विपक्षी गठबन्धनबाट माधव नेपाललाई फर्काउने प्रयास असफल

विपक्षी गठबन्धनबाट माधव नेपाललाई फर्काउने प्रयास असफल

  • आषाढ २०, २०७८ आइतवार
  • १२:४०:४२ बजे
  • 1.8K
    SHARES
  • विपक्षी गठबन्धनबाट माधव नेपाललाई फर्काउने प्रयास असफल
    माधव नेपाल

    काठमाडौं :  नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विपक्षी गठबन्धनबाट फर्काउने प्रयास असफल भएको छ ।

    पार्टी एकताका लागि वार्ता गरिरहेका नेताहरूले आइतबार बिहान नेपाललाई उनकै निवास कोटेश्वरमा पुगेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिएर पार्टी एकतामा फर्किन आग्रह गरेका थिए ।

    नेपाल गठबन्धनबाट फर्किए उनले भने बमोजिम नै पार्टी अघि बढ्ने भन्दै आफूहरूले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न सुझाव दिएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङ नेम्वाङले बताए ।


    नेम्वाङले नेपाल प्रेससँग भने, हामीले उहाँलाई भेटेर आग्रह गरेका छौं । तपाईहरू दुई नेता मिल्नुस्, मिल्नुको विकल्प छैन भनेका छौं । अध्यक्षले भेटेर कुरा गर्न खोज्नु भएको छ, तपाईं कुरा गर्नुस् भन्यौं । तर उहाँले कुनै प्रतिक्रिया जनाउनुभएन ।

    नेता नेम्वाङले आफूहरुले दुई नेता मिलेको सन्देश दिन आग्रह गरेको बताए । नेपालले वार्तामा रहेका अन्य नेताहरुसँग समेत सल्लाह गरेर खबर गर्ने बताएको उनको भनाइ छ । नेम्वाङले भने, ‘उहाँले हाम्रो कुरा सकारात्मक छ भन्नुभयो । अरु साथीहरूसँग पनि सल्लाह गर्छु भन्नुभएको छ । एमाले मिलेको सन्देश दिन दुई नेता बसेर कुरा गर्नुस् भनेका छौं हामीले, त्यो भनेको विपक्षी गठबन्धनबाट फर्किनुस् भनेको हो । नेपाललाई भेट्न उपमहासचिव विष्णु पौडेल र नेताहरू सुवास नेम्वाङ तथा शंकर पोखरेल पुगेका थिए । नेपाल निवासमै वार्ताकार अर्का सदस्य घनश्याम भुसाल पनि थिए । भुसालले नै वार्ताको वातावरण बनाइरहेका छन् ।

    नेपालले सर्वोच्चमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने र एमालेका सांसदको समर्थन देउवालाई छैन भनेर अदालतमा लेखेर पठाउने उद्देश्यले ओलीले जालझेल गर्न खोजेको भन्दै आफू गठबन्धनबाट पछि नहट्ने बताएको स्रोतले जनाएको छ ।

    नेपाललाई भेट्न वार्ता टोलीमा रहेका दुवै पक्षका नेताहरू गएका थिए । यसअघि वार्ता टोलीबीच तीन बुँदे अनौपचारिक सहमति समेत भएको थियो । तर सर्वोच्चको फैसलाअघि ओलीसँग कुनै सम्झौता गर्ने पक्षमा नेपाल छैनन् ।

    उनले अदालतमा चलिरहेको मुद्दालाई बाहेक राखेर एमालेको एकताका लागि अघि बढ्न सकिने र त्यसका लागि आफू र ओलीले गठन गरेको वार्ता टोलीलाई नै पुनः सक्रिय बनाउनुपर्ने बताएका छन् ।

     

  • सम्बन्धित विषय:

  • # माधव नेपाल
  • # विपक्षी गठबन्धन

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार