बागलुङ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड नेपाल समूहका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यसत्ताको चरम दुरुपयोग गर्ने चाहना पूरा गर्न संसद विगघटन गरेका बताएका छन् ।
आइतबार आफ्नो समुहको कास्की जिल्लास्तरीय प्रशिक्षण भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीमा चरम राज्यसत्ताको चाहना रहेकाले त्यसका लागि पार्टी र संसद बाधक देखेर पार्टी विभाजन र संसद विघटन गरिदिएको उनले बताए ।
‘प्रधानमन्त्री एवं हाम्रो निवर्तमान अध्यक्ष केपी ओलीमा चरम सत्ता दुरुपयोगको चाहना छ । आफ्ना असेपासे र मनलागेका जोसुकै मान्छेलाई आफ्नो घेरामा राखिरहन पद पु¥याउनु पर्ने छ ।
उहाँको त्यो चाहना संसद र पार्टीबाट पुरा नहुने देखेपछि पार्टी विभाजन गर्नुभयो र संसद नै विघटन गरिदिनुभयो,’ उनले भने । नेता पौडेलले ओलीले देश र पार्टीलाई भड्खालोमा हालेको आरोप लगाए ।
‘उहाँले आफ्नो स्वार्थ पूरा गर्न विदेशीको गोटी बनेर देश र पार्टीलाई भड्खालोमा हाल्नुभयो’–उनले भने । पौडेलले ओली पहिलेको अञ्चालाधीशजस्तै भएको टिप्पणी गरे ।
पहिले पहिले अञ्चलाधीश सर्वैसर्वा हुन्थ्यो र अरु कसैले भनेको टेर्दैनथ्यो,उनले भने,‘अहिले ओलीपनि त्यसै गर्दैछन्, ओलीले अञ्चलाधीशकै पदचाप पछ्याएका छन् ।’
ओलीले जनताप्रति गरेको बाचा र प्रतिबद्धताप्रति बेईमानी गरेको उनको भनाई छ । चुनावताका सुखी नेपाली, समृद्ध नेपाललगायतका बाचाबाट ओली भागेर भ्रष्टाचारमा चुर्लुम्म डुबेको उनले आरोप लगाए ।
यति होल्डिङ, सुन काण्ड, वाईडवडीदेखि बुढीगण्डकीलगायतका काण्ड मच्चाएर ओलीले देश लुटिरहेको उनको आरोप छ । नेता पौडेलले ओली समूहले चुनाव भए एउटा वडामा पनि चुनाव नजित्ने दाबी गरे ।
उहाँ चुनाव गराउने पक्षमै हुनुहुन्न,उनले भने, ‘यदि निश्पक्ष चुनाव भए उहाँहरुले एउटा वडामापनि जित्नु हुन्न ।’ उनले अहिले ओली पक्षकाले धम्क्याउनसमेत थालेको आरोप लगाए ।
मलाई अस्ति ओली पक्षका आएर धम्क्याउनु भो, उनले अगाडि भने, ‘तपाईंले ग्रामीण पोलिटिक्स नै गर्ने होला । हेरौंला कसरी गर्नुहुँदो रहेछ भन्नुभो ।’
उनले ओली पक्षकाले बाटो ढुक्ने, तर्साउने, धम्क्याउने गर्नसक्ने भन्दै त्यसको अगाडि नडराई क्रान्तिको विगुल फुक्न गाउँगाउँ आफूहरु पुग्ने बताए ।
प्रधानमन्त्री ओलीमा आलोचनात्मक चेतसमेत नरहेको र असहिष्णुपनि रहेको आरोप लगाए । २५ वर्ष अगाडि कसैले उनीबिरुद्ध कुरा गरेको रहेछ भने डायरी पल्टाउँदै बदला लिने बानी ओलीमा रहेको उनको भानाई थियो ।
नेकपाका केन्द्रीय सदस्य तुलबहादुर गुरुङले ओलीको अहमता र अधिनायकवादविरुद्ध डटेर सामना गर्न कार्यकर्तालाई निर्देशन दिए । उनले गलत प्रवृत्तिका विरुद्ध डटेर लड्नुपर्नेमा जोड दिए ।
केन्द्रीय सदस्य तथा कास्की ईञ्चार्ज राजकाजी गुरुङले संसद विघटन गरेर ओलीले संवैधानिक ‘कु’ गर्न खोजेपनि त्यसलाई असफल बनाएरै छाड्ने उद्घोष गरे ।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्यद्वय चुडामणी जंगली र सीता गिरी ओली, कास्की सचिव बखानसिंह गुरुङ, धनराज आचार्यलगायतले बोलेका थिए ।