राजन रेग्मी
बागलुङ : कोरोना कहरको समयमा बागलुङको दुर्गम पालिका निसीखोला गाउँपालकाको एम्बुलेन्स बिग्रेर थन्किएको छ ।
निसी स्वास्थ्य चौकीको नाममा रहेको ध १ झ २ नम्बरको एम्बुलेन्स स्वास्थ्य समिति र चालकबीचको विवादका कारण थन्किएको हो । चालक र समितिबिच ५ हजार भन्दा बढीको मर्मत गर्नुपर्ने भएमा समितिलाई जानकारी गराउने पर्ने सम्झौता भएको भए पनि चालकले सम्झौता विपरित १ लाख १७ हजार मर्मत खर्च भन्दै आफूखुसी एम्बुलेन्स मर्मत गरेकोे भन्दै विवाद सिर्जना भएको थियो ।
निसीका स्वास्थ्य समिति संयोजक सूर्यबहादर घर्तीका अनुसार एम्बुलेन्स चालक रिकबहादुर विकले आफ्नो मनखुुसी सवारी साधन मर्मत गरेको कारणले यस्तो भएको बताएका छन् ।
घर्तीले भने ‘ स्वास्थ्य समिति र एम्बुलेन्स चालकबिच सम्झौता भएको थियो, सवारी चालकले मासिक १० हजारका दरले समितिलाई रकम बुझाउनुपथ्र्याे, समितिले त्यो रकम पनि पाएको छैन । यस्तै हामीले सम्झौतामा भनेको छौँ कि ५ हजार भन्दा बढी रकमको मर्मत गर्नु अगावै समितिलाई जानकारी गराउनुपर्ने थियो । तर, सवारी चालकले आफ्नो मनलाग्दी बिल बनाउने काम गरे ।
एम्बुलेन्स चालकका कारण एम्बुलेन्स अहिले सञ्चालनमा ल्याएका छैनौँ ।’ पालिकाले चालकलाई दिनुपर्ने रकम सबै दिइसकेको जनाएको छ ।
आफूहरु निर्वाचित नहुँदै जनस्वास्थ्य कार्यालय अन्तर्गतको एम्बुलेन्सको मर्मतका नाममा एम्बुलेन्स चालकले मनपरी ढङ्गबाट बिल बनाउने काम गरेको गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताए । एम्बुलेन्स सञ्चालनका लागि आफूहरुले करिब ३ लाख रुपैया दिइसकेको पौडेलले बताए । उनले भने ‘ हामीले एम्बुलेन्स चालकले दिएको बिल अनुसार भुक्तानी दिइसकेको छौँ ।’ भन्छन् ‘ चालकले संस्थालाई मासिक १० दिने सम्झौता त कहाँ हो कहाँ उल्टो बिल बुझाए अनुरुपको रकम लिइसकेका छन् । ’
तीन वर्ष यता एम्बुलेन्स सञ्चालनमा छैन तर, गाउँपालिकाले विवाद समाधान नगरी भाडाको एम्बुलेन्सको नाममा १४ लाख निकासा गरेको एम्बुलेन्स चालक रिमबहादुर विकले जानकारी दिए ।
रिमबहादुर भन्छन्‘ पालिकाले पुरानो सवारी बनाउन जोड दिएको छैन, उल्टो विभिन्न बाहाना बनाएर पालिकाले आफ्नो एम्बुलेन्स मर्मत नगरेर कोरोना महामारीमा एम्बुलेन्स भन्दै १४ लाख लिएको छ । पालिकाले आफ्नो सवारी बनाउने, विवाद मिलाउने त परको कुरा भयो उल्टो लाखांै रकम एम्बुलेन्सको नाममा खर्च गरेका छन् ।
विवादका कारण एम्बुलेन्स अहिले ढोरपाटन नगरपालिकाको बुर्तिवाङमा थन्किइरहेको छ ।
चालकले एम्बुलेन्स मर्मतको रकम गाउँपालिकाबाट नपाउँदा एम्बुलेन्स चलाउन छोडेका बताएका छन् । तर, पालिकाले भने आफ्नो एम्बुलेन्स मर्मत गर्न कुनै चासो दिएको छैन ।
गाउँपालिको कोरोना संक्रमितको ओसार पसारका लागि भाडाको एम्बुलेन्स प्रयोग गर्ने गरेको छ ।