११ मिनेट व्यायाम गर्नुस् वा ३५ मिनेट फटाफट हिँड्नुस्, शरीरलाई पर्याप्त हुन्छ

११ मिनेट व्यायाम गर्नुस् वा ३५ मिनेट फटाफट हिँड्नुस्, शरीरलाई पर्याप्त हुन्छ

  • मंसिर २४, २०७७ बुधवार
  • १०:०१:१६ बजे
  • 3.6K
    SHARES
  • ११ मिनेट व्यायाम गर्नुस् वा ३५ मिनेट फटाफट हिँड्नुस्, शरीरलाई पर्याप्त हुन्छ

    काठमाडाैँ : घन्टौं घन्टासम्म एकै ठाउँ बसेर बिताउनेहरूले शरीरमा नजानिँदो किसिमले धेरै स्वास्थ्यजन्य समस्या उत्पन्न गरिरहेका हुन्छन्।

    यस्तोमा दैनिक कम्तीमा ११ मिनेट व्यायाम गर्ने वा ३५ मिनेट फटाफट हिँड्ने हो भने त्यस्ता समस्याबाट मुक्ति पाइने अध्ययनले देखाएको छ।

    पछिल्लो समय गरिएको एउटा उपयोगी अध्ययनले सक्रिय र निष्क्रिय दुवैथरी जीवनशैली अपनाएकाहरूको आनीबानीकै हिसाबले जीवन कति लामो वा छोटो भन्ने तय पनि गर्छ भनेर पत्ता लागेको छ।

    अध्ययनमा दसौं हजार मानिसका विवरण संकलन गरी उनीहरूका दैनिकी विश्लेषण गरिएको थियो। त्यसमा असाध्यै कम हलचल गर्ने मानिसहरू युवावस्थामै मृत्युको शिकार हुने उच्च जोखिममा रहेको देखिएको थियो।

    तर, त्यस्ता मानिस पनि अब जुरुक्क उठेर हिँड्न थाल्ने हो भने त्यस्तो खतरा पुनः घटाउँदै लैजाने रहेछन्। त्यसनिम्ति फेरि असाध्यै नै बढ्ता हिँडडुल गर्नुपर्ने पनि होइन। यो पनि हेर्नुस्ः पुट्ट लागेको भुँडी घटाउन दैनिक १० मिनेटको कसरत

    हामीमध्ये धेरैको गतिविधि यतिबेला स्थिर बनेको छ। यसका पनि दुइटा मुख्य कारण छन्। एक त संसारभर हामी कोरोनासँग जोडिएका सावधानी अपनाउँदा धेरै हिँडडुल बन्द गरेर एकै ठाउँमा आफूलाई खुम्च्याउन बाध्य छौं। अर्को, अहिले संसारभर उत्तरी गोलार्द्धमा चलिरहेको जाडो महिनाले गर्दा मानिसको सक्रियता सुस्त भएको छ।

    मानिसका चालचलनबारे हालै गरिएका सर्भेहरूमा एक वर्षयता महामारी प्रकोपसँगै धेरैले एक वर्ष अगाडिको तुलनामा आफ्नो सक्रियता घटाएर एकै ठाउँ बसेको बस्यै गर्न थालेको देखिएको छ।

    यो शारीरिक गतिहिनताले शरीरमा दीर्घकालीन समस्या पैदा गर्नेछ भन्नेमा कुनै शंकै छैन। महामारीबारे अघिल्लोपटक अध्ययन गरेका थुप्रै विज्ञहरूले पनि यसरी बसेको बस्यै गर्ने प्रवृत्ति र मृत्युको आपसी सम्बन्ध केलाएका थिए। त्यो अध्ययनले सक्रियभन्दा सोफासेटमा बसेरै समय काट्ने मानिसहरू चाँडै मृत्युको मुखमा पुग्ने देखाएको थियो।

    तर, एउटा सक्रिय मानिस पनि खतराबाट मुक्त रहन कति हदसम्म सक्रिय हुनुपर्छ भन्ने चाहिँ अझै खुलिसकेको छैन।  मानौं तपाईं दिनको आठ घन्टा कुर्सीमा बसेर कार्यालयको काम गर्नु हुन्छ। तपाईं बेलुकीपख आधा घन्टाजति हिँडडुल गर्ने हो भने त्यसले दिनभरमा कुल ३० मिनेट हिँड्नैपर्ने आवश्यकता परिपूर्ति गरिदिन सक्छ।

    तर, के त्यति मात्रले बाँकी समय बसेरै बिताउनेको शरीरलाई आवश्यक व्यायाम पूरा हुन्छ?

    यसबारे पहिले नै गरिएका केही अध्ययनले ‘हुँदैन’ भनेको थियो। सन् २०१६ मा दस लाख मानिसमा एउटा यस्तै अध्ययन गरिएको थियो। त्यो अध्ययनमा महिला वा पुरुषले दिनमा करिब ६० देखि ७५ मिनेट मात्रै व्यायाम गर्दा बाँकी समय बसेको बस्यै हुँदाका समस्याहरू मेटिने देखाएको थियो।

    पहिले भएकै जस्तो स्वरूपको उक्त अध्ययनले मान्छेलाई उनीहरू कतिबेर बसे वा हिँडडुल गरे भनेर सोधेको थियो। अध्ययनमा यो मात्र सोध्नुले समस्या निम्त्याउन सक्छ।

    किनकी आफ्नो जीवनको सक्रियता बढाइचढाइँ सुनाउनु र बसाइलाई धेरै प्राथमिकता नदिनु अधिकांश मान्छेको स्वाभाव हुन्छ। अनि अध्ययनमा समावेश भएकाहरूले भरपर्दो जवाफ नदिने सम्भावना धेरै हुन्छ।

    अब अध्ययनमा समावेश धेरै मान्छेले यस्तै जवाफ दिए भने के होला?

    उनीहरूमा व्यायामको प्रभाव सही आकलन हुँदैन। मानौं कोही आठ घन्टा बसिरहन्छ तर उसले म पाँच घन्टा बस्छु र तीन घन्टा हिँड्छु भनिदियो। यस्तोमा उसलाई थोरै व्यायाम गर्न भनिन्छ। जबकि हामीले बुझेसम्म उसलाई स्वास्थ्यलाभ लिन धेरै व्यायाम आवश्यक पर्छ। 

    तर अध्ययनमा त उनीहरूका कुरामै भर गरियो। 'सक्रिय' भनेकाले बसेरै धेरै समय बिताउनेलाई पनि  थोरै व्यायाम गर्न भनियो। अचम्म भइदियो, त्यति नै मात्राको व्यायामले पनि उसलाई फाइदा पुर्‍यायो।

    यो अध्ययनपछि व्यायाम र शरीरको चालचलनबारे अलमल थियो। यो अवस्थामा गत साता ब्रिटिस जर्नल अफ स्पोर्ट्स मेडिसिनमा सार्वजनिक नयाँ अध्ययनले विश्व स्वास्थ्य संगठनको शारीरिक सक्रियताका लागि परिमार्जित निर्देशिका र सन् २०१६ को अध्ययनसँग तालमेल मिल्नेगरी नतिजा प्रकाशित गरेको छ।

    सन् २०१६ मा यस्तो अध्ययन गर्दा पुरानै तथ्यांकमा बढी भर परिएको थियो। यसपालि बढीभन्दा बढी मानिससँगै भेटेर उनीहरूको सक्रियता वा निष्क्रियताबारे सोधपुछ गरियो।

    पछिल्लो समय नौवटा विभिन्न अध्ययनमा समावेश मानिससँग वैज्ञानिकहरूले सोधपुछ गरेका थिए। तीमध्ये ५० हजार महिला र पुरुषले आफ्ना हिँडडुल मात्रा नाप्ने उपकरण प्रयोग गरेको पाइयो। हिजोआज यस्ता उपकरण मोबाइलमै पनि उपलब्ध छन्।

    यी अध्ययनमा युरोप वा अमेरिकाका अधवैंशे वा बढी उमेरका मानिस समावेश थिए। ती नौवटै अध्ययनका तथ्यांक राखेर हेर्दा बढीजसो मानिस बसेरै, झन्डै दस घन्टा बिताउने भेटिए। त्यस्तै धेरै मानिस विरलै हिँड्ने र एकाध मिनेट व्यायाम गर्नेहरू पाइए।

    यसरी तथ्यांक संकलन गरिएको झन्डै एक दसकपछि अध्येताहरूले मृत्यु दर्ताको सूची हेरे। मान्छेका सक्रियता अनुसारै उनीहरूलाई तीन भागमा वर्गीकरण गरियो।

    -एकदमै थोरै वा हिँड्दै नहिँड्ने

    - दैनिक ११ मिनेट व्यायाम गर्ने तर धेरै समय बसेरै बिताउने

    -थोरै बस्ने, धेरै सक्रिय हुने

    अन्तिममा नतिजा सोचेजस्तै आयो।

    जो असाध्यै थोरै मात्र हलचल गर्थे ती कम उमेरमै मृत्युको उच्च जोखिममा रहेछन्। बसेरै दिन काट्नेको उमेर नपुग्दै मृत्यु हुने सम्भावना थोरै बस्ने र धेरै सक्रिय हुनेको तुलनामा २६० प्रतिशत बढी देखियो। (यो अध्ययन क्रममा स्वयंसेवीहरूलाई उनीहरूको उमेरमा असर पार्ने अन्य कारक, धूमपान र अत्यन्त धेरै तौलजस्ता कुरा नियन्त्रण गर्न लगाइएको थियो।)

    यसमा दैनिक ११ मिनेट व्यायाम गर्ने तर धेरै समय बसेरै बिताउनेहरूको भने रोचक नतिजा पाइयो। एकदमै थोरै वा हिँड्दै नहिँड्नेका तुलनामा यी वर्गका मानिसको चाँडै मृत्यु हुने संख्या नगन्य नै थियो।

    यी सारा अंकगणितीय विवरणलाई निष्कर्षमा पुर्‍याउँदै अध्येताहरूले एउटा यस्तो अनुकूल विन्दु पहिल्याए जसले शारीरिक गतिविधि र दीर्घायुबीच बुझ्न व्यायामको सजिलो मात्रा पेश गर्थ्यो- दिनको लगभग ३५ मिनेट फटाफट हिँड्ने वा करिब ११ मिनेट व्यायाम गर्ने।

    बाँकी जतिसुकै समय मानिसले बसेर बिताए पनि यति व्यायाम गर्ने हो भने उसको आयु वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने देखियो।

    यति हुँदाहुँदै पनि यो सब अध्ययन केवल पर्यवेक्षकीय आधारमा मात्र सम्पन्न भएको हो। यसैमा भर परेर व्यायाम गर्ने मानिस अल्पायुमा मर्दै मर्दैनन् भन्नु अर्को गल्ती हुनेछ। यो अध्ययनले साबित गरेको चाहिँ मानिसको शारीरिक गतिविधि, बसाइ र मृत्युको कारण आपसमा अन्तरसम्बन्धित छ भन्ने मात्रै हो।

    ‘यो सबको उद्देश्य धेरै समय बसेरै बिताउनुभन्दा जुरुक्क उठेर एकछिन हिँडडुल पनि गरौं भन्ने नै हो,’ पछिल्लो अध्ययनका नेतृत्वकर्ता एवं ओस्लोस्थित नर्वेजियन स्कुल अफ स्पोर्ट साइन्सेजका प्राध्यापक उल्फ इयकिलुण्ड भन्छन्, ‘एकछिन फटाफट हिँड्नु मध्यमस्तरका हिसाबले सबभन्दा उत्कृष्ट व्यायाम हो।’

    दैनिक नछुटाइ ११ मिनेट व्यायाम वा आधा घन्टा फटाफट हिँड्ने समय शरीरलाई दिने हो भने अल्पायुमै निधन हुने सम्भावना कम हुने उनको भनाइ छ।

  • सम्बन्धित विषय:

  • # व्यायाम
  • # शरीर

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार