बागलुङ : धौलागिरि बहुमु्खी क्याम्पस बागलुङले उच्च शिक्षामा गुणस्तर मापन प्रमाणपत्रका क्यूएए अन्तिम चरणमा पुगेको छ । २०७४ सालदेखि विभिन्न चरणमा भएको प्रयास अन्तर्गत अन्तिम चरणमा पुगेको हो । सोही चरण अन्तर्गत क्याम्पसले गरेको शैक्षिक भौतिक, जनशक्ति व्यवस्थापन, सरोरकारवालाबीच सम्बन्ध लगायतको विषयमा भएको प्रगति र लक्ष्य प्रत्यक्ष रुपमा अन्तिम अबलोकनका लागि मंगलबारदेखि पिआरटी समिति बागलुङ आईपुगेको छ ।
विदेशी प्रोफेसर सहितको उक्त समुहले क्याम्पसको १२० वटा प्रश्नहरुको नतिजा मापन गरेर सरोकारवालाहरुसंग प्रत्यक्ष भेट संवाद, अन्तरक्रिया गरी क्याम्पसले गरेको प्रगति अनुसारको प्रमाणपत्र दिने क्याम्पस प्रमुख प्रा. डा रामप्रसाद उपाध्यायले बताए । क्यूएए उच्च शिक्षाको गुणस्तर मापन गर्ने प्रणाली हो । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसमध्ये आधा दर्जन क्याम्पसहरुले मात्रै यो प्रमाणपत्र प्राप्त गरेका छन् । धौलागिरि क्याम्पस सहित अन्य केही क्याम्पसहरु अन्तिम चरणमा पुगेको धौलागिरि बहुमुखी क्याम्पसका सञ्चालन समिति अध्यक्ष प्रा.डा. दिनबहदाुर थापाले बताए ।
क्यूएए प्राप्त क्याम्पस उच्च शिक्षा हाँसिल गरेका विद्यार्थीले विश्वको जूनसुकै विश्वविद्यालयमा पनि अध्ययन र अवसरका लागि समान हैसियत राख्नेछन् । प्रत्येक वर्षमा पास आउट हुने विद्यार्थीको आधारमा विश्वविद्यालय अनुदान आयोगबाट सहयोग प्राप्त हुनेछ । सोही अन्तर्गत सोमबार विद्यार्थी गुणस्तर समुह (एसक्युसी) गठन भएको छ ।
यस अगाडि विभिन्न संकाय र वर्षमा गठन भएको समितिका पदाधिकारी तथा सदस्यहरुको भेलाले सुदीप सागर कँडेलको अध्यक्षतामा उक्त समिति गठन गरेको हो । समितिमा उपाध्यक्षमा मुना पौडेल, सचिवमा सुनिल गौतम, सहसचिवमा देवी कँडेल, कोषाध्यक्षमा मोतीप्रसाद पुन रहेका छन् ।
सदस्यहरुमा अविस्मा पाठक, रोशिका गौतम, बिमल रिजाल, उपासना कँडेल सर्वसम्मत चयन भएका छन् । अन्य सदस्यहरु पछि मनोनित गरिने धौलागिरि बहुमुखी क्याम्पस स्ववियु अध्यक्ष मनबहादुर थापा मनिषले बताए ।