काठमाडौं : सर्वोच्च अदालतले प्रतिनिधिसभा संसद विघटनको निर्णयलाई बदर गरेसँगै बनेको नयाँ राजनीतिक कोर्समा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निर्णायक देखिने भएको छ । संसद् विघटनको निर्णय बदर भएर संसद् सञ्चालन भएसँगै सरकार गठनको प्रक्रिया समेत सुरू हुनेछ । सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको निर्णय गर्दा नै फागुन २४ गतेभित्र संसद् बैठक आह्वान गर्न आदेश दिएको छ ।
संसद् बैठक सुरू भएर प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रक्रिया अघि बढ्दा कांग्रेस अविश्वासको प्रस्तावमा वा विपक्षमा कता खुल्ने भन्ने चासो बढ्दो छ । हाल नेपाल कम्युनिस्ट पार्टी नेकपा केपी ओली पक्ष र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधकुमार नेपाल पक्ष गरी दुबै पक्ष नयाँ सत्ता समीकरणका लागि कांग्रेसको साथ खोजिरहेका छन् । अब कांग्रेस जता खुल्यो, उसकै सरकार बन्ने अवस्था देखिएको छ ।
नेकपाको प्रचण्ड–नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले बुधवार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सत्ता सहकार्यको प्रस्ताव गरेका छन् । अध्यक्षद्वय बुधवार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बुढानीलकण्ठ पुगेका थिए ।
देउवासँगको भेटमा नेकपाका अध्यक्षद्वयले देउवासमक्ष प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउने र प्रस्तावका पक्षमा र सत्ता सहकार्यमा साथ दिन आग्रह गरेका छन् । तर उनीहरुको भेटलगत्तै आयोजित एक सार्वजनिक कार्यक्रममा सभापति देउवाले कांग्रेस पर्ख र हेरको अवस्थामा रहेको संकेत गरेका छन् ।
कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधिले जनताले सरकार चलाउने म्यान्डेट नदिए पनि संसद्का अन्य दलहरुले आग्रह गरेमा कांग्रेसले विचार गर्नुपर्ने बताएका छन् । निधिपछि बोलेका देउवाले भने सरकारको नेतृत्वमा दावी नगरी घुमाउरो भाषामा जवाफ दिएका थिए । उनले नेकपाको विवादबारे छिनोफानो हुनुपर्ने र अविश्वास प्रस्ताव कसरी आउँछ त्यसपछि मात्रै कांग्रेसले निर्णय लिने बताएका छन् ।
प्रतिनिधि सभातर्फ कूल २७५ सांसद छन् । जसमा कांग्रेसतर्फ ६३ सांसद छन् । नेकपाका १७४ सांसद छन् । त्यसमध्ये १ जनाको निधन भएको छ । यो संख्यामा हाल नेकपाको प्रचण्ड—नेपाल पक्षतर्फ ८७ सांसद रहेको दावी गरिएको छ भने प्रधानमन्त्री समेत रहेका ओली समूहतर्फ ८३ जना रहेको जनाइएको छ । तर ३ जना सांसद भने खुलेका छैनन् । नखुलेका समेत प्रचण्ड–नेपाल पक्षमा नै जान सक्ने सम्भावना रहेको छ ।
यस्तो अवस्थामा संसद्बाट नयाँ सरकार गठनका लागि १३८ सांसद आवश्यक पर्ने देखिन्छ । यो संख्या नेकपाका कुनै एक समूहले कांग्रेसको साथ विना पुर्याउन सम्भव देखिएको छैन । यो अवस्थालाई समेत ख्याल गर्दै नेकपाका दुबै समूहले कांग्रेस नेतृत्वसँगको निकटता बढाउन खोजेका छन् ।
संसदमा नेकपा र कांग्रेस बाहेकको ३८ सिट छ । जसमा जनता समाजवादी पार्टीको ३४, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्रका १–१ गरी ४ सांसद छन् । यसरी हेर्दा अबको सरकार गठन प्रक्रियामा कांग्रेस नै निर्णयक देखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आगामी दिनमा मिलेर जाने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोनमार्फत कुरा गरिसकेको स्रोतले जनाएको छ । नेपाली कांग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महतले दुबै पक्षले कांग्रेससँग सहकार्य गर्ने सम्बन्धमा चासो राखेको भए पनि कांग्रेसले कम्युनिस्टलाई हालसम्म विभाजनको नजरले नहेरेको बताएका छन् ।
‘अहिलेसम्म कम्युनिस्ट पार्टी वैधानिक रुपमा एउटै छ, उनीहरु कसरी अघि बढ्छन्, अहिले नै स्थिति परिपक्व भइसकेको छैन । कांग्रेसले हतारमा निर्णय गर्दैन,’ सहमहामन्त्री महतले भने । कांग्रेसले संसद पुनःस्थापनापछिको राजनीतिक अवस्थाका विषयमा छलफल गर्न बिहीवारका लागि पदाधिकारी बैठक समेत बोलाएको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।