निर्माण हुन लागेको विपी स्मृति पार्कमा २० लाख रुपैयाँ खर्च भै सकेको छ भने हाल पार्कमा मन्दिर र तारजाली गरिसकिएको पार्क निर्माण समितिको संयोजक महेन्द्र आचार्यले जानकारी दिए । पार्क निर्माणका लागि केन्द्र, प्रदेश सरकार र विभिन्न व्यक्तीहरुबाट सहयोग भएको छ ।

स्मृति दिवसको अवसरमा जिल्ला अन्य स्थानिय तहले पनि बृक्षारोपण लगायतका कार्यक्रम गरेका छन ।
प्रजातान्त्रिक आन्दोलनका अगुवा उनले कांग्रेस पार्टीको स्थापना गरी राणा शासनको अन्त्य गर्न नेतृत्वदायी भूमिका खेलेका थिए । उनी २०१५ को आम निर्वाचनपछि पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । जीवनभर प्रजातन्त्र र मानवअधिकारका लागि लडेका कोइरालालाई दूरदर्शी राजनेताका रुपमा स्मरण गरिन्छ । ३२ वर्षको उमेरमा नेपाली राष्ट्रि«य कांग्रेस स्थापना गरी राणाविरुद्व क्रान्तिको सुत्रपात गरेका वीपी २००७ सालको क्रान्तिका शीर्ष नेता थिए ।
जुन क्रान्तिको बेलमा १०४ वर्षे राणा शासनको अन्त्य भएको थियो । क्रान्तिपछि संविधानसभा निर्वाचन मार्फत् प्राप्त उपलब्धिको रक्षा गर्ने मार्गचित्र बनेको थियो तर राजा कुनै हालतमा संविधानसभामा चुनाव गराउन तयार नभएपछि बिपीले संसदको चुनाव स्विकारे । २०१५ सालको आम चुनावमा नेपाली कांग्रेसलाई दुईतिहाई बहुमत दिलाएर पहिलो जननिर्वाचित प्रधानमन्त्री बने ।
बिपी नेतृत्वको सरकारले बिर्ता उन्मुलन, वनको राष्ट्रि«यकरण, क्रान्तिकारी भूमिसुधार, वैज्ञानिक कर प्रणाली लागू गरेको थियो ।