बागलुङ : गत सोमबार राती जिल्लाको गलकोटमा नगरपालिका–७ मल्म गैराखर्कमा घरेलु मदिरा (लोकल रक्सी) सेवन गरेर मृत्यु भएका चार जना मदजुरको शव परिवारको जिम्मा लगाईएको छ ।
मल्ममा रहेको बृहत खानेपानी आयोजनामा काम गर्ने मजदुरहरुको घरेलु मदिराकै कारण सोमबार साँझ विरामी परेको र धौलागिरि अस्पताल बागलुङ ल्याउँदै गर्दा मृत्यु भएको थियो । उनीहरुको शव पोष्टमार्टम पश्चात परिवारलाई जिम्मा लगाईएकोे जिल्ला प्रहरी कार्यालय बागलुङ प्रहरी प्रवक्ता इकबाल हवारीले जानकारी दिए । घरेलु मदिरा सेवन गर्दा ४ जनाको मृत्यु भएको थियो भने २ जना गम्भिर विरामी थिए । उनीहरुको पोखरामा उपचार भैरहेको र स्वास्थ्य सुधार भैरहेको हवारीले जानकारी दिए ।
मदिरा सेवनबाट रोल्पा सुनिल स्मृति गाउँपालिका–५ का २१ वर्षीय दिपेन्द्र पुन, सोही स्थानका ३९ वर्षीय दुधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तिको धौलागिरि अस्पतालमा उपचारका क्रममा ल्याउँदै गर्दा मृत्यु भएकोे थियो ।
त्यसैगरी सोही स्थानकै ३८ वर्षिय खेमराज घर्ती र २६ वर्षीय रविन्द्र पुनको गम्भिर विरामी भएका थिए । विरामी परेका घर्ति र पुनलाई धौलागिरि अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि पोखरा पठाईएको थियो ।
खानेपानी आयोजनामा काम गर्दै आएका १४ जना मजदुरमध्ये ६ जना मजदुरले लोकल रक्सी सेवन गरेका थिए । स्थानीय भद्रबहादुर थापाले सञ्चालन गरेको मिलन किराना पसलबाट ८ बोतल रक्सी, चाउचाउ, दालमोट र विस्कुट खाएर विरामी परेको प्रहरीले जनाएको छ । यसको थप अनुसन्धान भैरहेको छ । मजदुरहरुले खाएको रक्सी र अन्य खाद्य पदार्थको ल्याब परीक्षणका लागि काठमाण्डौ पठाईएको हवारीले जानकारी दिए ।
प्रहरीले मदिरा व्यापारी भद्रबहादुर थापालाई नियन्त्रणमा ल्याएर थप अनुसन्धान अगाडि बढाएको छ ।