बागलुङको धौलागिरि क्याम्पस गेटको सडक कालोपत्रे भएको महिना दिन नपुग्दै भत्कियो 

बागलुङको धौलागिरि क्याम्पस गेटको सडक कालोपत्रे भएको महिना दिन नपुग्दै भत्कियो 

  • श्रावण ४, २०७८ सोमवार
  • १९:४९:४८ बजे
  • 4.3K
    SHARES
  • बागलुङको धौलागिरि क्याम्पस गेटको सडक कालोपत्रे भएको महिना दिन नपुग्दै भत्कियो 

     
    बागलुङ: बागलुङ नगरपालिका—२ धौलागिरि क्याम्पस गेटको सडक कालोपत्रे भएको महिना दिन नपुग्दै भत्किएको छ ।

     मध्ये असारको बर्खे झरीमा काम देखाउन कालोपत्रे गरिएको सडक महिना दिन नपुग्दै भत्किएको हो । बागलुङ नगरपालिकाको चोक सुधार कार्यक्रम अन्तर्गत धौलागिरि क्याम्पस गेट अगाडिको १६० मिटर सडक स्तरोन्नीसंगै कालोपत्रे गरिएको थियो ।

    आरएस निर्माण सेवाले १५ लाख रुपैयाँमा गरेको काम १५ दिन पनि टिक्न सकेन । 

    बागलुङ नगरपालिका उच्च पदस्थ व्यक्तिहरु दैनिक त्यही बाटो आफ्नो घर र आवासबाट कार्यालय ओहोर दोहोर गर्ने गरे पनि क्याम्पस गेटमा सडक कालोपत्रेको नाममा भएको कालोपोत्ने काम नदेख्दा स्थानीयले सास्ती खेप्न बाध्य भएका छन् । 

    बागलुङ नगरपालिकाका नगर प्रमुख जनक राज पौडेल, बागलुङ नगरपालिका–२ का वडा अध्यक्ष जीवन आचार्य तथा नगरपालिकाका योजना अधिकृत तथा सूचना अधिकारी युक्त प्रसाद सुवेदी दिनहुँ त्यही बाटो प्रयोग गरेर कार्यालय जाने फर्कन गर्छन् ।

    तर पनि त्यही चोकको काम गुणस्तरहिन भएकोमा ध्यान दिन सकेनन् । सडक कालोपत्रे गरेको केही दिनमै खाल्डा परेर पानी जम्न थालेको स्थानीय जीवननाथ शर्मा बताउँछन् । 

    नगरपालिकाको चोक सुधार कार्यक्रम अन्तर्गत क्याम्पस गेटदेखि गोल्डेनगेट चोकसम्म सडकको मर्मत तथा चुक सुधार गरिएकोमा अहिले पुरानै अवस्थामा फर्किएको छ । 

     ‘यो केहि समय अगाडि बनेको बाटोको दर्दानाक अवस्था छ । बागलुङ नगरपालिकाका सबैभन्दा पहुँचवाला व्यक्तिहरु यही बाटो भएर हिँड्छन्,’ उनले भने,‘दिनको पटकौ पटक हिँड्ने पहुँचवालाहरुले यो सडकको अवस्था हेदैनन् ।

    उहाँहरुको क्वाटर यही नजिकै छ, तर खै उहाँहरुले नदेख्नु भएको होकी नदेखेझै गर्नु भएको हो । पहुँचवाला व्यक्तिहरुको क्वाटर नजिकै घर नजिकैको अवश्था त यस्तो छ भने टाढा–टाढाका बाटोको अवस्था कस्तो होला ? उहाँहरुको प्रत्यक्ष निगरानीमा नभएका सडकहरुको अवस्था कस्तो होला ?’

    क्याम्पसको मुख्य चोकको अति व्यस्त रहने सडक कालोपत्रे गरेको एक महिना पनि नबित्दै सडकमा खाल्डाखुल्डी पर्नुका साथै सडक हिलाम्मे भएको नगरबासी अभिषेक कटुवालले बताए ।

    ‘यो बाटो राम्रो हुनुपर्ने थियो, तर कालोपत्रे भएको केहि समयमै बाटोमा बिजोग देखियो । यस्तो हुन गलत  हो । ठेकेदार कम्पनीले तत्काल सच्याउन जरुरी देखिन्छ ,’ उनले भने ।

    विकासको नाममा बर्खा सुरु भएपछि असारमा जथाभावी रूपमा सडक कालोपत्रे गर्ने तर त्यसको राम्रोसँग अनुगमन नहुने गरेको कारणले यो व्यस्त सडक प्रत्येक वर्ष समस्या देखिने गरेको पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष नरेश कँडेलले बताए ।

    ‘सरासर यो कालोपत्रे हेर्दा सरासर पैसा पचाउने काम भएको देखिन्छ । सरोकारवाला निकाय मौन देखिँदा सरासर हेर्दा पैसा पचाउनको लागि मात्र  काम गरेको देखिन्छ,’स्थानीय सुदिप सागर कँडेल भन्छन्,‘हैन भने खै अनुगमन ? खै पानी सहज तरिकाले नबगेर सडकमै रहदा बनाएको ?’

    बागलुङ नगरपालिकाले बागलुङ बजार क्षेत्र भित्र भत्किएका बिग्रिएका सडक मर्मत संभार र सुधार गर्ने जिम्मेवारी ठेकेदार कम्पनीलाई दिएको बिग्रेको सडक पुनः निर्माण गरेपछि मात्रै भुक्तानी पाउने  बागलुङ नगरपालिकाका नगर प्रमुख जनक पौडेलले बताए ।

    ‘सामान्यतया इन्जिनियरले अनुगमन गर्नु भएको हो । लेबल नमिलेको देखेपछि ठेकेदार तथा ईन्जिनियरलाई मैले निर्देशन दिईसकेको छु  । सडकको सुधार नभएसम्म रकम भुक्तानी हुँदैन,’ पौडेलले भने ।

    निर्माणको जिम्मा लिने असारको अन्तिम समयमा हतार हतार काम गर्ने प्रवृत्तिले गर्दा विकास निर्माणका कामहरुको दुर्गती भएको देखिन्छ ।

    सम्बन्धित समाचार