बागलुङ : नेपाल विद्यार्थी संघ बागलुङले सरकारका गतिविधि विरुद्ध बागलुङमा सिठ्ठी जुलुस निकालेको छ ।
नेपाली काँग्रेस सोमबार देशैभरी सरकारको भण्डाफोर गर्ने कार्यक्रम राखेको पूर्वसन्ध्यामा नेविसंघले बागलुङमा सिठ्ठी जुलुस प्रदर्शन गरेको हो ।
धौलागिरि क्याम्पस चोकबाट सुरु भएको जुलुस बागलुङ बजार परिक्रमा गरेर लोकतान्त्रिक चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी बागलुङका अध्यक्ष खडक थापामगरले सरकारले जनताको आकाँक्षालाई लत्याएर विभीन्न काण्डहरुमा लागेकाले त्यसको प्रतिरोधमा सडकमा आएको बताए ।
‘जनतालाई सुखी नेपाली समृद्ध नेपालको नारा दिएको वर्तमान सरकारले अहिले जनताको चाहाना भन्दा बाहिर गएर यति ओम्नीहरुलाई पोस्ने काम गरेको छ,’ उनले भने,‘भ्रष्टाचारीको अनुहार पनि हेर्दिन भनेका प्रधानमन्त्री भ्रष्टाचारीको पक्षमा सफाई दिँदै हिँड्ने गरेको छन् । हामीले यसका विरुद्ध सडकबाट खबरदारी गर्न यो कार्यक्रम गरेका हौं ।’
उनले नेपाली काँग्रेसले बहुमत सरकारले काम गरेर जनतालाई देखाउन पर्याप्त समय दिएको भन्दै अब काँग्रेस सडकमा आएको बताए ।
‘हामीले राम्रो काम गरेर जनताको पक्षमा काम गर्ने मौका दिएर हेरेर बस्यौं,’ उनले भने,‘सरकारले यो मौकालाई आफन्त पोस्ने र भ्रष्टाचारमा डुब्ने मौकाको रुपमा प्रयोग गरेको छ । हामी यसका विरुद्ध सडकमा उत्रिएका छौं ।’
उनले सोमबार नेपाली काँग्रेसले आयोजना गरेको वृहत विरोध प्रदर्शनमा सहभागी हुन समेत सबैलाई आग्रह गरे । वर्तमान सरकार र सरकारवादी दल नेकपामाको आन्तरिक समस्याका कारण अहिलेको व्यवस्था माथि नै प्रश्न उठ्न थालेको र प्रतिक्रियावादी तत्वहरु शिर उठाउन थालेको उनकोभ भनाई थियो ।
‘अहिले प्रतिक्रियावादीहरुले शिर उठाउन थालेका छन्, यो यही सरकारका कारण भएको हो,’ उनले भने,‘हामीले ठूलो संघर्ष र बलिदान गरेर ल्याएको परिर्वतनलाई जोगाउनका लागि पनि हामी सडकमा आउनुपर्ने अवस्था आएको छ ।’
कार्यक्रममा नेपाल विद्यार्थी संघ धौलागिरि क्याम्पस ईकाई सभापति दिनेश पन्तले पनि मन्तव्य राखेका थिए । नेपाली काँग्रेसले भोली देशैभरी जिल्ला सदरमुकाममा आयोजना गरेको विरोध प्रदर्शनको प्रचारात्मक कार्यक्रम स्वरुप जुलुस निकालिएको नेपाल विद्यार्थी संघ बागलुङका मनिष थापाले बताए ।
कार्यक्रम जिल्ला अध्यक्ष खडक थापाको अध्यक्षता, उपाध्यक्ष नरेन्द्र कँडेलको सञ्चालन र मनिष थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।