विपक्षीदल निकट विद्यार्थी संगठनद्वारा बागलुङ संविधान प्रदर्शन

विपक्षीदल निकट विद्यार्थी संगठनद्वारा बागलुङ संविधान प्रदर्शन

  • आषाढ २१, २०७८ सोमवार
  • १५:५१:५८ बजे
  • 3.4K
    SHARES
  • विपक्षीदल निकट विद्यार्थी संगठनद्वारा बागलुङ संविधान प्रदर्शन

    बागलुङ : संसद विघटन विरुद्ध संघर्षरत विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनले सोमबार बागलुङमा संविधान प्रदर्शन गरेका छन् ।

     संसद विघनको विरोधमा संघर्ष गरिरहेका पाँच दल निकट विद्यार्थी संगठनले जिल्ला प्रशासन कार्यालय बागलुङमा संविधान प्रदर्शन गरेका हुन् । वर्तमान केपी ओली नेतृत्वका सरकार संविधान र कानुन मिचेर मनमौजी तवरले अगाडि बढेको भन्दै संविधान पढ्न ध्यानाकर्षण गराउँदै विद्यार्थी संगठनले संविधान प्रदर्शन गरेको जनाएका छन् । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, नेकपा एमाले माधव नेपाल पक्षीय अनेरास्ववियु, अखिल छैठौं र जनता समाजवादी पार्टी निकट विद्यार्थी संगठनले संविधान प्रदर्शन गरेको हुन् ।

    कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघ धौलागिरि बहुमुखी क्याम्पस बागलुङका सभापति दिनेश पन्तले प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा देशलाई गम्भीर दुर्घटनामा लैजाने काम भएको बताए । ‘अहिले प्रधानमन्त्री र राष्ट्रपतिले आफुलाई देश र संविधान भन्दा माथि राखेर मनपरी गरेका छन्,’ उनले भने,‘यसरी नै विधि, कानुन र संविधान लत्याउँदै देशलाई संकटमा पार्ने काम भएका कारण आज हामी संगठित भएर संघर्ष गर्नुपरेको छ ।

    कार्यक्रममा नेकपा एमाले माधव नेपाल पक्षीय अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य शिव शर्माले देश र जनतालाई छोडेर आफ्नो पद जसरी पनि जोगाउने प्रवृत्तिका विरुद्ध सशक्त संघर्षको आवश्यकता रहेको बताए ।

    ‘कोरोना महामारीबाट जनताका परेका छन्, जनताको दैनिक समस्या बेग्लै छ,’ उनले भने,‘तर म र मेरो सरकार भन्ने र जनतालाई केही नठान्ने, संविधान कानुन नमान्ने प्रवृत्तिको विरुद्धमा आन्दोलन भएको हो । यसलाई थप सशक्त बनाउनु जरुरी छ ।’ अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य जीवन शर्माले देशमा धेरै निरङ्कुशता र तानाशाह सडक आन्दोलनको भरमा बढारिएको भन्दै ओलीले गल्ती नसच्याए आन्दोलनले ठेगान लगाउने बताए । ‘नेपालमा मैं हुँ भन्ने निरङ्कुशता र बादशाहहरुलाई जनआन्दोलनले ठेगान लगाएको छ, अर्को सशक्त सडक आन्दोलन गर्ने अवस्था नआओस्,’ उनले भने ।

    कार्यक्रमको सञ्चालन स्वतन्त्र विद्यार्थी युनियन धौलागिरि बहुमुखी क्याम्पस बागलुङका सभापति मनिष थापाले गरेका थिए । 

    सम्बन्धित समाचार