राजनीति

मेहरसिंहसंग हारेकी हारेकी गण्डकी उनकै छोरालाई हराएर गाउँपालिका अध्यक्ष बनिन् 

मेहरसिंहसंग हारेकी हारेकी गण्डकी उनकै छोरालाई हराएर गाउँपालिका अध्यक्ष बनिन् 

  • जेठ ५, २०७९ बिहिवार
  • २०:२३:४३ बजे
  • 8.0K
    SHARES
  • मेहरसिंहसंग हारेकी हारेकी गण्डकी उनकै छोरालाई हराएर गाउँपालिका अध्यक्ष बनिन् 

    बागलुङ : जिल्लाको बडिगाड गाउँपालिकामा पाँच दलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन् । पाँच दलीय गठबन्धनबाट प्रतिनिधित्व गर्दै अध्यक्षकी उम्मेदवार गण्डकी थापा अधिकारीले एमालेबाट उम्मेदवार बनेका राजन पाईजालाई पछि पार्दै गाउँपालिका अध्यक्ष जितेकी हुन् । उनले एक हजार पाँच सय ७२ मतान्तरले पाईजालाई पराजित गरेकी छिन् । थापाले ७ हजार तीन सय ८६ मत ल्याउँदा पाईजाले ५ हजार ८ सय १४ मत पाएका थिए । गत स्थानीय तहमा निर्वाचनमा अधिकारी राजनका बुबा मेहरसिंह पाईजासंग पराजित भएकी थिईन् । त्यतिबेला नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेर निर्वाचनमा गएका थिए । 

    नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चा भिन्दा भिन्दै चुनावी प्रतिस्पर्धामा थिए । गत निर्वाचनमा मेहरसिंह पाईजासंग ५ सय २२ मतान्तरले पराजित भएकी अधिकारीले यो पटक उनकै छोरालाई त्यसको तीन गुणा मतान्तरले पराजित गरेर हिसाब किताब चुक्ता गरेकी छिन् । विगतमा खेलकुदमा लागेका पाईजा आफ्नै बाबु गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि सामाजिक राजनीतिक रुपमा सक्रिय भएका थिए । कोभिड संक्रमणका बेला उनले कमाएको लोकप्रियता देखेर नेकपा एमालेले गाउँपालिका अध्यक्षको टिकट दिए पनि पाँच दलीय गठबन्धनले उनको लोकप्रियतालाई माथ दियो । बडिगाड गाउँपालिका अध्यक्षमा निर्वाचित गण्डकी थापा अधिकारी नेपाली काँग्रेस बागलुङकी जिल्ला सचिव हुन् । 

    स्थानीय निर्वाचन २०७४ मा स्थायी शिक्षकबाट राजिनामा दिएर उनी निर्वाचनमा होमिएकी उनलाई पराजय व्यहोर्नुप¥यो । भर्खर ८÷१० वर्ष पुगेको स्थायी शिक्षकको जागिर छोडेर गाउँपालिका अध्यक्षमा उठेर पराजित भए पनि अहिले उनले त्यसको भर्पाई गरेकी छिन् । गाउँपापालिका उपाध्यक्षमा पनि गठबन्धनकै तर्फबाट राष्ट्रिय जनेमार्चाका भीमसेन वन विजयी भएका छन् । उनले नेकपा एमालेकी मिनकुमारी माझीलाई एक हजार चार सय ३१ मतले पछि पारे । वनले कुल ७ हजार दुई सय ३१ मत ल्याउँदा उनका प्रतिस्पर्धी माझीले ५८ सय मत पाईन् ।

     भीमसेन वन पनि गत स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट अध्यक्षका प्रत्यासी थिए । त्यो बेला उनले एक हजार २ सय ५८ मत पाएका थिए । अहिले गठबन्धनबाट उपाध्यक्षमा निर्वाचित भएमा छन् । गत निर्वाचनमा बडिगाड गाउँपालिका अध्यक्षमा एमालेका मेहरसिंह पाईजा निर्वाचित हुँदा उपाध्यक्षमा नेपाली काँग्रेसका अमरबहादुर श्रीस विजयी भएका थिए । त्यो बेला एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरे पनि एमालेको भोट माओवादी केन्द्रका नेता राजिव घिमिरेमा ट्रान्सफर नहुँदा उपाध्यक्षमा पराजित भएका थिए । 

    bhimsen ban.jpg

    बागलुङमा एक्ली महिला प्रमुख 

    गण्डकी बागलुङको १० पालिकामध्ये एक्ली महिला प्रमुख हुन् । पाँच दलीय गठबन्धनबाट उनले बडिगाड गाउँपालिकामा टिकट पाएकी थिईन् । गण्डकी निर्वाचन जितेपछि बागलुङ जिल्ला महिला बिहीन प्रमुख हुनबाट जोगिएको छ । नेकपा एमालेले कुनै पनि पालिका प्रमुखमा महिला उम्मेदवार बनाएन । गठबन्धनका कारण बागलुङका १० स्थानीय तहको उपप्रमुखमा सबै पुरुष नै पुरुष भएका छन् । गठबन्धनले बडिगाड गाउँपालिका अध्यक्षममा गण्डकीलाई उम्मेदवार बनाउनु बाहेक अन्यत्र सबै ठाउँमा पुरुष नै पुरुष उम्मेदवार बनाएको छ ।

     स्थानीय निर्वाचन २०७९ मा बागलुङका पाँच दलीय गठबन्धन हाबी हुँदा बागलुङका पालिकाको नेतृत्व तहमा महिलाको संख्या न्यून भएको छ । जिल्लाको तमानखोला गाउँपालिकामा गठबन्धन भाँडिएका कारण उपाध्यक्षमा नेपाली काँग्रेसकी हिराकुमारी छन्त्याल विजयी भएकी छिन् । यहाँ काँग्रेस, एमाले, माओवादी केन्द्र एक्ला एक्लै निर्वाचनमा गएका थिए । जिल्लामा सहमती गर्दा गठबन्धनबाट तमानखोला गाउँपालिका काँग्रेस र उपाध्यक्ष नेकपा एकीकृत समाजवादी पार्टीलाई दिने सहमति भए पनि उम्मेदवारी दर्ताको समयमा भाँडिएको थियो । त्यसको फाईदा काँग्रेसलाई पुग्यो र अध्यक्ष उपाध्यक्ष दुबै पद जित्यो । 

    पार्टी फेरेर टिकट, निर्वाचनमा विजयी 

    बडिगाड गाउँपालिकाको वडा नम्बर ५ ग्वालीचौर पालिकामै सबैभन्दा बढि मतदाता भएको वडा हो । गत स्थानीय निर्वाचनमा यहाँ नेपाली काँग्रेसका अर्जुनप्रसाद खरेल विजयी भएका थिए । यस पटक भने नेकपा एमालेले बाजी मारेको छ । नेपाली काँग्रेस भित्रको टिकट वितरणको किचलोको मौका छोपेर एमालेले निर्वाचन जितेको हो । उम्मेदवारी दर्ताकै दिन काँग्रेस छाडेर एमाले प्रवेश गरेका विष्णु प्रसाद आचार्य एमालेबाट वडाध्यक्ष निर्वाचित भएका छन् । नेपाली काँग्रेसबाट वडाध्यक्ष उम्मेदवारको रुपमा हेरिएको उनी अन्तिम समयमा पार्टीले टिकट नदिएपछि उही दिन एमाले प्रवेश गरेर एमालेबाट वडाध्यक्षको उम्मेदवार बनेका थिए ।

     उनले पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका रमेशबहादुर घिमिरले पराजित गर्दै वडाध्यक्ष निर्वाचित भए । आचार्यले एक हजार १२ मत ल्याउँदा घिमिरेले ७९० मत मात्रै प्राप्त गरे । वडा सदस्यहरुमा भने सबै गबठन्धनका उम्मेदवार निर्वांचित भएका छन् । पार्टीबाट वडाध्यक्षको टिकट नपाएपछि एमाले प्रवेश गरेर उम्मेदवार विष्णुप्रसाद आचार्यलाई काँग्रेसकै माथिल्लो तहका नेताहरुको साथ रहेको चर्चा हुने गरेको थियो । 

    बडिगाड गाउँपालिकाका १० वडामध्ये वडा नम्बर १ र ४ गरी दुई वटा राष्ट्रिय जनमोर्चा, वडा नम्बर २, ३ र ५ गरी तीन वटा नेकपा एमाले र वडा नम्बर ४ र १० गरी दुई वटा नेकपा माओवादी केन्द्र र वडा नम्बर ६, ७ र ९ गरी तीन वटा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । 

     

  • सम्बन्धित विषय:

  • # गण्डकी
  • # बडिगाड गाउँपालिका

  • संगम घर्तीमगर

    उहाँ बागलुङ पोस्ट डटकमका कार्यकारी सम्पादक हुनुहुन्छ ।

    सम्बन्धित समाचार