बागलुङ : स्वास्थ्य कार्यालय बागलुङले कुष्ठरोग सम्बन्धी पत्रकार अन्तरक्रिया गरेको छ ।
६८ र्औ विश्व कुष्ठरोग दिवसको अवसर पारेर स्वास्थ्य कार्यालय बागलुङले कोरोना महामारीमा हाम्रो संयमता, समयमै कुष्ठरोग व्यवस्थापनमा सक्रियता भन्ने नाराका साथ अन्तरक्रिया गरेको हो ।
बागलुङमा अहिले चार जना कुष्ठरोगका संक्रमितहरुले औषधी सेवन गरिरहेको कार्यक्रमा जानकारी गराईएको थियो ।
बागलुङको बागलुङ नगरपालिका, निसीखोला गाँउपालिका र काठेखोला गाउँपालिकामा ३ जना कुष्ठरोगका बिरामी भएकोमा यो वर्ष बडिगाडमा एक जना थपिएको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार जिल्लामा अझै पनि कुष्ठरोग लागेका व्यक्ति लाञ्छना र भेदभावको डरले नखुल्दा पहिचान हुन कठिनाइ परेको छ ।
नेपालमा विक्रम संवत् २०६६ माघ ५ गते राष्ट्रिय स्तरबाट कुष्ठरोगको निवारणको घोषणा भएपछि छिमेकी मुलुक भारतमा कुष्ठरोगबाट संक्रमित हुनेको संख्या धेरै भएकाले नेपालले पनि अभियान सञ्चालन गर्नुपरेको बताए । निरन्तरको औषधी सेवनले उपचार सम्भव भए पनि समाजमा हेला हुने डरले कुष्ठरोगीहरु खुल्न नसकेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।
हाम्रो समाजमा अझै पनि विरामीलाई सामाजिक भेदभावका डरले आफ्नै रोग लुकाएर बस्ने गरेका छन् गुरौले भने, ‘यसको बारेमा सामाजिक जनचेतना पुगे कुष्ठरोगीको संख्या अझै बढ्ने देखिन्छ । यो रोग उन्मुलनका लागि सरकारले ठूलो लगानी गरेकाले नागरिक स्तरबाट पनि सहयोग आवश्यक रहने बताए ।
कुष्ठरोगको औषधी र उपचार निःशुल्क हुन्छ । प्रत्येक स्वास्थ्य संस्थामा यसको औषधी पाईन्छ ।