बागलुङ : जिल्लाको काठेखोला गाउँपालिकाले जिल्लामा पहिलो ‘डिजीटल प्रोफाईल तयार गरेको छ ।
गाउँपालिका भित्रको यथार्थ वस्तुस्थीतिको तथ्याङ्क सहित डिजीटल प्रोफाईले तयार पारिएको हो । गाउँपालिकाको विकासका लागि तथ्याङ्क आवश्यक पर्ने भएका कारण त्यसलाई नियमित अपडेट गर्न सक्ने गरी ‘डिजीटल’ माध्यमबाट तयार गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिको भित्रका हरेक घरधुरीको यथार्थ विवरण संकलन गरी प्रोफाईल तयार गरिएको हो ।
उक्त प्रोफाईल बिहीबार एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको छ ।
गाउँपालिकाले २५ लाख रुपैयाँ खर्चेर डिजीटल प्रोफाईल तयार पारेको काठेखोला गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत चुर्णबहादुर कार्कीले बताए ।
‘हामीले २५ लाख रुपैयाँ खर्चेर गाउँपालिकाको यथार्थ विवरण समावेश गरेको गाउँपालिका प्रोफाईल तयार गरेका छौं,’ उनले भने,‘यसले गाउँपालिकाको योजना निर्माण गर्ने विषयमा ठूलो सहयोग पुग्नेछ ।’ गाउँपालिका अध्यक्ष अमर थापाले डिजीटल प्रोफाईलमा गाउँपालिकाका सम्पूर्ण विवरण अपडेट गरिने बताए ।
‘अब संसारको जुनसुकै कुनामा बसे पनि काठेखोला गाउँपालिकाका सार्वजनिक चासोका विषयहरुमा कम्प्युट क्लिक गरेर हेर्न सकिनेछ,’ उनले भने,‘अहिले हामीले यो सार्वजनिक मात्रै गरेका छौं । अझै धेरै जानकारी र सूचनाहरु यसमा अपडेट गर्न बाँकी छ ।’ डिजीटल प्रोफाईल अपडेटका लागि गाउँपालिकाले वडाका कर्मचारीलाई तालिम दिएको समेत बताए । ‘यो यो प्रोफाईलमा गाउँपालिका भित्रका हरेक नागरिकको अवस्थाको बारेमा पनि विवरण तयार गरिएको छ,’ उनले भने,‘यसले गाउँपालिकाको आर्थिक सामाजिक अवस्थाको बारेमा चित्रण गर्नेछ । हामीले त्यसका आधारमा गाउँपालिकाको योजना कार्यक्रम केन्द्रीत गरेर लान्छौं ।’
प्रोफाईल निर्माण कम्पनी जि फोर ईन्जिनियरिङ कम्पनीका गंगाराम रेग्मीले प्रोफाईलमा गाउँपालिका भित्रका सार्वजनिक चासोको मात्रै नभई जनसंख्याको व्यक्तिगत, आर्थिक सामाजिक अवस्थाको बारेमा समेत प्रोफाईल तयार पारिएको बताए । ‘यसलाई गाउँपालिकाले राम्रोसंग चलाउन सक्यो भने निकै राम्रो काम भएको छ,’ उनले भने,‘यसमा गाउँपालिकाका हरेक विषयसंग सम्बन्धित डाटा राखिएको छ । केही छुट भएको भए पनि त्यसलाई समावेश गर्न सकिन्छ ।’
सार्वजनिक कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष नविन शिशिर विकले गाउँपालिको जिल्लामै उदाहरणीय कार्य गरेको भन्दै अब डिजीटल प्रोफाईलले देखाएको अवस्था अनुसारको योजना तयार गरेर गाउँपालिकाको समृद्धि लाग्न आग्रह गरे ।
काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रमुख प्रशासकिय अधिकृत चुर्णबहादुर कार्की र सञ्चालन मनोज कार्कीले गरेका थिए ।