बागलुङ : सिङगल स्पान प्रविधिमा विश्वकै लामो बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुललाई ‘गण्डकी गोल्डेन ब्रिज’ नामाकरण गरिएको छ । पुलको संरक्षणकर्ताको रुपमा रहेको बागलुङ नगरपालिकाको कार्यपालिका बैठकले बाङ्गेचौरबाट पर्वतको अदुवाबारी जोड्ने झोलुङ्गे पुलको नाम गण्डकी गोल्डेन ब्रिज नामाकरण गरेको हो । पुलको नयाँ नामसंगै जिल्लामा पर्यटन
भित्राउन सहयोग पुग्ने नगरपालिकाको विश्वास रहेको छ । पुलको उद्घाटन गरेर पुलको नामाकरणका लागि नगरपालिकाले आवेदन माग गरेको थियो । पुलको उत्कृष्ट नाम छनोटमा पर्नेलाई रु। २५ हजार राशीको पुरस्कार समेत घोषण गरेको बागलुङ नगरपालिकाले पुलको नाम ‘गण्डकी गोल्डेन ब्रिज’ नेपालीमा ‘गण्डकी सुनौलो झुला’ नामाकरण गरेको बागलुङ नगरपालिका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिए ।
पुलका लागि धेरैले नाम सिफारिस गरे पनि नगरपालिकाको कार्यपालिकामा उत्कृष्ट १० नाम सिफारिस गरेकोमा ‘गण्डकी गोल्डेन ब्रिज’ नाम स्विकृत भएको हो । उक्त पुलको नाम बागलुङ नगरपालिका वडा नम्बर ५ मालिका निवासी निजामती सेवामा कार्यरत नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष घनश्याम सापकोटाले पेश गरेका हुन् ।
बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने कालिगण्डकी नदी माथी निर्माण गरिएको ५६७ मिटर लामो पुल नगरपालिकाले विश्वकै लामो दाबी गर्दै गिनिज बुकमा दर्ता गराउन निवेदन दिएको छ ।