बागलुङ : नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले राणा, पञ्चायत राजासंग लडेको
नेपाली काँग्रेस अब फेरि सर्वसत्तावादी कम्युनिष्ट पार्टीसंग लड्ने बेला आएको बताएका छन् ।
नेपाली काँग्रेस बागलुङले सोमबार बागलुङमा आयोजना गरेको विरोध कार्यक्रममा बोल्दै नेता
केसीले निर्वाचनबाट आएको कम्यनिष्ट सरकारले अधिनायकवादी चरित्र देखाउँदै गएको बताए ।
निर्वाचनलाई भ-याङ बनाएर विश्वमा विभीन्न समयमा अधिनायकवाद आएको भन्दै उनले ओली सरकार त्यही बाटोको लागेको आरोप लगाए ।
‘विश्वमा विभीन्न चरणमा उदाएका अधिनायकवादीहरु निर्वाचनकै माध्यमबाट आएका थिएन, उनीहरुले त्यसैलाई प्रयोग गरेर अधिनायकवाद लागु गरे,’ केसीले भने,‘अब लोकतन्त्रको रक्षाका लागि काँग्रेसले फेरि एक पटक आन्दोलनको नेतृत्व गर्ने बेला भएको छ ।’
नेता केसीले नेपालमा पनि निर्वाचनबाट भस्मासुर पैदा भएको आरोप लगाए ।
‘लोकतान्त्रिक प्रक्रियामा अभ्यस्त एमाले र लोकतन्त्र स्वीकार गरेको माओवादी एक भएपछि लोकतन्त्रप्रति जवाफदेही होलान् भन्ने हामीले सोचेका थियौं,’ केसी भन्छन्,‘तर देशमा भस्मासुर पैदा हुन थाल्यो ।
अहिले हामी महाधिवेसनको तयारीमा छौं, महाधिवेसनपछि देशैभरी सरकारका गतिविधि विरुद्ध आन्दोलनमा होमिन्छौं ।’
काँग्रेसले लोकतन्त्र विरुद्ध कसैसंग सम्झौता नगरेको भन्दै अब पनि लोकतन्त्रको रक्षाका लागि लड्ने उनको भनाई थियो ।
‘अहिले सरकारका कारण लोकतन्त्र खतरामा परेको छ, सरकारकै कारण प्रतिक्रियावादीहरु सलबलाएका छन्,’ उनले भने । देश र जनताको पक्षमा काम गर्नुपर्ने सरकार भ्रष्टाचारमा लिप्त भएको उनको कथन छ ।
कार्यक्रममा नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेलले वर्तमान सरकार यति ओम्नीको पक्षमा लागेर महामारीको समयमा जनतालाई वेवास्ता गरेको बताए ।
नेपाली काँग्रेस बागलुङका पूर्व पार्टी सभापति गोविन्द कँडेलले काँग्रेसले जनतालाई अब सचेत र सजग गराउनुपर्ने बताए ।
नेपाली काँग्रेस बागलुङका सभापति दीपेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत
उपसभापति तुलासिंह घर्ती र सञ्चालन सचिव नवराज पौडेलले गरेका थिए ।