बागलुङ : निर्वाचन आयोगले ढोरपाटन नगरपालिका—४ खुङ्गाका वडाध्यक्ष र सदस्यलाई पदमुक्त गरेको छ ।
स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका वडाध्यक्ष तिलक पुन र वडा सदस्य तिलबहादुर फगामीालाई पदमुक्त गरेको हो । राष्ट्रिय जनमोर्चाको सिफारिसमा उनीहरुलाई आयोगले पदमुक्त गरेको हो ।
राष्ट्रिय जनमोर्चा भित्रको आन्तरिक विवादका कारण जनमोर्चाले आफ्नै जनप्रतिनिधि निर्वाचित व्यक्तिलाई पदमुक्त गर्न आयोगलाई पत्र लेखेको थियो ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले पनि विज्ञप्ती जारी गरेर जनमोर्चा परित्याग गरेका पुन र फगामीलाई आयोगले पदमुक्त गरेको जानकारी गराएका छन् ।
राष्ट्रिय जनमोर्चा बागलुङ र केन्द्रीय समितिले वडा अध्यक्ष र सदस्य दुवैले दल त्याग गरेको फिसारिस गरेपछि राजनैतिक दलसम्बन्धी ऐन,
२०७३ को दफा ३१ र ३२ तथा राजनैतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको व्यहोरो जनमोर्चा केन्द्रीय
समितिले निर्वाचन आयोगमा बुझाएकाले उनीहरुलाई पदमुक्त गरिएको आयोजनाले जनाएको छ । उनीहरुलाई पुस ७ गते नै निर्वाचन आयोगले हटाएको भए पनि अहिले आएर मात्रै जनमोर्चाले विज्ञप्ती जारी गरेर आयोग
गरेको निर्णयलाई सकरात्मक भनेको छ । वडा अध्यक्ष तिलक पुन र तिलबहादुर फगामीले पार्टीको निर्देशन नमानेको, मनोमानी तरिकाले काम गरेको, पार्टीलाई तिर्नुपर्ने लेभी नतिरेको,
जनतासँग नोकरशाही प्रकारको व्यवहार गरेको, पार्टिका साथीहरुसँग झगडा गरेको, र कुटपिट गर्ने क्रियाकलापहरू गर्दै आएको जनमोर्चाले जनाएको छ ।
गतवर्षको कार्तिक १२ गते जनमोर्चाका कार्यकर्ताबीचको झडपमा परी पुन र फगामी घाईते भएका थिए । कुटपिटका घटनामा पुन र फगामी दोषी देखिएको
तथा ढोरपाटनका स्थानीयलाई वितरणका लागि लगिएको खाद्यान्न खोलामा फाल्ने लगायतका घटनमा पनि तिलक पुन र तिलबहादुर फगामी दोषी देखिएकाले उनीहरुलाई कारबाही गरेको राष्ट्रिय जनमोर्चाले उल्लेख गरेको छ ।
गतवर्ष भएको झडपमा वडाध्यक्ष पुन सहित अन्य कार्यकर्ताहरु गम्भीर घाईते हुनेगरी कुटपिट भएको भए पनि वडाध्यक्ष पुन सहित उनी पक्षीय कार्यकर्तामाथि ज्यान मुद्दा लगाईएको छ ।
यही मुद्दामा पक्राउ परेका वडाध्यक्ष पुन अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छन् । त्यो घटनामा ७ जना विरुद्ध मुद्दा दायर भएको र उनीहरुको पनि खोजी भैरहेको प्रहरीले जनाएको छ ।