काठमाडौं : कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले नयाँ पार्टी खोल्ने भएका छन् । सरकारमा रहे पनि त्रिपाठीले आफूलाई स्वतन्त्र भन्ने गरेका छन् ।
स्रोतका अनुसार त्रिपाठीको समूहले अहिले सर्वोच्च अदालतको निर्णय कुरेर बसेको छ । सर्वोच्चले चुनावको पक्षमा निर्णय गर्यो भने तत्काल नयाँ पार्टीको घोषणा हुने जनाइएको छ । पुनःस्थापना गर्यो भने केही समय लम्बिन सक्ने छ ।
त्रिपाठीको समूहमा १ प्रतिनिधिसभा सदस्य, २ जना प्रदेशसभा सदस्य तथा ईश्वरदयाल मिश्र, पशुपतिदयाल मिश्र लगायत रहेका छन् । उनीहरुलाई समेटेर त्रिपाठीले पहिल्यै स्वतन्त्र राजनीतिक समूह गठन गरेका छन् ।
स्वतन्त्र राजनीतिक समूहको सम्पर्क कार्यालय समेत खोलिएको छ । यसको कार्यालय बानेश्वर थापागाउँमा रहेको छ । त्रिपाठीलाई प्रतिनिधिसभा सदस्य ब्रिजेश गुप्ता तथा प्रदेशसभा सदस्य धर्म श्रीवास्तव र अजय शाहीले साथ दिएका छन् ।
यो समूहका नेताहरूले २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा सूर्य चिह्न लिएर उम्मेदवारी दिएका थिए । ओली सरकारमा मन्त्री हुनुअघि त्रिपाठीले काठमाडौंमा स्वतन्त्र राजनीतिक समूहको भेला गरेका थिए । त्यसबेला उनले आफू पार्टी खोल्ने तयारीमा लागेको घोषणा गरेका थिए ।
नयाँ पार्टी खोल्ने वा नेपाल कम्युनिस्ट पार्टीसँग आफ्नो समूहलाई एकीकरण गर्ने घोषणा त्यसबेला उनले गरेका थिए । भेला गरेको केही दिनपछि नै उनी ओली सरकारमा संघीय मामिलामन्त्री भए । मन्त्रिमण्डल पुनर्गठनपछि उनी स्वास्थ्यमन्त्री बनेका छन् ।
त्रिपाठीको समूहमा रहेका सदस्यहरुले तत्काल नयाँ पार्टी खोल्ने तयारी भएको बताएका छन् । ब्रिजेश गुप्ताले नयाँ पार्टी खोल्न आन्तरिक तयारी भएको बताएका छन् । अर्का सदस्य अजय शाहीले त फागुनभित्रै नयाँ पार्टीको घोषणा हुने सम्भावना रहेको बताएका छन् ।
‘सबै तयारी हुँदैछ । सम्भवतः फागुनभित्रै नयाँ पार्टीको घोषणा हुन्छ,’ शाहीले भने । शाहीका अनुसार अर्को हप्ता स्वतन्त्र राजनीति समूहको बैठक बस्नेछ र बैठकले नयाँ पार्टी घोषणा गर्न तिथि तय गर्नेछ ।
स्रोतका अनुसार पूर्व तराई मधेश लोकतान्त्रिक पार्टी तमलोपा ब्युँझाउने विकल्पमा पनि छलफल भएको छ । तत्कालीन तमलोपाका उनी सहअध्यक्ष थिए । यसका लागि तत्कालीन अध्यक्ष महन्थ ठाकुरसँग पनि १–२ चरण कुराकानी भएको स्रोतको भनाइ छ ।
तर ठाकुरले यसमा सहमति जनाएका छैनन् । ठाकुर हाल जनता समाजवादी पार्टीको पहिलो अध्यक्ष भएका छन् । ‘पहिलो अध्यक्ष भएको व्यक्तिले भएको पार्टी छाडेर तमलोपा गठन गर्ने सम्भावना छैन,’ ठाकुरनिकट एक नेताले भने, ‘तर त्यस्तो कुरा आएको छ भन्ने मैले पनि सुनेको हुँ ।’ आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।