लुम्बिनीका तीन मन्त्री सांसदबाट पदमुक्त

लुम्बिनीका तीन मन्त्री सांसदबाट पदमुक्त

  • श्रावण १५, २०७८ शुक्रवार
  • १८:०५:१० बजे
  • 1.9K
    SHARES
  • लुम्बिनीका तीन मन्त्री सांसदबाट पदमुक्त

    बुटवल : लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) का तीन जना सांसद पदमुक्त भएका छन् ।

    प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको जानकारी दिएका हुन् । सांसदबाट पदमुक्त भएका तीनै जना मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा मन्त्री छन् ।


    जसपाको उपेन्द्र यादव पक्षकै निर्णयका आधारमा १४ वैशाखमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयसँगै सुमन शर्मा रायमाझी पदमुक्त भएका थिए ।

    तर सर्वोच्च अदालतले ३ जेठमा आफ्नो पक्षमा आदेश दिएपछि उनीहरु फेरि प्रदेशसभामा फर्किए । १८ असारमा रायमाझीले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट राजीनामा दिएर यादव पक्षमा लागिन् । तीन जना महन्थ ठाकुर पक्षमा खुले ।

    ११ साउनमा यादव पक्षले निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता पाएलगत्तै लुम्बिनीका तीन सांसदलाई कारबाही गर्ने निर्णय ग¥यो । पार्टीको निर्णय विपरीत सरकारमा सामेल भएको, दलको ह्वीप उल्लंघन गरेको जसपाको आरोप छ ।

    पार्टीले लगाएको ह्वीप उल्लंघन गरेपछि उनीहरुलाई गत जेठ ३० गते स्पष्टीकरण सोधिएको र त्यसको चित्तबुझ्दो जवाफ नदिएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार कारबाही गरेको जसपा संसदीय दलका नेता सहसराम यादवले बताए ।

    प्रदेशसभा सदस्य र पार्टी सदस्य समेत नरहने गरी कारबाही गरेको पत्र जसपा संसदीय दलमार्फत आएकाले राजनीतिक दलसम्बन्धी ऐनअनुसार सभामुखले तीन सांसदलाई पदमुक्त गरेको सूचना टाँस्न लगाएको सूचनामा उल्लेख छ ।

    jasapa-3-samsadlai-karabahi.jpg

    सम्बन्धित समाचार