विराटनगर : ओली पक्षीय नेकपाका सचिवालय सदस्य तथा गृहमन्त्री रामवहादुर थापा बादलले पूर्वमाओवादीका केही मन्त्री आफ्नो पक्षमा आउन लागेको भनी गोयवल्स शैलीको प्रचार गरेको आरोप लगाएका छन् ।
विराटनगरमा शनिवार आयोजित आमसभालाई सम्बोधन गर्दै बादलले ओली पक्षबाट होइन, अब प्रचण्डको पक्षबाट हजारौं नेता कार्यकर्ता आफूहरुको पक्षमा आउने दावी गरे ।
बादलले भने– काठमाडौंमा उनीहरुले केही भ्रम फैलाउने प्रत्यन गरे ।उनीहरु देशब्यापी रुपमा किन झूटको सहारा लिदैछन् ? यो उनीहरुको आतंकको अभिव्यक्ति हो, भयको अभिव्यक्ति हो ।
उनीहरु गोयवल्स शैलीको सहारा लिदैछन् । प्रचण्डले काठमाडौंमा माघ २८ गते आयोजना गरेको आमसभामा ओली सरकारका दुई मन्त्री आफूसँग वार्तामा रहेको बताएका थिए ।
त्यसयता प्रचण्ड निकटका मिडियामा बादल लगायतका मन्त्री प्रचण्ड–माधव पक्षमा खुल्न लागेको प्रचार गरिरहेको भन्दै बादलले खण्डन गरेका हुन् । आमसभालाई सम्बोधन गर्दै बादलले विप्लबको नाम नलिई उनीहरुलाई पनि शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउने बताए ।
उनले प्रधानमन्त्री र पार्टी अध्यक्ष हुन चाहने प्रचण्ड–माधवलाई पनि अवसर दिन चुनावको घोषणा गरिएको बताए । निर्वाचनमा सहभागी भएर बहुमत ल्याउने र प्रधानमन्त्री बन्ने मौका प्रचण्डलाई रहेको बादलले बताए ।
निर्मला प्रकरणका दोषी कानुनको पञ्जा नजिक आइसके : गृहमन्त्री बादल
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई छिट्टै पक्राउ पर्ने बताएका छन् ।
नेकपा ओली समूहले शनिबार बिराटनगरमा गरेको आमसभालाई सम्बोधन गर्दै गृहमन्त्री बादलले भागरथी भट्टको बलात्कारपछि हत्या गर्नेलाई संलग्नलाई कारबाही गरी छाड्ने प्रधानमन्त्री केपी शर्मा ओलीको उद्घोष कार्यान्वयन गरिएको बताए ।
उनले अघि भने, ‘निर्मला पन्तको बलात्कारी पनि कानूनको पञ्जा नजिक आइसकेको छ । छिट्टै कानूनी कठघरामा उभ्याउने छौं ।’