बागलुङ : नेपाल पत्रकार महासंघ बागलुङको २१ औं स्थापना दिवस शुक्रबार बागलुङमा सम्पन्न भएको छ । कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट स्थापना दिवस मनाईएको हो ।
स्थापना दिवसको सन्दर्भ पारेर पत्रकार महासंघ बागलुङले आफ्नो अफिसियल वेवसाईट सार्वजनिक समेत गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले वेवसाईट सार्वजनिक गरेका हुन् । कार्यक्रमा बोल्दै मुख्यमन्त्री पोख्रेलले नेपालको हरेक परिवर्तन र गणतन्त्रको स्थापनाका लागि नेपाली पत्रकारिता जगतले ठूलो भूमिका खेलेको बताए । उनले गण्डकी प्रदेश सरकार र पत्रकारहरुको बीचमा सधैं सहकार्य रहने बताए ।
‘पत्रकारिता र सरकार सधैं एक अर्काका परिपुरक हुन्,’ उनले भने,‘कहिलेकाँही सरकारबाट कमजोरीहरु नदेखिन सक्छन् । त्यस्तो अवस्थामा पत्रकारिताको माध्यमबाट स्वस्थ आलोचना गरेर सरकारलाई मार्गदर्शन गर्ने काम गर्नुपर्छ ।’ उनले पत्रकारको संस्थागत र क्षमता विकास लागि गण्डकी प्रदेश सरकारले बजेट विनीयोजन गरेको समेत जानकारी दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्माले गण्डकी प्रदेशका ६ वटा जिल्लामा जिल्ला शाखाको भवन निर्माणका लागि गण्डकी प्रदेश सरकरसंग समन्वय गरेर बजेट विनीयोजन गरेको जानकारी गराए ।
उनले लुम्बिनीमा प्रदेश सरकारले संविधानसंगै बाझिने कानुन ल्याएर प्रेस स्वतन्त्रतामाथि अंकुस लगाउने काम गरेकोले गण्डकी प्रदेश र अन्य ठाउँहरुमा त्यस्तो नहोस् भन्नका लागि चनाखो भएर समन्वय र खबरदारी गर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका निवर्तमान अध्यक्ष दिल शिरीषले बागलुङको पत्रकार महासंघका संस्थागत विकासका लागि भवन निर्माण भएको र आगामी दिनमा व्यवसायिक पत्रकारिताको विकासका लागि क्षमता विकासका कार्यक्रममा ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका गण्डी प्रदेश सदस्यहरु ताराप्रसाद शर्मा, प्रकाश छन्त्याल, रञ्जिता शर्मा लगायतले बोलेका थिए । नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष नरेश कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष नविन शिशिर विक र सञ्चालन सचिव विजय रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।