बागलुङ : नेपाली काँग्रेसको भातृ संस्थाको रुपमा रहेको नेपाल महिला संघ बागलुङले आफ्नो ७४ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ ।
संघले नगरपालिका–१ रामरेखामा रहेको वीपी स्मृति पार्कमा रहेका फलफुलका विरुवा गोडमेल गर्नुका साथै सरसफाई गरेको थियो । कार्यक्रममा बोल्दै संविधान सभा सदस्य एवं नेपाली काँग्रेस बागलुङका पुर्व पार्टी सभापति प्रकाश शर्मा पौडेलले नेपाली राजनीतिको पहिलो महिला अधिकारवादी संस्था तथा राजनीतिक सङ्गठन नेपाल महिला संघ भएको बताए ।
पौडेलले प्रजातान्त्रिक, लोकतान्त्रिक तथा गणतान्त्रिक राज्य व्यवस्था एवम् मूल्य पद्धतिको स्थापनाको महिला संघको ठुलो भुमिका रहेको बताए ।
‘नेपालको राजनिति परिवर्तनका निम्ती महिलाहरुको आन्दोलन निकै ठुलो महत्व बोकेको छ पौडेलले भने,–‘महिलाहरु चुलो चौकामा मात्र सीमित नभएर राजनीतिमा र सामाजिक कार्यमा सक्रिय हुनै नै समाज परिवर्तनका लागि सहजतका बाटो भएको हो ।

कार्यक्रममा पुर्व राज्यमन्त्री चम्पादेवी खड्का, नेपाली काँग्रेस बागलुङका सचिव नवराज पौडेल, महासमिति सदस्य कल्पना हमाल पाठक लगायतले नेपालको हरेक राजनिति परिवर्तनका लागि महिलाहरुको महत्वपुर्ण भुमिका रहेको बताए । नेपाल महिला संघ तत्कालिन महिला नेतृ स्व. मंगलादेवी सिंहको सकृयतामा वि.सं. २००४ सालमा स्थापना भएको थियो ।
२००४ साल श्रावण २४ गते तदनुसार १९४७ अगष्ट ८ का दिन मंगलादेवी सिंहको सक्रियतामा भेडासिंस्थित चिनियालाल श्रेष्ठको घरमा भूमिगत रुपमा महिला भेला भई मंगलादेवी सिंहको अध्यक्षतामा नेपाल महिला संघको पहिलो ११ सदस्यीय तदर्थ कार्यसमिति गठन भएको थियो । नेपाल महिला संघले यसैलाई आफ्नो स्थापनाको मिति मान्दै आएको छ ।
महिला अधिकार तथा महिलावादमा केन्द्रित राजनीतिक संगठन स्थापना भएको यो दिनलाई नै राजनीतिमा नेपाली महिलाहरुको प्रवेशका लागि कोषेढुङ्गा तथा आधारस्तम्भका रुपमा लिन सकिने नेपाल महिला संघ बागलुङका अध्यक्ष शकुन्तला शर्माले बताईन ।
कार्यक्रम संघका अध्यक्ष शर्माको अध्यक्षता सचिव भगवती केसीको स्वागत र उषा पौडेलको संचालनमा सम्पन्न भएको थियो ।
